हिउँदे वर्षाले रामेछापका किसान खुसी

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

लामो समयसम्म पानी नपरी खडेरीका कारण चिन्तित बनेका रामेछापका किसानहरू हिउँदे वर्षा भएसँगै खुसी भएका छन्। खेत तथा पाखो बारीमा लगाइएका विभिन्न बाली सुक्ने अवस्थाबाट जोगिएपछि किसानहरूमा राहतको अनुभूति भएको हो।

जिल्लाभरका किसानहरूले गहुँ, मकै, आलु, प्याज, लसुन, धनियाँलगायतका बालीहरू ठुलो मिहिनेतका साथ लगाएका थिए। तर, वर्षा नहुँदा बाली सुक्ने अवस्थामा पुगेपछि उनीहरू चिन्तित थिए। हालै परेको वर्षाले ती बालीहरूमा आवश्यक चिस्यान पुग्दा पुनः हरियाली फर्किएको छ।

मन्थली नगरपालिका–१ का किसान हरिराम भुजेलका अनुसार खडेरीका कारण बाली नष्ट हुने अवस्था आए पनि अहिलेको वर्षा किसानका लागि वरदान साबित भएको छ। 'हजारौँ रुपैयाँ खर्चेर खरिद गरिएको उन्नत बिउबाट लगाएको बाली सुक्न लागेको थियो, अहिले पानी परेपछि बाली सप्रिएको छ,' उनले भने।

रामेछाप नगरपालिका–१, गोठगाउँकी कृषक अप्सरा सापकोटाले वर्षाले माटोमा चिस्यान बढेपछि बालीको वृद्धि पुनः सक्रिय भएको र उत्पादनसँगै गुणस्तरमा समेत सुधार आउने अपेक्षा गरिएको बताइन्।

जिल्लाका आठवटै स्थानीय तहका धेरै स्थानमा सिँचाइ सुविधा नपुगेका कारण किसानहरू आकाशे पानीमै निर्भर छन्। त्यस्ता क्षेत्रका किसानका लागि हालको वर्षा झनै महत्त्वपूर्ण बनेको छ।

हिउँदे वर्षासँगै उच्च लेकाली क्षेत्रमा किसानहरू मकै छर्न व्यस्त भएका छन् भने तल्लो तटीय क्षेत्रमा किसानहरू बारी जोत्न र मल हाल्नमा जुटेका छन्। वैशाख महिनामा मकै छर्ने तयारी भइरहेका वेला पानी परेपछि किसानहरूमा थप उत्साह देखिएको छ।

सुझावित समाचार