बेँसीसहरदेखि चामेसम्म मर्स्याङ्दी किनारैकिनार

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

लमजुङको सुन्दर गाउँ भुजुङबाट सदरमुकाम बेँसीसहर आइपुग्दा बिहानको करिब साढे ११ बजिरहेको थियो । नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष सन्देश पौैडेल ‘होटेल नमस्ते’मा हामीलाई कुरेर बसेका थिए । बिहानको खानासँगै खाने भन्ने हाम्रो हिजैको सल्लाह थियो । भुजुङबाट तल झर्दा परमेश्वर (नेपाल पत्रकार महासंघ लमजुङका पूर्वअध्यक्ष)ले गाउँसहर देखाउँदै त्यहाँ रहेको शाहवंशीय राजाको दरबारबारे जानकारी गराए । यही दरबारबाट विसं १६१५/१६ तिर लिगलिगकोटमा दौडेर द्रव्य शाह गोरखाका राजा बनेका थिए । 

पत्रकार नवीन र यादव पनि होटेलमा आइपुगे । खाना खाँदै गर्दा स्थानीय अग्रज पत्रकार कृष्ण केसी, जनक श्रेष्ठ र कृषक संगीत नेपालीसँग पनि भेट भयो । जनक अहिले म कार्यरत संस्था राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छन् भने संगीत पुराना पत्रकार हुन् । संगीतसँगको मेरो संगत धेरै पुरानो हो । करिब २०५५ देखि तीन वर्षजति होला हामीले हिमालय टाइम्समा सँगै काम गरेका थियौँ । भेटमा हामीले पुराना कुरा सम्झियौँ । उहिले र अहिलेको पत्रकारिताको तुलना गर्यौँ । समाचारको परिभाषा र निर्माण प्रक्रियाबारे चर्चा गर्यौँ । हालै सम्पन्न चुनावबारे पनि थोरै मूल्यांकन गर्ने प्रयत्न गर्यौँ । 

‘गेटवे अफ मनाङ’बाट चामेको यात्रा
अब हामीले उकालो अर्थात् मनाङतर्फको यात्रा गर्नु थियो । त्यसतर्फ जाने हाम्रो गाडी त्यहीँ होटेलछेउमा आइपुगेको थियो । यहाँदेखिको यात्रामा मेरी पत्नी मुन्नी, छोरी कृतिका, नाति इभान पनि सहभागी थिए । ज्वाइँ नवराज पौडेल हाल मनाङका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहेकाले त्यहाँको यात्रा पक्कै पनि सहज र सरल हुने अपेक्षा अस्वाभाविक थिएन । 

हामी दिउँसो करिब दुई बजेतिर बेँसीसहरबाट दुईवटा गाडीमा प्रस्थान गरेका थियौँ । लमजुङको यो मेरो तेस्रो यात्रा भए पनि मनाङ जाने अवसर भने यसअघि जुर्न सकेको थिएन । लमजुङ खास गरी बेँसीसहरलाई ‘गेटवे अफ मनाङ’ पनि भनिन्छ, तर यो गेटवे मेरा लागि बल्ल खुल्दै थियो अर्थात् म पहिलोपटक मनाङ गइरहेको थिएँ । मनाङअघि मैले नेपालका ७४ जिल्ला टेकिसकेको थिएँ । म ७५औँ जिल्ला टेक्न जाँदै छु । रोमाञ्च, कौतुहल र उत्सुकता मनभरि छातीभरि अटेसमटेस भइरहेका थिए । म आफ्नो प्रसन्नताको व्याख्या गर्नै सक्दिनँ । घुम्नुभन्दा पनि मनाङ टेक्नु मेरा लागि महत्व पूर्ण थियो । मनाङ यात्रा गर्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटकको यात्रा–लक्ष्य तिलिचो ताल र थोराङलापास हुने गरे पनि मेरो लक्ष्य भने यसपटक बढीमा माथिल्लो मनाङसम्म मात्र थियो । 

बेँसीसहरबाट मनाङको चामेसम्मको ६५ किलोमिटरको यात्रा केवल गन्तव्यमा पुग्ने माध्यम मात्र होइन, प्रकृतिसँग साक्षात्कार गर्ने एक जीवन्त अनुभव पनि हो भन्दा अस्वाभाविक हुँदैन । मलाई लाग्छ, मस्र्याङदी नदी किनारैकिनारको हिमाल, नदी, झरना र हरियालीको संगमले भरिएको यो यात्रामार्गले हरेक यात्रुलाई मोहित बनाउँछ । म अपवाद हुने कुरै थिएन । 

बाटो क्रमश: पहाडी घुम्ती हुँदै उकालो लाग्न थाल्यो । मस्र्याङ्दी नदीको किनारैकिनारअगाडि बढ्दै गर्दा गाडीको झ्यालबाट देखिने दृश्य मनमोहक थिए । नदीको तीव्र बहाव, चट्टानसँग ठोक्किँदै उठ्ने सेतो फेना, अनि वरिपरि फैलिएको हरियाली– यी सबैले यात्रालाई रोमाञ्चक बनाइरहेको थियो । बेँसीसहर छोडेपछि हामी अब लमजुङको मस्र्याङदी गाउँपालिकामा यात्रा गरिरहेका थियौँ । बगैँचा कटेर खुदीबजार आइपुगेको थियो । मस्र्याङदी किनारमा अवस्थित यो सानो बजार आकर्षक देखिन्छ । एकैछिन अगाडि पुगेर छहरे खोला तर्दै हामी भुलभुले भन्ने सानो बजार आइपुगेका थियौँ, हाम्रो गाडी बिग्रियो । अर्को गाडी आउँदा लागेको समयको सदुपयोग गर्दै हामीले यहाँ चिया खाएका थियौँ । अर्को गाडीको प्रतीक्षामा हामीले त्यहाँ करिब ४५ मिनेट बिताएका थियौँ । पुरानो गाडीलाई त्यहीँ छोड्दै लाग्यौँ फेरि अगाडिको यात्रामा । 

हिमाली सडकमा मधेशका युवा
अगाडि बढ्दै गर्दा सडकमा काम भइरहेको देखेको थिएँ । त्यहाँ काम गर्ने केही युवाले आपसमा मैथिलीमा बोलेको सुनेँ । अचम्म लागेको थियो– विकट मानिने मनाङ जाने बाटोमा रोजगारीका सन्दर्भमा मैथिलीभाषी अर्थात् मधेशका युवा । उनीहरूसँग परिचय गर्दै एकछिन बात मारेँ । २० देखि २५ वर्ष उमेर समूहका रौतहट र सर्लाही घर भएका थुप्रै युवा यहाँ भएको जानकारी चन्द्रनिगाहपुरका प्रदीप सहनीले दिए । अर्का युवक चन्द्रनिगाहपुरकै धीरज यादवले आफूहरू यहाँ यति विकट ठाउँमा आउन नचाहेको, तर ठेकेदारले यहाँ ल्याइपुर्याएको भन्दै गुनासो गरेका थिए । त्यस्तै, अर्का युवा अजय यादवले बिहान सातै बजेदेखि साँझ अबेरसम्म काम गर्नुपर्दा पनि दिनको जम्मा आठ सय रुपैयाँ मात्र पाउने गरेको जनाउ दिए । मनमा असन्तोष उत्पन्न भएको थियो ।

मनमोहक बुङ र अक्टोपस झरना
हामी मस्र्याङदी गाउँपालिका–४ मा पर्ने बुङ पुग्यौँ । यहाँ एक प्रसिद्ध झरना छ । स्थानका आधारमा बुङ झरनाका नामले यो चर्चित छ । भिरालो चट्टानबाट तल झर्दै गरेको झरनाको दृश्य अत्यन्त आकर्षक थियो । पानीको फोहोराले वरिपरि चिसोपन फैलाइरहेको आभाष भएको थियो । ज्याकेट लगाएँ । झरनाको दृश्यपान गरेका थियौँ । लाग्यो, यात्राको थकान हरायो । त्यहाँ केही समय हामी रोकियौँ । चिया खाजा खायौँ । फोटो खिच्यौँ र झरनाको सौन्दर्यलाई मनभरि सँगाल्यौँ अनि पुन: लम्कियौँ गन्तव्यतर्फ । 

अगाडि बढेपछि अर्को चर्चित अक्टोपस झरना आयो । विभिन्न धारामा छुट्टिएर झर्ने पानी अक्टोपसका खुट्टाझैँ फैलिएजस्तो देखिन्छ । दृश्य साँच्चिकै अद्भुत थियो र यसले प्रकृतिको कलात्मकता झल्काउँथ्यो । तर, हाम्रो दुर्भाग्य हामीले यसलाई पूर्ण विकसित अवस्थामा अवलोकन गर्ने अवसर पाउन सकेनौँ । खासै पानी थिएन । पानी भएको वेलामा यो झरनाको दृश्य अद्भुत देखिन्छ । मैले बुङको तुलनामा अक्टोपस झरनाको चर्चा निकै सुनेको थिएँ, तर मौसमका कारण झरनाको पूर्णरूप हेर्न पाइएन । यात्रा अगाडि बढ्दै जाँदा हामीले मस्र्याङ्दी नदीलाई कहिले नजिकबाट, कहिले माथिबाट नियाल्ने मौका पायौँ । भनिन्छ, मसर््याङ्दी नेपालकै सबैभन्दा तीव्र धार (करेन्ट) भएको नदी हो । कतै यो नदी शान्त रूपमा बगिरहेको देखिन्थ्यो भने कतै तीव्र गतिमा बग्दै चट्टानसँग ठोक्किँदै गर्जिरहेको सुनिन्थ्यो । नदीको आवाजले एक किसिमको संगीतमय वातावरण निर्माण गरिरह्यो ।

तालगाउँ : आफ्नै बिजुली आफ्नै प्रयोग
अगाडि बढ्दै जाँदा बाटोमा म्यार्दी (मार्दी) खोला आउँछ । यही खोलाले लमजुङ र मनाङको सीमा छुट्याउँछ । पुलमाथिबाट हाम्रो गाडी अगाडि बढ्दै थियो । गाडीचालक तेह्रथुमका बासिन्दा डिकबहादुर लिम्बूले जानकारी दिएका थिए– अब हामी मनाङ प्रवेश गर्यौँ । मेरो उत्साह र अनुभूतिको वर्णन म यहाँ गर्न सक्दिनँ, मैले ७५औँ जिल्लामा टेकेको थिएँ । 

यात्राको क्रममा हामी तालगाउँ आइपुगेका थियौँ । अत्यन्त सुन्दर छ यो गाउँ । बेँसीसहरबाट उपल्लो मनाङको पदयात्राका लागि यस जिल्लामा पैदल या गाडीबाट आउने पर्यटकको एक रातको बसाइका लागि पहिलो रोजाइमा यो गाउँ पर्ने गरेको छ । मस्र्याङ्दी किनारको सम्म परेको ठाउँमा फैलिएको यो गाउँ २०७८ मा निकै चर्चामा आएको थियो । मस्र्याङ्दीमा आएको बाढीले पूरै गाउँलाई नै डुबाउँदै आफूभित्र समाहित गरेको थियो । यो गाउँ सम्हालिएर आजको अवस्थासम्म आइपुगेको छ । सलाम छ तालगाउँका वासिन्दालाई । यो गाउँको अर्को विशेषता पनि छ, त्यो के भने यहाँ राष्ट्रिय प्रसारणलाइनबाट विद्युत् आपूर्ति हुँदैन । यहाँका बासिन्दाले आफैँले स्थानीयस्तरमा विद्युत् उत्पादन गरेका छन् र त्यही उत्पादनबाट गाउँभरिको विद्युत्को आवश्यकता पूरा गर्ने गरेका छन् । समग्रमा तालगाउँ निकै आकर्षक छ । यहाँ पहाडबाट खसुँलाझैँ लाग्ने चट्टानले बनेको अनौठो भूआकृति देख्न सकिन्छ । साँघुरा बाटा, काठका पुलहरू र वरिपरि फैलिएको प्राकृतिक सौन्दर्यले यो ठाउँलाई विशेष बनाएको छ । अगाडि बढ्दा खोत्रे, माथिल्लो र तल्लो धारापानी, दानाक्यु, तिमाङजस्ता रमणीय स्थानको अनुभव सँगाल्ने अवसर पाएका थियौँ । 

हिमालबिचको चामेमा चिसोको स्वागत 
निर्माणाधीन लालुपाते जलविद्युत् आयोजना र चिनियाँ कम्पनीको जलविद्युत् आयोजना पनि देख्न पाइयो । यी आयोजनाले नेपालको ऊर्जा उत्पादनमा ठुलो योगदान पुर्याउने अपेक्षा गरिएको छ । ठुला टनेल, बाँध र विद्युत्गृह देख्दा मानव प्रयास र प्रविधिको शक्तिको त्यसैत्यसै तुलना गर्न मन लाग्ने । प्रकृतिको बिचमा यस्ता विकासका संरचना देख्नु एक फरक अनुभव थियो ।

जसजसै हामी चामे (२७०० मिटर)तर्फ नजिकिँदै गयौ“, पहाडहरू अझ अग्ला र भव्य देखिन थाले । हरियाली बिस्तारै कम हुँदै गयो र चट्टानी भूभागले स्थान लिनथाल्यो । साँझ पर्न लाग्दा आकाशमा सुनौलो घामको किरण पहाडमा परिरहेको दृश्य अत्यन्त मोहक थियो । साँझ करिब साढे ६ बजेतिर हामी चामे पुगेका थियौँ । यात्रा थकाउने भए पनि अत्यन्त सन्तोषजनक थियो । चामे मनाङ जिल्लाको सदरमुकाम हो, जहाँबाट हिमाली क्षेत्रको वास्तविक अनुभव सुरु हुन्छ । अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालले घेरेर बिचमा राखेजस्तो लाग्ने मस्र्याङ्दी किनारमा अवस्थित चामेको चिसो हावा, शान्त वातावरणले यात्राको थकानलाई तुरुन्तै भुलाइदिन सक्छ । 

मेरो निष्कर्ष छ– बेँसीसहरदेखि चामेसम्मको यो यात्रा दूरी तय गर्ने मात्र होइन, प्रकृति, संस्कृति र विकासको संगम अनुभूत गर्ने अद्भुत अवसर पनि हो । थकानलाई अस्वीकार गर्न सकिँदैन । हामी पनि अपवाद थिएनौँ । जतिसक्दो छिटो आराम गर्न मन त थियो, तर चामे पुग्दा अन्धकार थियो । उत्पादनका दृष्टिले जलविद्युत्को धनी मानिने यो जिल्लाको सदरमुकाममा हाम्रो स्वागत अँध्यारोले गरेको थियो । सँगै रहेका कसैले भनेको सुनियो–यस्तै छ आफू बलेर अन्यत्रलाई उज्यालो दिने मनाङ स्वयं भने यसरी नै अँध्यारोमा डुब्ने गर्छ । 

सुझावित समाचार