इरान युद्धका कारण रासायनिक मल आपूर्ति प्रभावित हुने जोखिम तत्काललाई टरेको छ । कृषि सामग्री कम्पनीले शुक्रबार मलको ठेक्का लगाएसँगै मल आपूर्ति सहज हुने देखिएको हो । सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले ३०–३० हजार मेट्रिकटन युरिया र डिएपी मल आपूर्तिका लागि दुई अन्तर्राष्ट्रिय कम्पनी छनोट गरेको छ । यी कम्पनीहरूले आगामी असार, साउन र भदौका लागि आवश्यक मल आपूर्ति गर्नेछन् ।
युरिया मल आपूर्तिका लागि दुबईस्थित सन इन्टरनेसनल एफजेडई सबैभन्दा कम दर प्रस्ताव गर्ने योग्य कम्पनीका रूपमा छनोट भएको छ । उक्त कम्पनीले प्रतिटन सात सय ४९ अमेरिकी डलर दरमा मल आपूर्ति गर्ने प्रस्ताव गरेको छ । जसअनुसार कुल दुई करोड २४ लाख ७० हजार अमेरिकी डलरमा मल आपूर्ति गर्नेछ । मल वीरगन्ज र विराटनगरसम्म ढुवानी गरेर उपलब्ध गराइने प्रस्तावित टेन्डरमा उल्लेख छ ।
त्यस्तै, डिएपी मल आपूर्तिका लागि सिंगापुरस्थित आदित्य बिर्ला ग्लोबल ट्रेडिङ (सिंगापुर) प्रालि छनोट भएको छ । यस कम्पनीले प्रतिटन नौ सय १४ दशमलव ७० अमेरिकी डलर दर प्रस्ताव गरेको थियो । जसअनुसार कुल ठेक्का रकम दुई करोड ७४ लाख ४१ हजार अमेरिकी डलर रहनेछ । डिएपी मल भैरहवा, वीरगन्ज र विराटनगरसम्म ढुवानी गरेर उपलब्ध गराइनेछ ।
कम्पनीले यसअघि २२ जनवरी २०२६ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । प्राप्त प्रस्तावमध्ये प्राविधिक र आर्थिक मूल्यांकनपछि सबैभन्दा कम मूल्य प्रस्ताव गर्ने कम्पनीहरू छनोट गरिएको कृषि सामग्री कम्पनीले जनाएको छ ।
चालू आर्थिक वर्ष ०८२/८३ मा सरकारको लक्ष्यअनुसार ६ लाख टन रासायनिक मल आपूर्तिको सुनिश्चित भइसकेको पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालू आवको १० फागुनसम्म तीन लाख ९० हजार ६६ टन रासायनिक मल किसानलाई वितरण भइसकेको छ । यो सबै मल आगामी चैते धान, मकै बाली र बर्खे धानको बिउ (ब्याड) राख्न पर्याप्त हुने कम्पनीको भनाइ छ । दुई लाख १० हजार टन मल कृषि सामग्री र ९५ हजार टन मल साल्ट ट्रेडिङमार्फत आपूर्ति हुने उल्लेख छ ।