विश्व बैंकको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ : सरकारी आम्दानी र खर्चसम्बन्धी तथ्यांक एकै प्लाटफर्ममा

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

नेपालको संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्यांक अब एकै प्लाटफर्ममा हेर्न सकिने भएको छ । यो ड्यासबोर्डमार्फत संघ, प्रदेश र स्थानीय तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचकहरू हेर्न, विश्लेषण गर्न र डाउनलोड गर्न सकिन्छ ।

तीन तहका सरकारको आफ्नै बजेट, राजस्व स्रोत र खर्च हुन्छ । सोही विषयमा केन्द्रित रहेर विश्व बैंक नेपालले शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)समक्ष गरेको एक कार्यक्रममा ड्यासबोर्ड एकीकृत प्रणालीको इन्टरएक्टिभ र प्रयोगकर्तामैत्री रहेको जनाएको छ ।

प्रयोगकर्ताले आफूलाई चाहिएको वर्ष, तथ्यांक प्रकार विभिन्न फिल्टर प्रयोग गरेर चार्ट परिवर्तन गर्न सकिन्छ । त्यस्तै, डेटालाई जिडिपीको हिस्सा, कुल बजेटको हिस्सा वा प्रतिव्यक्ति आधारमा पनि हेर्न सकिने विश्व बैंक नेपालले जनाएको छ ।

ड्यासबोर्डमा सन् २०१८ देखि २०२२ सम्मका डेटा समावेश गरिएका छन् । नयाँ डेटा उपलब्ध हुँदै जाँदा अद्यावधिक गरिने बैंकले जनाएको छ । स्रोतका रूपमा बजेट भाषण, महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गर्ने एकीकृत वित्तीय विवरण र नेपाल राष्ट्र बैंकलगायतका सार्वजनिक निकायका तथ्यांक प्रयोग गरिएको छ ।

कार्यक्रममा नाफिजकी अध्यक्ष मेनुका कार्कीले ड्यासबोर्ड उपयोगी भएको बताएकी छिन् । उनले भनिन्, ‘चार्टमै लेबलिङ भए हामीले सिधै प्रयोग गर्न सक्थ्यौँ, अहिले डेटा डाउनलोड गरेर फेरि चार्ट बनाउनुपर्छ । यो आर्थिक पत्रकारिताका लागि निकै उपयोगी छ, एकै ठाउँमा डेटा पाइने भएकाले विश्लेषण सजिलो हुन्छ ।’
 

सुझावित समाचार