दमकमा मेयर–उपमेयर टकराव उपमेयरले गरिन् नगरसभा बहिष्कार

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

झापाको दमक नगरपालिकाका मेयर रामकुमार थापा र उपमेयर रेगिना भट्टराईको टकराव सतहमा आएको छ । उपमेयर भट्टराई र दुई वडाध्यक्षसहित कांग्रेसबाट निर्वाचित पाँच नगरसभा सदस्यले शुक्रबार भएको दमक नगरपालिकाको १८औँ नगरसभा बहिष्कार गरेका हुन् ।

आफूलाई जानकारी नदिई बिहीबार नगरसभा तयारीस्वरूप कार्यपालिका बैठक बसेको उनको आरोप छ । ‘कहिले सार्वजनिक कार्यक्रममै अपहेलना गर्नुभयो । कहिले फेसबुकमार्फत गर्नुभयो । मैले अपहेलित भएको महसुस गरेर काम गरिरहेको छु,’ भट्टराईले भनिन्, ‘कार्यपालिकाको बैठकबारेसम्म जानकारी पनि दिइएन । मेरो अधिकारमाथि पनि हस्तक्षेप भएको छ । मेरो अधिकार क्षेत्रभित्रको कुनै कार्यक्रम गरौँ भन्दा कर्मचारीले मेयरलाई सोध्नु र समय मिलाएर गर्नु भन्ने गरेका छन् ।’

मेयर थापाले कुनै विषयमा आफूसँग समन्वय नगरेको भट्टराईको दाबी छ । ‘संस्थागत रूपमा म नगरपालिकाको दोस्रो मुख्य व्यक्ति । तर, नगरसभाको एजेन्डा के हुन्छ, मलाई थाहा छैन,’ उनले भनिन्, ‘नगरसभाका एजेन्डाका विषयलाई बैठक बोलाइएको पनि थाहा छैन । मैले त्यहाँ गएर के पढ्ने ? के भन्ने ?’ 

मेयरको आसननजिकै राखिएको उपमेयरको कुर्सी खाली राखेर नगरसभा सम्पन्न गरिएको हो । उपमेयर संयोजक भएको समितिको प्रतिवेदन तथा विधेयक समितिका सदस्यले प्रस्तुत गरिएका थिए । नगरसभा सञ्चालन भइरहेको समयमा केहीबेर नगरसभा स्थगित गरेर कार्यपालिका बैठक बस्दै प्रतिवेदन र विधेयक प्रस्तुत गर्ने सदस्यको टुंगो लगाइएको थियो । 

मेयर रामकुमार थापाले भने नगरसभाबारे उपमेयर भट्टराईलाई जानकारी गराइएको बताए । ‘१२ फागुनमा भएको कार्यपालिका बैठक नगरसभा गर्ने निर्णय गरेको हो । त्यसमा उहाँ पनि सहभागी हुनुहुन्थ्यो,’ उनले भने, ‘सबैलाई जस्तै उहाँलाई पनि एजेन्डासहित म्यासेज पठाएकै हो । धेरै समितिका संयोजक उहाँ हुनुहुन्छ । उहाँले नै प्रतिवेदन तयार पार्नुभयो । प्रस्तुत गर्ने वेलामा आउनुहुन्न । त्यसको जिम्मा त हामी लिन सक्दैनौँ नि !’ मेयर राप्रपाबाट र उपमेयर कांग्रेसबाट निर्वाचित हुन् ।
 

See More On

सुझावित समाचार