आज राति मध्य र पूर्वी नेपालकेन्द्रित हावाहुरी र वर्षा हुने

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

जल तथा मौसम विज्ञान विभागले आज शुक्रबार राति मध्य र पूर्वी नेपालकेन्द्रित वर्षा र हावाहुरीको आकलन गरेको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार लुम्बिनीका पूर्वी क्षेत्र, बागमती, मधेश र कोशीमा राति हावाहुरी तथा वर्षा हुने सम्भावना छ । पछिल्लो एक घण्टामा बागमती, मधेशका केही क्षेत्र र कोशीमा पानी परिरहेको छ ।

पश्चिम नेपालका केही ठाउँमा पनि हल्का वर्षा भएको छ । ‘दिउँसोबाट एक्टिभ भएको प्रणाली पूर्वतिर सिफ्ट भइरहेको छ । अपराह्नपछि लुम्बिनी र बागमतीमा ठुलो हावाहुरी चल्यो । राति मधेशलगायत क्षेत्रमा हावाहुरीको सम्भावना छ,’ उनले भने, ‘भोलि शनिबार कोशी क्षेत्रमा हावाहुरी चल्ने देखिन्छ ।’ पौडेलका अनुसार आज शुक्रबारजस्तो भोलि शनिबार ठुलो क्षेत्रमा वर्षा हुने सम्भावना छैन । तर, कोशी, मधेश, बागमती, गण्डकीलगायतका क्षेत्रमा वर्षा हुनेछ ।

यसबाहेक अन्य क्षेत्रमा पनि बादल लाग्ने र हल्का पानी पर्ने देखिन्छ। यो प्रणाली शनिबार रातिबाट कमजोर बन्दै जाने आकलन गरिएको छ ।

सुझावित समाचार