पोखराको ठुलो व्यापारिक मल पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिमा नयाँ सञ्चालक समितिसँगै प्रबन्ध निर्देशक चयन भएका छन् । प्रालिको बिहीबार सम्पन्न चौथो साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । नयाँ सञ्चालक समितिको अध्यक्षमा दीपककुमार मुल्मी चयन हुदा प्रबन्ध निर्देशकमा सौगात थापा चयन भएका छन् । सञ्चालक समितिको सदस्यहरूमा सन्तोषकुमार घिमिरे, शिव शर्मा, रामकुमार श्रेष्ठ, नगेन्द्रप्रसाद पोखरेल र हरिशचन्द्र तिवारी चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले मलले पोखराको व्यावसायिक क्षेत्रलाई गतिशील बनाउँदै ग्राहकमैत्री सेवा एवं वातावरण निर्माणलाई प्राथमिकता दिँदै अझ व्यवस्थित, आधुनिक र प्रतिस्पर्धी बनाउने गरी काम गर्ने बताए । मल यस क्षेत्रको प्रमुख व्यावसायिक केन्द्रको रूपमा रहेको बताउँदै पोखराका विभिन्न स्थानमा पेसा–व्यवसाय गर्ने व्यक्तिहरूको सामूहिक लगानीमा निर्मित मलमा सुन, लत्ताकपडा, जुत्ता, कस्मेटिक, खाद्यान्न, इलेक्ट्रोनिकलगायतका वस्तु खरिद गर्न सकिने बताए ।
साथै मनोरञ्जनका लागि मल्टिप्लेक्स चलचित्र घर, रेस्टुरेन्ट, हेयर सैलुन, पार्लर, शैक्षिक परामर्शदाता कम्पनी, स्किन केयर अस्पताललगायतका सेवाहरूसँगै आवश्यक वस्तु तथा सेवाहरू एकै छानामुनि उपलब्ध गराएर ग्राहकको मन जित्न सफल भएको उनको दाबी छ । ०६९ सालमा दर्ता भएको प्रालिले ०७२ मा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । प्रालिका प्रबन्ध निर्देशक सौगात थापाका अनुसार एक लाख ७१ हजार वर्गफिट क्षेत्रफल रहेको मलको ७८ हजार वर्गफिट सटरका लागि छुट्याइएकाे छ । मलमा दुई सयभन्दा बढी व्यावसायिक प्रतिष्ठानका पाँच सय सटर रहेका छन् ।
ग्राहकका लागि पर्याप्त र सुरक्षित पार्किङको व्यवस्था रहेको मलमा ग्राहकको सुविधाका लागि बस्ने लबी, शौचालय, आवश्यकताअनुसार एस्कलेटर, लिफ्ट र र्याम्पको व्यवस्था गरिएको थापाले जानकारी दिए ।