नागरिक लगानी कोषको रकम बैंकको मुद्दती खातामा जम्मा गर्नुको सट्टा दीर्घकालीन आयोजनामा केन्द्रित गर्नुपर्ने अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बताएका छन् । सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने उनको भनाइ छ । बुधबार आयोजित एक कोषको ३६औँ वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री खनालले बुढीगण्डकी जलविद्युत् आयोजना अघि बढाउने सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा लगानी कोषजस्तै अन्य संस्थाले पनि लगानी गर्नुपर्ने बताए ।
कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले कोष स्थापनाकालदेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, फरक–फरक किसिमका योजना सञ्चालनमा ल्याउनु, प्रत्येक वर्ष सहभागी संख्या वृद्धि गर्न सफल हुनु कोषको सफलताको आधार भएको बताए ।
यसैगरी, कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले कोषले सातवटा योजना सञ्चालन गरिरहेको बताउँदै कोषमा उपलब्ध फन्डलाई पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न र भेन्चर क्यापिटलमार्फत लगानी विस्तार गर्न आवश्यक कार्य गरिरहेको बताए ।
ब्याजदरमा आएको गिरावटले कोषको आम्दानी प्रभावित भएको धारणा राख्दै कार्कीले उपदान कोष भुक्तानीमा करसम्बन्धी अन्योल रहेकाले त्यसमा समानता ल्याउनुपर्ने बताए । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कोषले लगानीका नयाँ उपकरण र नयाँ परियोजनामा लगानी गर्नुपर्ने बताए ।