- लिगको ड्राफ्टअघि नै लिइज रेड लायन्सले नेपाली राष्ट्रिय टोलीका सन्दीप लामिछानेलाई प्रमुख स्पिनरका रूपमा भित्र्यायो
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिगमा लिइज रेड लायन्सबाट खेल्ने भएका छन् । ड्राफ्टअघि नै रेड लायन्सले प्रि–साइन गरेको जनाएको छ । यसअघि टोलीले क्रिस लिन, कोरी एन्डर्सन र सोएब मल्लिकलाई भिœयाइसकेको छ । इयू टी–२० लिगमा सन्दीप पहिलो नेपाली खेलाडीका रूपमा अनुबन्ध भएका हुन् । सम्झौता रकम भने खुलाइएको छैन ।
रेड लाइन्सले सन्दीपलाई ‘मिस्ट्री स्पिनर’का रूपमा स्वागत गरेको छ । ‘नयाँ सिजनमा सन्दीपको गुग्लीले खेललाई नयाँ मोड दिने विश्वास छ,’ रेड लाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उनको आगमनले टोली थप बलियो हुने आशा छ ।’ रेड लायन्सले सन्दीपलाई मुख्य बलरका रूपमा लिएको छ । ‘यस सिजन नयाँ जाल बुन्दै छौँ । सन्दीपजस्ता मास्टर खेलाडी बलिङ आक्रमणमा आउँदा निकै उत्साहित छौँ,’ रेड लायन्सले भन्यो । सन्दीप गत साता बेलायतमा आयोजना हुने द हन्डे«ड बल अक्सनमा बिकेका थिएनन् । लिगमा जेबी ब्रुजेजले दक्षिण अफ्रिकाका ब्याटसम्यान सी भान डर डुसेनलाई अनुबन्ध गरेको छ ।
जेबी ब्रुजेज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी)को लगानीकर्ता ड्रिम स्पोर्टस्को स्वामित्वमा रहेको छ । नेपाली खेलाडीलाई प्राथमिकता दिने उद्देश्यले बेल्जियमको लिगमा लगानी गरेको ड्रिम स्पोर्टस्ले पहिलो सिजनमा १० लाख डलरसम्म खर्च हुने अनुमान गरेको छ ।
जेबीका अनुसार यो टोलीमा नेपाली खेलाडीलाई आबद्ध गरिएको छ । नेपाली खेलाडीको घोषणा केही दिनमै गरिनेछ । अब थप एक विदेशी खेलाडीपछि नेपाली खेलाडीको घोषणा हुनेछ । राष्ट्रिय टोलीमा रहेका र हालै टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली खेलाडी हुनेछन् । इयू टी–२० लिग बेल्जियमको पहिलो फ्रेन्चाइज क्रिकेट लिग हो । बेल्जियम क्रिकेट फेडरेसनले डेस्टिनो लिजेन्ड्स स्पोर्टस् एलएलसीसँग साझेदारी गर्दै आयोजना गर्न लागेको लिग आगामी ६ देखि १४ जुनसम्म हुनेछ ।
स्थानीय र एसोसिएट खेलाडीलाई प्राथमिकता
बेल्जियममा हुन लागेको पहिलो इयू टी–२० लिगमा आयोजकले स्थानीय तथा एसोसिएट राष्ट्रका खेलाडीलाई पहिलो प्राथमिकतामा राखेको छ । आयोजकले एसोसिएट तथा स्थानीयबाट समान चार खेलाडी अनुबन्ध गर्नेछ । सुरुवाती ११ खेलाडीमा कम्तीमा दुईजना बेल्जियमको हुनुपर्नेछ । प्रत्येक टिममा १८ खेलाडी हुनेछन् । चार खेलाडी पूर्ण सदस्य टोलीका सक्रिय खेलाडी र ६ जना भेट्रान खेलाडी हुनुपर्नेछ । एक वर्षअघि घोषणा गरिएको लिगमा बेल्जियमका प्रमुख सहरहरू प्रतिनिधित्व गर्ने ६ फ्रेन्चाइज टोलीले राउन्ड रोबिनमा लिग चरण खेल्छन् । त्यसपछि शीर्ष चार टिमले प्लेअफमा प्रतिस्पर्धा गर्छन् । सहभागी टोलीमा जेबी ब्रुजेजसहित आन्थ्रोप एंकर्स, बसेल्स, हेन्ट, लुभेन र लिइज रेड लायन्स छन् । आन्थ्रोपको स्वामित्व भारतका पूर्वराष्ट्रिय खेलाडी जाहिर खानले लिएका छन् ।
इंग्ल्यान्डका पूर्वकप्तान इयोन मोर्गान ग्लोबल ब्रान्ड एम्बेसडर बनेका छन् । अन्तर्राष्ट्रियस्तरका इंग्ल्यान्डका जेम्स भिन्स र एलेक्स हेल्ससहित श्रीलंकाका एन्जेलो म्याथ्युज र वानिन्दु हसरंगाजस्ता खेलाडीले लिग खेल्नेछन् । लिगको ड्राफ्टबाट पनि खेलाडी छनोट गरिनेछ । ड्राफ्ट २४ मार्चमा हुनेछ । बसेल्समा हुने ड्राफ्टबाट सबै टिमले खेलाडी कोटा पूरा गर्नेछन् । ड्राफ्टअघि टिमहरूले केही खेलाडी भिœयाएका हुन् । ड्राफ्टमा नेपालका १५ भन्दा बढी खेलाडीले आफ्नो नाम समावेश गर्न पाउनेछन् ।