राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले पार्टीलाई जति ठुलो बनाइदिएका छन् त्यति नै ठुलो जिम्मेवारी रहेको बताएका छन्। सांसदहरूलाई अभिमुखीकरण कार्यक्रमको समापनमा सम्बोधन गर्दै उनले हरेक दिन जनताको मत सम्झेर काम गर्न सांसदहरूलाई निर्देशन दिए।
आफ्नो निर्वाचन क्षेत्रमा हरेक दिन खटिन उनले निर्देशन दिए। ‘तपाईंका क्षेत्रका कुनै पनि जनताले दुःख पाउनुभएन,’ उनले भने।
जिम्मेवार भएर काम नगर्नेको हकमा पार्टीको विधानअनुसार राइट टु रिकललाई कडाइका साथ लागू गरिनेसमेत उनले बताए।
सम्बोधनका क्रममा उनले विज्ञताका आधारमा पार्टीले मन्त्री छान्ने बताएका छन्। विज्ञताको मूल्यांकन गरेर पार्टीले मन्त्री चयन गर्ने भएकाले मन्त्री बनाइदिन भनेर दौडधुप नगर्न उनले निर्देशन दिए। मन्त्रीका लागि मिडियाबाजी पनि आवश्यक नभएको उनको भनाइ छ।
आफ्नो क्षेत्रमा बजेट लैजान ध्यान दिनेभन्दा समग्र देशको विकासमा ध्यान दिन उनले सांसदहरूलाई आग्रह गरेका छन्।