डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउसले साधारण सेयर (आइपिओ) जारी गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेस गर्ने तयारी गरिरहेको जनाएको छ ।
कम्पनीको मंगलबार सम्पन्न विशेष साधारणसभाले जारी पुँजीको ३० प्रतिशतबराबरले हुन आउने १६ लाख २० हजार कित्ता आइपिओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
०७६ देखि सञ्चालनमा रहेको उक्त रिसोर्ट भक्तपुरको डोलेश्वर क्षेत्रमा करिब १० रोपनी क्षेत्रफलमा फैलिएको छ । चारतारे होटेलमा स्तरोन्नति हुने प्रक्रियामा रहेको रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । कम्पनीले आइपिओ निष्कासनका लागि बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ ।