एभरेस्ट बैंक लिमिटेडले तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । निष्कासनसम्बन्धी कार्यका लागि बैंकले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडल बिक्री प्रबन्धक नियुक्त गरेको छ । नियुक्तिसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुदेश खालिङ र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट सिइओ विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा उल्लेख गरिएअनुसार, बैंकले ‘एभरेस्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ नामक प्रतिकित्ताएक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् एक अर्ब २० करोडबराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् एक अर्ब ८० करोडबराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । ६ वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ६.२५ प्रतिशतका दरले ब्याज भुक्तानी हुनेछ । ब्याज अर्धवार्षिक रूपले भुक्तानी हुने बताइएको छ ।