मध्यपूर्वमा जारी द्वन्द्वका कारण विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा परेको र त्यसको असर नेपालमा समेत देखिन थालेको भन्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले गम्भीर चिन्ता व्यक्त गरेको छ ।संघले नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्रमा बाह्य परिस्थितिको प्रभावले इन्धन आपूर्ति, मूल्य स्थिरता तथा समग्र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्न थालेको जनाएको छ । पछिल्ला केही दिनयता बुटवलसहित देशका विभिन्न स्थानमा इन्धन आपूर्तिमा समस्या देखिन थालेकोप्रति संघले चिन्ता व्यक्त गरेको छ ।
संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै इन्धन आपूर्तिमा आएको असहजताले यातायात, उद्योग, व्यापार तथा दैनिक जनजीवनमा नकारात्मक प्रभाव पार्ने सम्भावना बढेको जनाएको छ । यस्तो अवस्थामा आपूर्ति प्रणालीलाई प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन आवश्यक रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
संघका कार्यवाहक अध्यक्ष टंकप्रसाद गैरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई सम्बन्धित निकायमार्फत इन्धन आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउँदै समन्वय, अनुगमन र नियन्त्रणका उपाय अवलम्बन गर्न आग्रह गरिएको छ । साथै, इन्धन व्यवसायीलाई कृत्रिम अभाव सिर्जना नगर्न र निर्धारण गरिएको मापदण्ड, मूल्य तथा गुणस्तर कायम गर्न अपिल गरिएको छ । उपभोक्तालाई पनि अनावश्यक सञ्चिति नगर्न, आवश्यक मात्रामा मात्रै इन्धन प्रयोग गर्न र सम्भव भएसम्म वैकल्पिक ऊर्जातर्फ उन्मुख हुन आग्रह गरिएको छ ।
संघले यस विषम परिस्थितिमा सम्बन्धित पक्षहरूसँग सहकार्य गर्दै इन्धन आपूर्ति तथा वितरण प्रणालीलाई सहज बनाउन आवश्यक सहयोग, सहजीकरण र अनुगमनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।