नेपाल पुलिस क्लब जय ट्रफी पुरुष इलाइट कप फाइनल प्रतियोगितामा १८० रनले पछाडि रहेको छ । मूलपानी मैदानमा पहिलो ब्याटिङ गरेको त्रिभुवन आर्मी क्लबले ५८ ओभरमा सबै विकेट गुमाएर २२१ रन बनाएको थियो । प्रत्युत्तरमा पहिलो इनिङ्स थालेको पुलिसले दिनको खेल समाप्तिसम्म चार विकेट गुमाएर ४१ रन जोडेको छ । पुलिसका लागि कुशल भुर्तेलले १२ बलमा चार चौकाको सहयोगमा १८ रन बनाएका छन् । ओपनर दिनेश खरेल ११ रनमा खेलिरहेका छन् । ओपनर अमित श्रेष्ठले १ तथा दिलसाद अलीले १ रन बनाए । फाइनल खेल तीनदिवसीयअनुसार चलिरहेको छ । यसअघि लिग चरणको खेल दुई दिनको थियो ।
चार टोलीले प्रतिस्पर्धा गरेको जय ट्रफीमा सिंगल राउन्ड रोबिनको खेलपछि आर्मी र पुलिस शीर्ष दुईमा रहँदै उपाधि भिडन्तमा पुगेका हुन् । लिग चणमा आर्मीले पुलिसलाई नौ विकेटले पराजित गरेको थियो । फाइनलमा पुलिस त्यसको बदला लिने लक्ष्यमा छ । जय ट्रफी फाइनलको मिति दोस्रोपटक परिवर्तन भएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले यसअघि १७ देखि १९ फागुनसम्म फाइनल खेल हुने भनिएको थियो । तर, २१ फागुनको निर्वाचन र २६ फागुनदेखि हुने तय भएको विश्वकप लिग २ सिरिजका लागि जय ट्रफी फाइनल खेल एक महिना पछि सारिएको हो । क्यानले जय ट्रफीको फाइनल २१ देखि २३ चैतसम्म खेलाइने जनाएको थियो । तर, मध्यपूर्व युद्धका कारण विश्वकप लिग २ सिरिज नै स्थगित भएको छ । लिग २ मा नेपालसँगै ओमान र युएईले त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्ने तय थियो । लिग २ स्थगित भएपछि क्यानले जय ट्रफी फाइनल अघि सारेको हो ।
आर्मीविरुद्ध बलर हाबी
पहिलो ब्याटिङ गरेको आर्मीले पुलिसका सिमर तथा स्पिनर बलरविरुद्ध खेल्न सकेनन् । फास्टबलर करण केसी, स्पिनर ललित राजवशीसँगै रसिद खानले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि आर्मीले ब्याटिङमा संघर्ष गर्नुपरेको थियो । करणले १३.२ ओभरमा ४९ रन खर्चेर तीन विकेट हात पारे । ललितले १८ ओभरमा ४५ रन दिएर तीन विकेट लिए । रसिदले केवल चार ओभरमा एक मेडन राखी १७ रन खर्चंदै सर्वाधिक चार विकेट लिँदा आर्मीको बलियो ब्याटिङ कमजोर बन्यो । आर्मीका चार ब्याट्सम्यान शून्यमा आउट भए ।
पुछारका नरेश कार्की, सहाव आलम र पवन कार्की डकआउट भए । आकाश चन्द शून्यमा नटआउट रहे । इनिङ्सको एक समय आर्मी १९९–६ को स्थितिमा थियो । लगातार चार विकेट गुमाउँदा आर्मी २२१ रनमा समेटियो । आर्मीको ब्याटिङ धराशयी बनाउन रसिदको भूमिका प्रमुख रह्यो । उनले इनिङ्सको ५३.१ ओभरमा सोमपाल कामी, ५३.२ ओभरमा नरेन र ५३.४ ओभरमा पवनको विकेट लिए । ह्याट्रिकनजिक रहे पनि रसिदले पूरा गर्न सकेनन् ।
शीर्ष र मध्यक्रम मात्र चल्यो
आर्मीको ब्याटिङमा शीर्ष र मध्यक्रमका ब्याट्सम्यानमा चलेका थिए । ओपनर तृतराज दास र इमरान शेखले पहिलो विकेटका लागि ९.६ ओभरमा ३५ रनको साझेदारी गरेका थिए । तृतराजले ३४ बलमा ६ चौकाको सहयोगमा ३२ रन बनाए । इमरान र भीम सार्कीले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरी टोलीलाई २८.३ ओभरमा १०५–२ को अवस्थामा राखे । भीमले ४९ बलमा पाँच चौका र एक छक्का प्रहार गरी ३९ रन बनाए । कप्तान विनोद भण्डारी ९ रनमा आउट भए । आर्मीका लागि ओपनर इमरानले अर्धशतकीय इनिङ्स खेलेका थिए ।
उनले १३७ बल सामना गरी सात चौकाको मद्दतमा ५० रन बनाएर आफ्नो विकेट करणलाई दिए । उनी आउट हुँदा आर्मी ४३.६ ओभरमा १५३÷४ को स्थितिमा थियो । त्यसपछि बसिर अहमद र कुशल मल्लले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरे । बसिरले ३५ बलमा चार चौका र एक छक्का प्रहार गरी ३० रन बनाए । कुशलले ४८ बल सामना गरी पाँच चौका र दुई छक्काको सहयोगमा ३८ रनको योगदान दिए । सोमपालले २१ बलमा १७ रन बनाए ।