खर्च बढेपछि २९ प्रतिशतले घट्यो प्राधिकरणको नाफा

चालू आवको ६ महिनामा ८५ अर्ब ३१ करोड आम्दानी हुँदा ७७ अर्ब २४ करोड ७१ लाख खर्च

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

विदेशी मुद्राको मूल्यमा आएको वृृद्धि, उच्च कर्मचारी खर्च, ह्रासकट्टीलगायतका कारण चालू आर्थिक वर्ष ०८२/८३ को पहिलो ६ महिनामा नेपाल विद्युत् प्राधिकरणको नाफामा गिरावट आएको छ । प्राधिकरणको अपरिष्कृत तथ्यांकअनुसार अघिल्लो वर्षको ६ महिनाको तुलनामा चालू आवको सोही अवधिको नाफा २९ प्रतिशतले घटेको छ । गत आवको ६ महिनामा प्राधिकरणले ११ अर्ब ३५ करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो । तर, चालू आवको ६ महिनामा भने प्राधिकरणले आठ अर्ब ६ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आवमा प्राधिकरणको नाफा नौ अर्ब ६ करोड ७० लाख रुपैयाँमा सीमित भएको थियो । चालू आवमा आम्दानी बढ्दा पनि प्राधिकरणको नाफा भने घटेको हो । गत आवको ६ महिनामा ७० अर्ब ४४ करोड ३८ लाख रुपैयाँ आम्दानी हुँदा खर्च भने ५९ अर्ब आठ करोड ४६ लाख रुपैयाँ खर्च भएको थियो । चालू आवको ६ महिनामा ८५ अर्ब ३१ करोड ११ लाख रुपैयाँ आम्दानी भएको छ । तर, खर्च भने ७७ अर्ब २४ करोड ७१ लाख रुपैयाँ भएको छ ।

मुख्यतः कर्मचारी खर्च, ब्याज भुक्तानी, ह्रासकट्टी र विदेशी मुद्राको मूल्यमा आएको वृद्धिले नाफा प्रभावित भएको प्राधिकरणका लेखा विभागका निर्देशक गणेशप्रसाद लुइँटेलले जानकारी दिए । यसबिचमा प्राधिकरणको कर्मचारी खर्च बढेको छ । यसैगरी, ४०० केभीको इनरुवा–ढल्केवर प्रसारणलाइनलगायतका ४० अर्बबराबरको परियोजना सञ्चालनमा आएका छन् । त्यसमा इनरुवा–ढल्केवर प्रसारणलाइनको सम्पत्ति मात्रै २० अर्ब रुपैयाँ हाराहारीमा छ । यसरी प्राधिकरणको सम्पत्ति बढ्दा ह्रासकट्टी बढेको छ । त्यसमाथि परियोजना थप हुँदा प्राधिकरणले ऋणमा तिर्नुपर्ने ब्याज खर्च पनि बढेको छ । 

‘परियोजना निर्माणाधीन अवस्थामा ब्याज खर्च परियोजना खर्चमै जोडिन्छ । निर्माण अवधिमा ब्याज नतिर्ने प्रकृतिका ऋण पनि हुन्छन् । तर, परियोजना सञ्चालनमा आएपछि त्यसको ब्याज तिर्नुपर्छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘अहिले ४० अर्ब सम्पत्तिबराबरको परियोजना सञ्चालनमा आएको छ । नियमित प्रक्रियाअनुसार त्यसको ह्रासकट्टी गर्नुपरेको छ । त्यसैगरी, परियोजना सञ्चालनमा आएपछि ब्याज खर्च पनि बढेको छ ।’

यसैगरी, डलरको मूल्यमा आएको वृद्धिले पनि प्राधिकरणले विदेशी मुद्रामा गर्नुपर्ने खर्च बढाएको छ । डलरमा आएको मूल्यवृद्धिले विदेशी ऋण भुक्तानीलगायत विदेशी मुद्रामा हुने खर्च बढेको छ । त्यसले पनि प्राधिकरणको नाफा प्रभावित भएको छ । ‘आम्दानी बढेकै छ । तर, कर्मचारी खर्च, ह्रासकट्टी, ब्याज खर्च भने बढेको छ । त्यसले नाफा प्रभावित बनाएको छ,’ प्राधिकरणका एक अधिकारीले बताए । 

६ महिनामा भारतमा २० अर्बको बिजुली निर्यात
चालू आवको ६ महिनामा भारतमा २० अर्ब ६ करोड ९३ लाख रुपैयाँको विद्युत् निर्यात भएको छ । गत आवको पहिलो ६ महिनामा १३ अर्ब नौ करोड ३९ लाख रुपैयाँबराबरको विद्युत् भारतमा निर्यात गरिएको थियो । प्राधिकरणले पुसको पहिलो सातासम्म भारतमा विद्युत् निर्यात गरेको थियो । सुक्खायामका कारण खोलामा पानी घटेर विद्युत् उत्पादन घटेपछि निर्यात रोकिएको छ । त्यसपछि भारतबाटै विद्युत् आयात गर्न सुरु गरिएको छ । पुस मसान्तसम्म मात्रै भारतबाट ९७ करोड ५३ लाखको बिजुली खरिद गरिएको छ । गत आवको पुस मसान्तसम्ममा एक अर्ब ६४ करोड ७० लाखको विद्युत् आयात गरिएको थियो । योअनुसार समीक्षा अवधिमा विद्युत् आयात घटेको देखिन्छ । प्राधिकरणले सम्भवतः जेठसम्म विद्युत् आयात गर्नेछ । वर्षा लागेपछि असारपछि भने नेपालमा विद्युत् उत्पादन बढ्छ । 

४५ अर्बको बिजुली खरिद 
समीक्षा अवधिमा प्राधिकरणले आफ्नो सहायक तथा सम्बद्ध कम्पनीबाट दुई अर्ब आठ करोड ६८ लाख युनिट र निजी उत्पादकबाट ६ अर्ब नौ करोड ६४ लाख गरी आठ अर्ब १८ करोड ५२ लाख युनिट बिजुली खरिद गरेको छ । त्यसबापत ४५ अर्ब २४ करोड ९९ लाख रुपैयाँ भुक्तानी गरिएको छ ।

आन्तरिक बजारमा ५८ अर्ब ५८ करोडको बिजुली बिक्री 
प्राधिकरणले समीक्षा अवधिमा आन्तरिक बजारमा ५८ अर्ब ५८ करोड ४९ लाख रुपैयाँको विद्युत् बिक्री गरेको छ । त्यसमा ५५ अर्ब ९० करोड सात रुपैयाँ संकलन भएको छ । बाँकी महसुल भने असुल गर्न बाँकी रहेको छ ।

सुझावित समाचार