लुकाएर राखेको श्रीराम ग्यासको ६ हजार सिलिन्डर आजबाट बजारमा

उद्योगीले वाणिज्य विभाग पुगेर बुझाए तीन लाख जरिवाना, गोदाममा रहेका ग्यास सिलिन्डर डिलर र आयल निगमको अस्थायी डिपोबाट बिक्री गर्ने निर्णय

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

श्रीराम ग्यास उद्योगले ललितपुरको हरिसिद्धिस्थित गोदाममा लुकाएर राखेको ६ हजार तीन सय ७७ थान ग्यास भरिएको सिलिन्डर बुधबारबाट बजारमा आउने भएको छ । सोमबार दिउँसो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारी बरामत गरेको सिलिन्डर उद्योगपरिसरमै सिल गरेर राखिएको थियो । विभागले ‘जम्माखोरी’ गरेको कसुरमा तीन लाख रुपैयाँ जरिवाना तिराउने निर्णयसमेत गरेको थियो । उद्योगका प्रतिनिधिले मंगलबार दिउँसो विभाग पुगेर जरिवानाबापतको तीन लाख रुपैयाँ भुक्तानी गरेका छन् । 

जरिवाना बुझाएपछि विभागले आयल निगमलाई ग्यास भरिएको सिलिन्डर पारदर्शी रूपमा बिक्री–वितरण गर्न निर्देशन दिएको छ । विभागको निर्देशनपछि बुधबारबाट श्रीरामको गोदाममा रहेका ग्यास सिलिन्डर बजारमा पठाउने व्यवस्था मिलाएको आयल निगमको एलपिजी तथा एभिएसन विभाग प्रमुख विनितमणि उपाध्यायले जानकारी दिए । ‘वाणिज्य विभाग पुगेर उद्योगीका प्रतिनिधिले जरिवानाबापतको तीन लाख रुपैयाँ तिरेका छन् । बुधबारबाट गोदाममा भण्डारण गरी राखेको सिलिन्डर बजारमा पठाउने व्यस्था मिलाएका छौँ,’ उनले भने ।

श्रीरामको गोदाममा पूरा तौल (१४.२ किलोग्राम) भएको ग्यास सिलिन्डिर भेटिएको थियो । जबकि आयल निगमले गत शुक्रबारदेखि आधा परिमाण (७.१ किलोग्राम) तौल भएको ग्यास सिलिन्डर मात्रै बजारमा पठाएर आपूर्ति सहज गराउन उद्योगीलाई निर्देशन दिएको थियो । बजारमा आपूर्ति असहज भएका वेला श्रीराम उद्योगले ठुलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखेको पाएपछि विभागले जरिवाना तिराउने निर्णय गरेको थियो ।

श्रीराम ग्यास उद्योगलाई सिलिन्डरसहितको मूल्य लिएर बिक्री गर्न भने बन्देज लगाइएको छ । अहिले आधा परिमाणको ग्यास मात्रै बिक्री भइरहेका वेला पूरा ग्यासको लोभमा उपभोक्तालाई महँगोमा सिलिण्डरसहित बिक्री गर्न सक्ने जोखिम रहेकाले साटफेर गर्न मात्र पाउने व्यवस्था मिलाइएको हो । त्यस्तै, अन्य ब्रान्डका सिलिन्डरसँग साटेर श्रीराम ग्यास दिन पनि बन्देज लगाइएको छ ।

डिलर र आयल निगमबाट हुनेछ बिक्री
पूरा तौल भएको ६ हजार थान ग्यास सिलिन्डर उपत्यकामा रहेको डिलरमार्फत र बाँकी तीन सय ७७ थान सिलिन्डर आयल निगमको टेकुस्थित पुरानो कार्यालयबाट बिक्री–वितरण गर्ने निर्णय भएको छ । योसहित निगमको टेकुस्थित अस्थायी डिपोबाट एचपी, राजधानी, सुगम, एभरेष्ट, त्रिवेणी र नेपाल ब्रान्डका ग्यास सिलिन्डर बिक्री भइरहेका छन् । नजिकैको डिलरकहाँ ग्यास नपाएका उपभोक्ताले टेकुस्थित आयल निगमको कार्यालयपरिसर पुगेर ग्यास खरिद गर्न सक्ने निर्देशक उपाध्यायले जानकारी दिए ।

सुझावित समाचार