खाडी मुलुक तनावग्रस्त बनेपछि श्रमिकको रोजाइमा मलेसिया

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

अमेरिका–इजरायल र इरान युद्धले मध्यपूर्वका खाडी मुलुकहरू तनावग्रस्त बनेपछि फागुनमा वैदेशिक रोजगारका लागि मलेसिया जाने युवाको संख्या बढेको छ । अघिल्ला महिनाहरूमा चौथो वा पाँचौँ श्रम गन्तव्य मुलुक रहेको मलेसिया जान फागुनमा सबैभन्दा धेरै १२ हजार ६ सय एक जनालाई श्रम स्वीकृति प्रदान गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

फागुनमा कुल ५२ हजार नौ सय ४४ युवाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जान श्रम स्वीकृति लिएको विभागले जनाएको छ । मध्यपूर्वमा तनाव भएपछि विभागले १७ फागुनदेखि प्रभावित १२ मुलुक साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति रोकेको छ । तर, त्यसअघि नै युनाइटेड अरब इमिरेट्सका लागि ११ हजार चार सय ९२ लाई श्रम स्वीकृति प्रदान गरिएको थियो ।

फागुनको तथ्यांकमा पनि युद्धरत देशहरूमा धेरै युवाहरू वैदेशिक रोजगारीका लागि पुगेका छन् । तथ्यांकअनुसार कतारमा ६ हजार सात सय ५७, साउदीमा ६ हजार दुई सय २५, रोमानियामा तीन हजार दुई सय ६८, कुवेतमा तीन हजार ४६, जापानमा एक हजार ६ सय एक, साइप्रसमा नौ सय ३२, बहराइनमा सात सय ७० र ओमानमा सात सय ५१ युवाले वैदेशिक रोजगारीमा जान श्रम विभागबाट श्रम स्वीकृति लिएका छन् ।

फागुनमा कुल एक सय चार मुलुकका लागि श्रम स्वीकृति प्रदान गरिएको छ । विभागका अनुसार ४६ हजार चार सय ५२ पुरुष र ६ हजार चार सय ९२ महिलाले श्रम स्वीकृति लिएर विभिन्न मुलुक गएका छन् । यसमध्ये कोरिया र इजरायलमा पाँच सय ७४ युवा पुगेका छन् । विभागकी महानिर्देशक मिरा आचार्यले युद्धग्रस्त १२ देशमा श्रम स्वीकृति स्थगनको निर्णयलाई निरन्तरता दिइरहेको बताइन् । ‘मध्यपूर्वका १२ देशमा श्रम स्वीकृति रोक्ने निर्णय कार्यान्वयन भइरहेको छ,’ उनले भनिन्, ‘अन्य देशहरूमा भने श्रम स्वीकृति प्रदान भइरहेको छ ।’ 

रोजगारी खोज्दै फागुनसम्म पाँच लाख युवा बिदेसिए
वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष ०८२/८३ को साउनदेखि फागुनसम्म पाँच लाख २५ हजार पाँच सय २१ युवा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर बाहिरिएका छन् । विभागका अनुसार साउनमा ६८ हजार एक सय १०, भदौमा ६७ हजार नौ सय ७२, असोजमा ६४ हजार ६ सय ३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार सात सय पाँच, पुसमा ६२ हजार पाँच सय ५९, माघमा ७० हजार पाँच सय तीन र फागुनमा ५२ हजार नौ सय ४४ युवा श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्यांक छ ।

सुझावित समाचार