एसइई केन्द्र घट्दा दुर्गमका विद्यार्थी मारमा, ताप्लेजुङमा ६ केन्द्र कटौती

मंगलबार, ३ चैत, २०८२
डिजिटल संस्करण

यस वर्ष ताप्लेजुङमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि परीक्षा केन्द्र संख्या घटाइएपछि दुर्गम क्षेत्रका विद्यार्थीलाई समस्या हुने भएको छ । अघिल्लो वर्षको तुलनामा ६ वटा परीक्षा केन्द्र कटौती गरिएका छन् । आगामी १९ चैतदेखि सुरु हुने एसइई परीक्षाका लागि जिल्लामा यस वर्ष ११ वटा मात्रै परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले जनाएको छ ।

केन्द्र संख्या घटाइएपछि विशेषगरी दुर्गम भूगोल भएका मैवाखोला र मिक्वाखोला गाउँपालिकाका विद्यार्थी मारमा परेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार नयाँ निर्देशिकाअनुसार कम्तीमा एक सय ५९ भन्दा कम परीक्षार्थी भएका स्थानमा परीक्षा केन्द्र राख्न नपाइने व्यवस्था आएकाले केन्द्र संख्या घटाउनुपरेको हो । सोही मापदण्ड लागू गर्दा मैवाखोला र मिक्वाखोला गाउँपालिकामा कुनै पनि परीक्षा केन्द्र कायम हुन नसकेको उनले बताए ।

दुर्गम भूगोल भएका यी पालिकाका विद्यार्थीले अब छिमेकी पालिकाका परीक्षा केन्द्रमा पुगेर परीक्षा दिनुपर्ने भएकाले यात्रा दूरी र खर्च दुवै बढ्ने देखिएको छ । कतिपय विद्यार्थीलाई परीक्षा अवधिभर केन्द्रनजिकै डेरा बसेर परीक्षा दिनुपर्ने अवस्था आउन सक्ने स्थानीय शिक्षक बताउँछन् । दैनिक आउजाउ सम्भव नभएका स्थानबाट आउने विद्यार्थीका लागि बसोवास, खानपान र यातायात खर्च अभिभावकका लागि थप आर्थिक भार बन्ने सम्भावना छ । यस वर्ष फुङलिङ नगरपालिकामा चारवटा परीक्षा केन्द्र कायम गरिएका छन् । भानुजन माध्यमिक विद्यालय, युवा वर्ष माध्यमिक विद्यालय कैंजले, बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालय मेदिवुङ र सिद्धकाली माध्यमिक विद्यालय दोखु परीक्षा केन्द्र तोकिएका छन् । सिरिजंगा गाउँपालिकामा सिनाम माध्यमिक विद्यालय सिनाम र तेल्लोक माध्यमिक विद्यालय तेल्लोक गरी दुईवटा केन्द्र छन् ।

अन्य पालिकामा भने एक–एकवटा परीक्षा केन्द्र कायम भएका छन् । फक्ताङलुङ गाउँपालिकामा सिँवा माध्यमिक विद्यालय लिङखिम, मेरिङदेन गाउँपालिकामा त्रिभुवन माध्यमिक विद्यालय थुकिमा, पाथीभरा याङ्वरक गाउँपालिकामा थेचम्बु माध्यमिक विद्यालय थेचम्बु, सिदिङ्वा गाउँपालिकामा भन्ज्याङ माध्यमिक विद्यालय लिम्बुदिन तथा आठराई त्रिवेणी गाउँपालिकामा सरस्वती माध्यमिक विद्यालय हाङपाङलाई परीक्षा केन्द्र तोकिएको छ । यस वर्ष साबिकमा रहेका केही परीक्षा केन्द्र भने हटाइएका छन् । फुङलिङको जनता माध्यमिक विद्यालय हाङदेवा, मैवाखोलाको मैवाखोला माध्यमिक विद्यालय ढुंगेसाँघु, मिक्वाखोलाको मोती माध्यमिक विद्यालय खोक्लिङ, आठराई त्रिवेणीको दुर्गा माध्यमिक विद्यालय फूलबारी, फक्ताङलुङको सरस्वती माध्यमिक विद्यालय तापेथोक र सिरिजंगाको गणेश माध्यमिक विद्यालय खेवाङ परीक्षा केन्द्र कटौतीमा परेका हुन् । 

परीक्षा केन्द्रअनुसार परीक्षार्थीको संख्या पनि फरक–फरक छ । जिल्लामा सबैभन्दा बढी परीक्षार्थी रहेको केन्द्र आठराई त्रिवेणी गाउँपालिकाको सरस्वती माध्यमिक विद्यालय हाङपाङ बनेको छ, जहाँ २३६ जना विद्यार्थीले परीक्षा दिनेछन् । यस वर्ष ताप्लेजुङमा कुल दुई हजार नौजना परीक्षार्थी एसइई परीक्षामा सहभागी हुने भएका छन् । साधारण धारतर्फ नियमिततर्फ एक हजार ३४९ तथा ग्रेडवृद्धितर्फ ५४७ विद्यार्थी छन् । प्राविधिक धारतर्फ नियमिततर्फ एक सय तीन र ग्रेडवृद्धिका १९ जना परीक्षार्थी रहेको शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङले जनाएको छ । 
 

सुझावित समाचार