जंगलको नजिकै रहेको एउटा सानो गाउँमा भोलु नामको गधा थियो । त्यो गाउँ बाँकी संसारबाट बिल्कुलै अलग थियो । त्यहाँ बाहिरबाट न कोही आउँथे, न कोही त्यहाँबाट बाहिर जान्थे । एकपटक भोलुले सोच्यो– यो जंगलको पारि गएर हेर्नुपर्यो, उता के रहेछ ? दोस्रो दिन ऊ बिहानै जंगलतिर अघि बढ्यो ।
जंगल निकै घना थियो र गधा निकै मूर्ख । ऊ कुनै सोचविचारविनै जता मन लाग्यो, त्यतै हिँड्न थाल्यो । जसोतसो गरेर उसले जंगल पार गर्यो र अर्कोपट्टि रहेको गाउँ पुग्यो । उता गाउँमा हल्ला मच्चियो– भोलु गधा गाउँ छाडेर हिँड्यो । सबैले उसको चर्चा गर्न थाले । भोलुको चर्चा सुनेर गाउँका कुकुरको एउटा झुन्डले पनि गाउँ छाड्ने निश्चय ग¥यो । उनीहरू गधाको गन्ध पछ्याउँदै सोही बाटो हुँदै जंगल पार गरेर अर्को गाउँ पुगे ।
त्यसपछि गाउँका अन्य पशुबिच पनि जंगल पार गर्ने होड नै चल्यो र सबैले गधाले खोजेको बाटोबाटै जंगल पार गरे । बारम्बार एउटै बाटोबाट हिँड्दाहिँड्दा त्यहाँ एउटा राम्रै गोरेटो तयार भयो । वर्षौंपछि मानिस पनि सोही बाटो हुँदै जंगल पार गर्न थाले । बिस्तारै गाउँको जनसंख्या पनि बढ्यो । अनि, सरकारले जंगलको बिचबाट सडक निर्माण गर्ने निर्णय गर्यो ।
सहरबाट आएका इन्जिनियरको टोलीले जंगलको अध्ययन गर्यो । त्यस क्रममा गाउँलेले गधाले बनाएको गोरेटोबारे बताउँदै त्यसैमाथि सडक बनाउँदा ठिक हुने सल्लाह दिए । इन्जिनियर टोलीका प्रमुखले गाउँलेको सल्लाह सुनेर प्रश्न गरे– यो गोरेटो कसले बनाएको हो ? गाउँका एक वृद्धले पू्रै कहानी सुनाउँदै भने– यो गोरेटो एउटा गधाले बनाएको हो ।
इन्जिनियरले भने– तपाईंहरू मान्छे भएर पनि एउटा गधाले खोजेको बाटो पछ्याइरहनुभएको देख्दा अचम्म लाग्यो । यो गोरेटो निकै लामो र अप्ठ्यारो पनि छ । अहिले हामीले जुन नक्सा बनाएका छौँ– त्यो सीधा र तपाईंहरूले भनेकोभन्दा चारगुना छोटो र सुरक्षित पनि छ । बल्ल गाउँलेले आफूहरूले गधाले बनाएको बाटो पछ्याएर गल्ती गरेको महसुस गरे ।