सेवा प्रवाहलाई सुधार गरेकोमा प्रधानमन्त्रीद्वारा काठमाडौंका सिडिओको प्रशंसा

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

सेवा प्रवाहलाई प्रणालीमार्फत व्यवस्थित गरी उदाहरणीय कार्यालय बनाएकोमा प्रधानमन्त्री सुशीला कार्कीज्यूले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको प्रशंसा गरेकी छिन्। सोमबार काठमाडौं जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण अवलोकन गर्दै उनले सिडिओ र कर्मचारीलाई बधाई तथा धन्यवाद दिइन्। 

बबरमहलस्थित प्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्री कार्कीले सेवा प्रवाहमा अपनाइएको सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) बारे जानकारी लिएकी हुन्। 
 
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सेवालाई छिटोछरितो र झन्झटरहित ढंगले प्रवाह गर्न सूचना प्रविधिमा आधारित प्रणाली लागू गरिरहेको जानकारी  गराएका थिए। 
सेवाग्राहीले टोकन लिएर निश्चित समयावधिभित्र सेवा लिन सक्ने यो प्रणाली लागू गरिएपछि गुनासो शून्य भएको र बिचौलियाको भूमिका पनि समाप्त भएको उनको भनाइ थियो।
 सिडिओ पौडेलका अनुसार दैनिक सरदर एक हजार सेवाग्राही आउने यस कार्यालयका प्रत्येक काउन्टर र शाखाको सिसिटिभीबाट अनुगमन गर्न सकिन्छ। गुनासा वा कार्यगत जटिलताहरू ठाउँको ठाउँ सम्बोधन गरिने प्रणाली अवलम्बन गरिएको छ। सेवाग्राहीलाई वाईफाई, तातो पानी र चिसो पानीको व्यवस्थासमेत सिडिओ कार्यालयले गरेको छ। 

जेन-जी आन्दोलनका क्रममा युवाले उठाएको सुशासनको आवाज सम्बोधन गर्ने क्रममा सेवा प्रवाहको यो ढाँचा अपनाइएको र यसलाई जेन-जी योद्धाहरूमै समर्पित गरिएको सिडिओ पौडेलले बताए। यो प्रणाली कार्यान्वयन गर्न काठमाडौं जिल्लाका स्थानीय तहहरूसँग पनि समन्वय र सहकार्य गरिएको उनको भनाइ छ। 

‘सबै सेवाग्राहीलाई सम्बोधन गर्न र उहाँहरूको अनुहारमा खुसी ल्याउन सक्छौँ भन्ने कुरा यस प्रणालीको सफल कार्यान्वयनबाट पुष्टि भएको छ,’ उनले भने, ‘त्यसैले यसलाई हामीले जेन-जी सुशासन योद्धाप्रति समर्पित गरेका छौँ।’

जनतालाई सेवा प्रवाह गर्न अपनाइएको यस प्रणालीको प्रशंसा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो ढाँचा देशैभरका सेवाग्राहीको चाप भएका कार्यालयमा लागू गर्न आवश्यक रहेको बताइन्।   
‘जेन-जी युवाले सडकमा उठाएको सुशासनको आवाज सम्बोधन गर्न काठमाडौं प्रशासनले थालेको नमुना कार्य प्रशंसनीय छ,’ प्रधानमन्त्रीले भनिन्, ’हामीले छोटो कार्यकालमा देशैभरका कार्यालयमा त गर्न सकेनौँ। तर, यहाँबाट सुरु गरेका छौँ। अब देशैभरका सेवाग्राहीको बढी चाप हुने कार्यालयमा विस्तार गर्नुपर्छ।’

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी प्रधानमन्त्री कार्कीले न्यायालयमा पनि यस्तै प्रणाली स्थापित गर्ने जमर्को गरेको स्मरण गर्दै त्यसै परिकल्पनाअनुसारको काम आज प्रशासन कार्यालयमा देख्न पाएकोमा खुसी व्यक्त गर्दै भनिन्, ‘यसका निम्ति प्रमुख जिल्ला अधिकारी र कार्यालयका सम्पूर्ण कर्मचारीलाई म बधाई र धन्यवाद दिन्छु। हामीले खोजेको यस्तै हो। जेन-जीले पनि खोजेको यही हो। आँटे र गरे हुन्छ भन्ने कुराको उदाहरण हो यो।’  

अनुगमनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।
 

सुझावित समाचार