दुई दिनमा तीन ठाउँमा चोरी, तीन युवा पक्राउ

सोमबार, २ चैत, २०८२
डिजिटल संस्करण

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा दुई घर र लिखु तामाकोशी गाउँपालिकामा एक घर गरी दुई दिनमा तीनवटा घरमा चोरी भएको छ । 

चोरी गर्नेले घरमा कोही नभएको मौका पारी घरको ढोका फोडेर घरमा भएको नगद, सुन र ल्यापटप, पसलमा रहेको बियर, रेडबुल, लिची जुस, चुरोटलगायतका सामग्रीहरू चोरी गरेका छन् । चोरीमा संलग्नमध्ये दोरम्बा शैलुङ गाउँपालिकाका दुई युवा र लिखु तामाकोशी गाउँपालिका एक युवा गरी तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चोरीमा संलग्न रहेका दोरम्बा शैलुङ गाउँपालिका– १ का २९ वर्षीय आटी तामाङ र ३७ वर्षीय फेमस तामाङ रहेका छन् । उनीहरूलाई खोजतालसको क्रममा प्रहरीले शनिबार बिहान दोरम्बा शैलुङ गाउँपालिका– १, खोलाखर्कस्थित शैलुङ जाने बाटोमा फेला पारेको हो । उनीहर बा.६३प ३९५ नम्बरको मोटरसाइकलमा हिँड्दै गर्दा प्रहरीले शंका लागी चेकजाँच गर्ने क्रममा सामग्रीसमेत फेला परेकाले उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ । 

उनीहरूले शुक्रबार दोरम्बा शैलुङ गाउँपालिका– ७, थापागाउँका बमबहादुर नगरकोटीको घर फोडी घरभित्र रहेको १५ हजार नगद, आधा तोला सुनको तिलहरी चोरी भएको थियो । त्यस्तै, सोही गाउँपालिका– ६ का सुकदेव गौतमको घर चोरी भएको छ । चोरले गौतमको घर फोडी तीन हजार नगद  र एचपी कम्पनीको ल्यापटप चोरी गरेका थिए । 

त्यसैगरी, लिखुतामाकोशी गाउँपालिका– ६, माथिल्लो खिम्ती बजारमा चिया–खाजा पसल सञ्चालन गर्दै आएका बद्रीबहादुर थापाको पसलसमेत चोरी भएको छ । चोरले पसलको ढोकाको ताल्चा फुटाई भित्र रहेका बियर, लिची जुस, चुरोट र रेडबुललगायत सामान चोरी गरेको प्रहरीले जनाएको छ । 

चोरले शनिबार दिउँसै पसलको ढोका फोडी चोरी गरेको हो । पसल चोरी भएको थाहा पाएपछि व्यवसायी थापाले प्रहरी चौकी खिम्तीमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा चोरको खोजीमा जुटेको प्रहरीले स्थानीय २१ वर्षीय विनोद थापालाई नियन्त्रणमा लिएको छ ।

निज थापाले चोरी गरेको स्वीकार गरेपछि प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रामेछाप पठाएको खिम्ती प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक भोलाकाजी तामाङले जानकारी दिए ।

सुझावित समाचार