पदयात्रामा जाने पर्यटकलाई फर्जी उद्धारमार्फत बिमा रकम ठगी घटनामा प्रहरीले पहिलो चरणको अनुसन्धान पूरा गरेको छ । जसमा १६ ट्रेकिङ कम्पनी, चार हेलिकोप्टर कम्पनी, पाँच रेस्क्यु कम्पनी, तीन अस्पताल, तीनजना बिमा कम्पनीका स्थानीय एजेन्ट र एक ट्रेकिङ गाइडको संलग्नता पुष्टि गरेको छ । यो घटनामा ३३ जनाविरुद्ध मुद्दा चलाउन सिआइबीले आइतबार सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको छ ।
ब्युरोले चारवटा कसुरमा कारबाहीको सिफारिस गरेको छ । संगठित अपराधसहित राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको ब्युरोले जनाएको छ । ३३ जनामध्ये १० जनालाई सिआइबीले पक्राउ गरिसकेको छ भने बाँकी फरार छन् । ‘एक चरणको अनुसन्धान पूरा भएको छ,’ सिआइबीका एआइजी डा. मनोज केसीले भने, ‘जसमा संलग्न ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेका छौँ ।’ सिआइबीले उनीहरूविरुद्ध ९४ करोड ८४ लाख नेपाली रुपैयाँ तथा २९ लाख ९८ हजार अमेरिकी डलरबराबरको बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरेको छ ।
प्रहरीले माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलियालाई पक्राउ गरिसकेको छ । त्यस्तै, श्रृद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, वायुसेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह, रोयल होलिडेजका सन्दीप तिवारी तथा पानोराम ट्रेकिङका पासाङ शेर्पालाई पनि पक्राउ गरेरै मुद्दा अघि बढाएको हो ।
उनीहरूमध्ये राजेन्द्रबहादुर सिंह फर्जी उद्धारका लागि सिकाउने तथा अनुसन्धानलाई प्रभावित पार्ने धन्दामा संलग्न रहेको प्रहरीले जनाएको छ । उनले नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई समेत प्रभावमा पारी सिआइबीलाई पर्यटकको उद्धारसम्बन्धी तथ्यांक नै तोडमोड गर्न लगाएका थिए । कतिसम्म भने ‘कन्सेन्ट फर्म’मा समेत दबाबमा पारेर भविष्यमा हुन सक्ने कानुनी झमेलाको जिम्मेवारीसमेत बिरामी पर्यटकको टाउकोमा पार्ने गरी हस्ताक्षर गराउँदै आएका थिए । सिआइबी स्रोतका अनुसार हेलिकोप्टर कम्पनीहरू एयर डायनिस्टी, माउन्टेन हेली, बेसक्याम्प/मनाङ एयर अल्टिच्युट एयरको यसमा संलग्नता देखिएको छ ।
स्वास्थ्य रिपोर्ट नै नक्कली
स्वास्थ्यमा सामान्य समस्या हुँदा पनि ट्रेकिङ गाइडहरूले पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गराउने गरेको सिआइबीले जनाएको छ । यसमा ट्रेकिङ गाइडको समेत मिलेमतो देखिएको छ । उनीहरूले समेत कमिसन पाउने भएकाले हेलिकोप्टरमा उद्धारका लागि पर्यटकलाई फकाउने गरेका थिए । साथै, अस्पतालमा सिफारिसका लागि सोलुखुम्बुलगायत जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई समेत प्रभावमा पार्दै आएका थिए ।
काठमाडौं ल्याएपछि एउटै समूहको अस्पतालमा मात्र राख्दै आएका थिए । सिआइबीले गरेको अनुसन्धानमा हालसम्म लाजिम्पाटको श्रृद्धि, सोह्रखुट्टेको एरा इन्टरनेसनल र बत्तीसपुतलीको स्वाकन अस्पतालको यसमा संलग्नता देखिएको छ । तीनैवटा अस्पतालका मालिकविरुद्ध मुद्दा चलाउन सिफारिस भएको छ । श्रृद्धिका सञ्चालक भने पक्राउ परिसकेका छन् ।
‘स्वास्थ्यमा खासै समस्या नभएकाले ती पर्यटकहरू होटेलमै गएर बस्दथे, तर अस्पतालको रिपोर्टमा भने उनीहरू गम्भीर बिरामी देखाइन्थ्यो,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘यसरी स्वास्थ्य बिमा ठगी गर्नकै लागि नक्कली रिपोर्ट बनाएरसमेत ठगी हुने गरेको थियो ।’ यही ठगीका कारण नेपालको पर्यटन अन्तर्राष्ट्रियस्तरमै बदनाम भएको थियो ।
एआइजी डा. मनोज केसी, सिआइबी
एक चरणको अनुसन्धान पूरा भएको छ । जसमा संलग्न ३३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेका छौँ ।
सम्पत्ति शुद्धीकरणमा छुट्टै अनुसन्धान
फर्जी उद्धारमार्फत अकुत आर्जन गरेका पर्यटन व्यवसायीहरूको सिआइबीले सम्पत्ति पनि छानबिन गरिरहेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले दोस्रो चरणमा उनीहरूमाथि छानबिन थालेको हो । प्रहरीले हाल माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन मेनेजर विवेक थपलिया तथा श्रृद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनालगायतको सम्पत्ति सिआइबीले रोक्का गरिसकेको छ । पर्यटकको उद्धारका नाममा हुने ठगीमा रेस्क्यु कम्पनी, ट्रेकिङ कम्पनी, हेलिकोप्टर कम्पनी र अस्पतालको मिलेमतो रहेको सिआइबीको अनुसन्धानले देखाएको छ ।
माउन्टेन रेस्क्यु सर्भिसका जयराम रिमालको १० वटा कम्पनीमा लगानी छ । माउन्टेन रेक्क्यु सर्भिससहित फ्लाइट कनेक्सन इन्टरनेसनल, माउन्टेन लिडर ट्रेक्स, मास्टर हिमालय ट्रेक्स, डायनिस्टी असिसटेन्समा उनको लगानी छ । त्यस्तै, हिमालयन फाइबर एन्ड डेकोर प्रालि, ग्रिन पार्क चितवन, स्वागन इन्टरनेसनल अस्पताल, वासस्थान पोखरा प्रालि, वासस्थान काठमाडौं प्रालि र गोरकसेप क्लिनिकमा उनको लगानी छ । काठमाडौंको सेतोपुलस्थित स्वागन अस्पताल पनि फेक रेक्स्युमा विगतमा पनि कारबाहीका लागि सिफारिस भएको अस्पताल हो । सो अस्पतालमाथि अहिले सिआइबीले पनि छानबिन गरिरहेको छ । बिरामी नदेखिने सो अस्पताल ठगीकै लागि खडा गरिएको आशंका गरिएको छ । उनका पार्टनर रहेका श्यामसुन्दर कँडेल भने फरार छन् । यसरी १० वटा कम्पनीमा लगानी गर्ने ४६ वर्षीय पाण्डे कुनै समय प्लान होलिडे ट्राभलमा टिकेटिङ अफिसरका रूपमा काम गर्दथे ।
त्यस्तै, मुक्ति पाण्डेको एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालि, होल तुलसी ठमेल, बेस क्याम्प हेलिकोप्टर, अनन्त होम प्रालि, जलजला थकाली, काठमाडौं डे टुर्स, नेपाल क्यापिटल, मायालु कृषि फार्मजस्ता कम्पनीका लगानीकर्ता हुन् । एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्सका सञ्चालक ४७ वर्षीय सुवास केसीको एक्साइटिङ नेपाल ट्रेक एन्ड एक्सपिडिसन, ज्वाइन्ट भेन्चर्स इन्भेष्टर्स ग्रुप र माष्टर हिमालय ट्रेक एण्ड एक्सपिडिसनजस्ता कम्पनी छन् । ठमेलको कान्तिपुर रेस्टुरेन्टमा सामान्य कर्मचारीबाट करिअर सुरु गरेका उनले पनि चारवटा कम्पनी खडा गरिसकेका छन् ।
नेपाल चार्टर सर्भिसका ३९ वर्षीय रवीन्द्र अधिकारीको तीन कम्पनीमा लगानी छ । एड्भेन्चर डिस्कभरी ट्रेक्स एन्ड एक्सिपिडिसन र जानुका इन्भेस्टमेन्ट प्रालिमा उनको लगानी छ । उनी पनि कुनै समय माइतीघरको एक रेस्टुरेन्टमा सामान्य कर्मचारी थिए । त्यस्तै, विगतमा टिकेटिङ कम्पनीमा काम गरी माउन्टेन रेस्क्यु कम्पनीमा लगानी गरेका ३१ वर्षे विवेक पाण्डेले मास्टर हिमालय ट्रेक एन्ड एक्सपिडिसनमा पनि लगानी गरिसकेका छन् । श्रृद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिनाले ग्लोबल कनेक्ट हेली सर्भिस र श्रृद्धि इन्भेष्टमेन्ट प्रालिमा लगानी गरेका छन् । एरा इन्टरनेसनल अस्पतालमा पनि ट्रेकिङ क्षेत्रका व्यक्तिहरूको लगानी छ ।
ग्यास्ट्रिकका बिरामीलाई हेलिकोप्टरबाट उद्धार, पासपोर्ट कब्जामा लिएर बिमा भुक्तानी
२०२५ नोभेम्बरमा सोलुखुम्बुको डिङबोचेमा एक पर्यटक सामान्य बिरामी पर्छन् । उनलाई ग्यास्ट्रिकको समस्याले पेट दुखेको थियो । उनी पैदल नै तल ओर्लन चाहन्थे । तर, उनका गाइडले गम्भीर स्वास्थ्य समस्या भएको भन्दै जबर्जस्ती हेलिकोप्टर बोलाएर काठमाडौं पठाए । उनलाई झुक्याएर बिमा पोलिसीको कागज मगाइन्छ । काठमाडौं आएपछि अस्पतालले पासपोर्ट कब्जामा लियो । बिमाबाट भुक्तानीको ग्यारेन्टी नभएसम्म फिर्ता दिन अस्वीकार गरियो । त्यसरी रेस्क्यु कम्पनीले आठ हजार दुई सय तथा अस्पतालले एक हजार तीन सय दुई डलर बिलको भुक्तानी गरेपछि मात्र उनको पासपोर्ट फिर्ता दिइएको थियो । कतिपय पर्यटकको हकमा एकैजनाको ५० लाख रुपैयाँभन्दा धेरै बिलसमेत उठाइएको सिआइबीको अनुसन्धानमा खुलेको छ ।