छुट्टाछुट्टै दुई सहकारीको साढे एक अर्ब ठगी प्रकरणमा पुर्पक्षका लागि जेलमा रहेका काभ्रेका चन्द्रबहादुर लामासहित १० अभियुक्तविरुद्ध सवा दुई अर्ब रुपैयाँको बिगोसहित सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दर्ता भएको छ । मुद्दा दर्ता गरिएका सबै अभियुक्त कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेभिटमा आबद्ध छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा गत २९ फागुनमै मुद्दा दर्ता गरेको हो । दर्ता अभियोग पत्रअनुसार लामासहित हिमालयविक्रम ठकुरी, देवराज पराजुली, प्रेमध्वज लामा, जागलाल लामा, सानुकान्छा लामा, नारायण रिमाल, इन्दु थापा, कञ्चन तामाङ र उद्धव पाण्डेविरुद्ध सम्पत्ति शुद्धीकरणविरुद्धको मुद्दा दर्ता गरिएको हो । उनीहरूमध्ये केही अझै फरार छन् ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता रामहरि काफ्लेले कान्तिपुर र पशुपति सेभिङ सहकारीमा आबद्ध अभियुक्तविरुद्ध सम्पत्ति शुद्धीकरणअन्तर्गतको कसुरमा पनि मुद्दा दर्ता गरिएको बताए । उनका अनुसार सबै अभियुक्तको कुल बिगो रकम दुई अर्ब १६ करोड ४९ लाख ७४ हजार ३२० रुपैयाँ छ ।
अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार सबैभन्दा धेरै बिगो चन्द्रबहादुर लामाविरुद्ध माग गरिएको छ । दुवै सहकारीको अध्यक्ष रहेका उनीविरुद्ध ९९ करोड ८० लाख ४८ हजार १९ रुपैयाँ बिगो माग गरिएको छ । उनी कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिट को–अपरेभिट दुवैमा समानान्तर रूपमा २१ वर्ष अनवरत अध्यक्ष थिए । सहकारी ऐन, २०४१ ले सहकारी सञ्चालकलाई एकैपटक दुई वा सोभन्दा बढी सहकारीको सञ्चालक समितिमा बस्न बन्देज गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांकअनुसार कान्तिपुर र पशुपति सेभिङले मात्रै सात हजार २०७ बचतकर्ताको सात अर्ब ८९ करोड ९९ लाख नौ हजार ७२ रुपैयाँ डुबाइदिएको छ । जसमध्ये एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ चन्द्रबहादुरले अपचलन गरेको देखिन्छ, जुन रकम कान्तिपुर सेभिङ एन्ड क्रेडिटको हो । चन्द्रबहादुरलाई १८ जेठ ०८१ मा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चितवनबाट पक्राउ गरेको थियो ।
उनी पक्राउ पर्नुअघिसम्म पनि पशुपति सेभिङको अध्यक्ष थिए । पशुपतिमा एक हजार ४२ बचतकर्ताको एक अर्ब १४ करोड ४८ लाख तीन हजार ६१८ रुपैयाँ डुबेको छ । त्यस्तै, कान्तिपुर सेभिङमा ६ हजार १६५ बचतकर्ताको ६ अर्ब ७८ करोड ५१ लाख पाँच हजार ४५४ रुपैयाँ डुबेको छ । जसमा चन्द्रबहादुर ०७६ सम्म अध्यक्ष थिए । सोही वेला उनले कान्तिपुरबाट एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ ऋण लिएका थिए । जसको भुक्तानी उनले हालसम्म पनि गर्न सकेका छैनन् ।
त्यस्तै, कान्तिपुर सहकारीका निवर्तमान अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरीविरुद्ध भने ३४ करोड १७ लाख २३ हजार ६८ रुपैयाँ बिगो दाबी गरिएको छ । उनी पनि अहिले पुर्पक्षका लागि जेलमा छन् । दुवै सहकारीमा एकै व्यक्ति अध्यक्ष हुन नपाउने कानुन बनेपछि कान्तिपुरको अध्यक्षमा ठकुरी नियुक्त भएका थिए । त्यसबाहेक दुवै सहकारीमा आबद्ध देवराजविरुद्ध ११ करोड ७० लाख ५३ हजार ७५८, प्रेमध्वजविरुद्ध २६ करोड ८० लाख ११ हजार ८१६, जागलालविरुद्ध ११ करोड ८३ लाख २१ हजार ४०७, सानुकान्छाविरुद्ध एक करोड १८ लाख ७४ हजार ६१४ बिगो दाबी गरिएको छ । सोही मुद्दामा जोडिएका नारायणविरुद्ध एक करोड ४९ लाख ८६ हजार ९१२, इन्दुविरुद्ध एक करोड ६२ लाख सात हजार ६९१, कञ्चनविरुद्ध तीन करोड ९५ लाख १५ हजार १९९ रुपैयाँ र उद्धवविरुद्ध तीन करोड ९२ लाख ३१ हजार ८३६ रुपैयाँ बिगो दाबी गरिएको छ ।
घटनाको अनुसन्धान प्रहरी वृत्त नयाँ बानेश्वरले गरेको थियो । नयाँ बानेश्वरमा मात्रै ८५२ सदस्यले सञ्चालकविरुद्ध जाहेरी दिएका थिए । पक्राउ पुर्जी जारी भएकामध्ये जोगलाल, प्रेमध्वज, सानुकान्छा, नारायण, देवराज, इन्दु, कञ्चन, उद्धव र अम्बिका थपलिया अझै फरार छन् । सो सहकारीलाई सहकारी विभागले गत २९ माघ ०८० मा समस्याग्रस्त घोषणा गरिसकेको छ ।