आइतबार : १० बजेसम्मका १० मुख्य खबर

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

मध्यपूर्व युद्धको असर: पेट्रोल १५ र डिजेल तथा मट्टितेल १० रुपैयाँ प्रतिलिटर बढ्यो

 मध्यपूर्व युद्धका कारण नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढेको छ । आइतबार रातीबाट लागू हुने गरी पेट्रोल १५ रुपैयाँ र डिजेल तथा मट्टितेल १० रुपैयाँ प्रतिलिटर वृद्धि भएको हो । मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ७२ र डिजेल तथा मट्टितेल १ सय ५२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

रास्वपाको समानुपातिक सूचीमा को–को परे ?

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदका लागि ५७ जनाको सूची बुझाएको छ । निर्वाचन आयोगले तोकेको क्लस्टरअनुसार ४८ महिला र ९ पुरुषको सूची पार्टीले आइतबार निर्वाचन आयोगमा बुझाएको हो । 

धनुषा १ को विवादमा सर्वाेच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, मातृका यादवले नै सांसदमा निरन्तरता पाउने

धनुषा १ को उम्मेदवारी खारेजसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। जसअनुसार धनुषा १ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मातृका यादवले नै सांसदका रूपमा निरन्तरता पाउने भएका छन्। 

सो क्षेत्रमा निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी निर्वाचनको अघिल्लो दिन खारेज गरेको थियो। उनी कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पुष्टि भएपछि उम्मेदवारी खारेज भएको थियो। उम्मेदवारी खारेजविरुद्धको रिटमा सर्वाेच्चका न्यायाधीशहरू विनोद शर्मा र मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी नहुने फैसला गरेको हो। 

गृहमन्त्री अर्याल राष्ट्रिय सभामा सिफारिस

गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन्। सरकारले नियुक्ति गर्ने एक सिटमा उनको सिफारिस भएको हो। 

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सिफारिस गरेको हो। बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ। 

 त्यस्तै, सरकारले जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको ग्रहण गर्ने निर्णय गरेको छ।  तर, प्रतिवेदन सार्वजनिक गर्ने विषयमा भने कुनै निर्णय भएको छैन। 

रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, सोमबार पनि सुनुवाइ हुने

रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सहकारी ठगीसम्बन्धी अभियोग संशोधन गर्ने निर्णयविरुद्ध सर्वाेच्च अदालतमा आइतबारदेखि सुनुवाइ सुरु भएको छ। न्यायाधीशहरू शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा सुनुवाइ सुरु भएको हो। 

आइतबार बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैमा राखिएको छ। जसअनुसार सोमबार पनि सुनुवाइ जारी हुने भएको छ। 

गत साता सर्वाेच्चले आइतबारदेखि पूर्ण सुनुवाइ सुरु गर्न आदेश दिएको थियो। 

नेपाली कांग्रेसले बुझायो २० समानुपातिक सांसदको सूची

नेपाली(कांग्रेस)ले समानुपातिकतर्फ सांसदको सूची निर्वाचन आयोगमा सिफारिस गरेको छ ।  

कांग्रेसले खसआर्यतर्फ अर्जुननरसिंह केसी, कालीबहादुर सहकारी, सुशीला ढकाल आचार्य, रुक्मिणीदेवी कोइराला, रिना उप्रेती र सीता थपलियाको सिफारिस गरेको छ। 
त्यस्तै, आदिवासी जनजातितर्फ  भीष्मराज आङ्देम्बे, मदनकृष्ण श्रेष्ठ, गीताकुमारी सेन्दाङ्ग, गंगालक्ष्मी अवाल, गीता गुरुङ र रेनुका काउचा सिफारिस भएको कांग्रेसका एक नेताले बताए। 

मधेसी क्लस्टरतर्फ चन्द्रमोहन यादव, निनुकुमारी कर्ण र रेखाकुमारी यादव छन् तथा मुस्लिमतर्फबाट साहजान खातुन सिफारिस भएका छन्। थारू क्लस्टरबाट प्रमिलाकुमारी गच्छदार, दलिततर्फबाट हरिनादेवी कामी, पवित्रा विक र मनमाया विश्वकर्मा सिफारिस भएका छन्। 

नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिट जितेको छ। 

जेन–जी आन्दोलनसम्बन्धी आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

सरकारले गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन अध्ययन गर्ने गरी ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।

गुन्डु पुगेर प्रधानमन्त्री कार्कीले दिइन् एमाले अध्यक्ष ओलीलाई समवेदना

प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका एमाले अध्यक्ष केपी ओलीलाई भेटेर समवेदना व्यक्त गरेकी छिन्। गुन्डस्थित ओली निवास पुगेर उनले समवेदना दिएकी हुन्। 

ओलीका बुबा मोहनप्रसाद ओलीको शुक्रबार निधन भएको हो। 

नेप्से चार अंकले बढ्यो, कारोबार रकम १४ अर्बमाथि

आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ४.४५ अंकले बढेर दुई हजार ८२४.९० विन्दुमा कायम भएको हो।

आज ३५० कम्पनीको तीन करोड ९५ लाख ४९ हजार कित्ता सेयर १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ। अघिल्लो दिन पनि करिब १४ अर्बको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये चार समूह एक प्रतिशतभन्दा कमले ओरालो लाग्दा नौ समूहको सूचक उकालो लागेको छ। व्यापार समूह सबैभन्दा धेरै (२.८३ प्रतिशत)ले वृद्धि हुँदा बाँकी समूहको वृद्धिदर एक प्रतिशतभन्दा कम छ।

आज सोलु हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा दरमखोला हाइड्रोको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक, होटेल फरेस्ट इन र ग्रिन लाइफ हाइड्रोको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ। 

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै खबरदारी [तस्बिरहरू]

जेन–जी आन्दोलनसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेन–जी अभियन्ताहरूले प्रदर्शन गरेका छन्। जेन–जी मुभमेन्ट अलायन्सलगायतले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।

सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।

सुझावित समाचार