ताप्लेजुङका स्थानीय तहहरूको कार्यसम्पादन मूल्यांकनमा सिरिजङ्गा गाउँपालिका जिल्लामै सबैभन्दा अगाडि देखिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार ६८.१० अंकसहित सिरिजङ्गा पहिलो स्थानमा रहँदा आठराई त्रिवेणी गाउँपालिका अन्तिममा छ।
आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजा र अन्तिम नतिजाबिच धेरै स्थानीय तहमा सानो अन्तर देखिएको छ। प्रारम्भिक नतिजामा ६८.१२ अंक प्राप्त गरेको सिरिजङ्गाको अन्तिम अंक ०.०२ ले घटेर ६८.१० पुगे पनि जिल्लामा सबैभन्दा बढी अंक हासिल गर्ने स्थानीय तहका रूपमा आफ्नो स्थान कायम राख्न सफल भएको छ। सिरिजङ्गाले वित्तीय व्यवस्थापन, योजना निर्माण तथा सामाजिक क्षेत्रका सूचकहरूमा अपेक्षाकृत राम्रो प्रदर्शन गरेको देखिन्छ।
दोस्रो स्थानमा रहेको पाथीभरा याङवरक गाउँपालिकाको अंक पनि झिनो अन्तरले घटेको छ। प्रारम्भिक नतिजामा ६५.७२ अंक रहेको पाथीभरा याङवरकको अन्तिम नतिजामा ६५.७० अंक कायम भएको छ। अंक घटे पनि शीर्ष स्थानमा रहने प्रतिस्पर्धामा भने उसले आफ्नो स्थान सुरक्षित राखेको छ। मैवाखोला गाउँपालिकाले भने प्रारम्भिक नतिजाभन्दा उल्लेखनीय सुधार गरेको छ। प्रारम्भिक ५८.६८ अंकबाट उक्लिँदै अन्तिम नतिजामा ६३.६८ अंक हासिल गर्दै उसले आफ्नो कार्यसम्पादनमा सुधार भएको संकेत दिएको छ।
यस्तै, मेरिङदेन गाउँपालिकाले पनि उल्लेखनीय प्रगति गरेको छ। प्रारम्भिक नतिजामा ५७.१ अंक रहेको मेरिङदेनले अन्तिम नतिजामा २.९ अंक बढाएर ६० अंक पु¥याएको छ। यही सुधारका कारण प्रारम्भिक नतिजामा आफूभन्दा अगाडि रहेको मिक्वाखोला गाउँपालिकालाई मेरिङदेनले उछिनेको छ। मिक्वाखोलाको अंक ५८.५८ यथावत् छ। सिदिङ्वा र फक्ताङलुङ गाउँपालिकाको अंक पनि सामान्य घटेको देखिएको छ। सिदिङ्वाको प्रारम्भिक ५७.८० अंक अन्तिम नतिजामा ५७.८८ कायम भएको छ भने फक्ताङलुङको ५६.७५ अंक घटेर ५६.७४ पुगेको छ।
फुङलिङ नगरपालिकाको अंक पनि सामान्य घटेको छ। प्रारम्भिक नतिजामा ५०.६५ अंक रहेको नगरपालिकाको अन्तिम नतिजामा ५०.६२ अंक कायम भएको छ। अर्कोतर्फ, आठराई त्रिवेणी गाउँपालिकाले प्रारम्भिक नतिजाभन्दा उल्लेखनीय सुधार गरे पनि जिल्लाका स्थानीय तहमध्ये अन्तिम स्थानमै सीमित भएको छ। प्रारम्भिक नतिजामा ४१.३१ अंक रहेको गाउँपालिकाले अन्तिम नतिजामा ८ अंक सुधार गर्दै ४०.३१ अंक पु¥याए पनि अन्य स्थानीय तहको तुलनामा अझै कमजोर प्रदर्शन देखिएको हो।
स्थानीय तहहरूको कार्यसम्पादनमा मुख्यतः वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन, शिक्षा र स्वास्थ्य क्षेत्रका सूचकहरू निर्णायक हुने गरेका छन्। समयमै बजेट पेश र पारित गर्नु, खर्च व्यवस्थापन, कार्यक्रम कार्यान्वयनको अवस्था तथा सेवा प्रवाहको प्रभावकारिताले अंकमा ठूलो प्रभाव पार्ने गरेको छ।