व्यावसायिक कृषि प्रवर्द्धन गर्न सेकाहाका किसानलाई प्लास्टिक टनेल वितरण

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण

संखुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा व्यावसायिक कृषि प्रवर्द्धनका लागि प्लास्टिक टनेल वितरण गरिएको छ। आइतबार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाइ संखुवासभाले सेकाहाका ४१ कृषकहरूलाई एक सयवटा प्लास्टिकका टनेल वितरण गरेको हो।

५० प्रतिशत लागत साझेदारीमा कृषकलाई मागको आधारमा सयवटा प्लास्टिका टनेल वितरण गरिएको कृषि प्राविधिक समीर श्रेष्ठले बताए। उनका अनुसार कृषि आधुनिकीकरण कार्यक्रमले आर्थिक वर्ष ०८२-८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उद्यमशीलता विकास कार्यक्रमभित्र रहेर थुलुङ बहुउद्देश्यीय कृषि पशुपन्छी मौरी, अलैँची तथा माछापालन कृषि समूहलाई प्लास्टिकको टनेल वितरण गरेको हो।

कृषकको ५० प्रतिशत लागत साझेदारीअन्तर्गत ४ लाख रुपैयाँ र कार्यालयको ४ लाख रुपैयाँ गरी कुल ८ लाख रुपैयाँमा टनेल वितरण गरिएको कृषि प्राविधिक श्रेष्ठको भनाइ छ। सेकाहा क्षेत्र तरकारीको पकेट क्षेत्र भएकाले व्यावसायिक तरकारी खेती र बेमौसमी तरकारी खेती विस्तार र प्रवर्द्धनका लागि कार्यालयले सहयोग गरेको श्रेष्ठले बताए।

स्थानीय कृषक ज्ञानबहादुर गुरुङ र रामायण राईले प्लास्टिक टनेल पाएपछि तरकारी खेती विस्तारको लागि सहयोग पुग्ने बताए। घाम, पानी र झरी बादल नभनी तरकारी खेती उत्पादन गर्न प्लास्टिक टनेलमा सहज हुने उनीहरूको भनाइ छ।

संखुवासभाको १० वटा स्थानीय तहमध्ये तरकारी उत्पादनको हिसाबले खाँदबारी नगरपालिका अगाडि छ। नगरभित्र पनि सेकाहा क्षेत्रमा अर्गानिक तरकारी उत्पादन हुने गरेकाले बजारमा माग धेरै रहेको कृषकहरू बताउँछन्। मागअनुसारको अर्गानिक तरकारी उत्पादन गर्न नसकिएको कृषकहरूको भनाइ छ।

सुझावित समाचार