भक्तपुरको कमलविनायकस्थित नेपाल भोकेस्नल एकेडेमीमा यही चैत ६ र ७ गते भक्तपुर फिल्म फेस्टिभल हुने भएको छ। भक्तपुरका युवा फिल्मकर्मीहरूको समूहले पहिलोपटक यो फेस्टिभल आयोजना गर्न लागेको हो।
युवा फिल्मकर्मीहरू किरण किलम्बू, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न लागेको हो। भक्तपुरको कला र साहित्यलाई विकास गर्ने र नयाँ फिल्मकर्मीलाई प्लेटफर्म दिने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव निर्देशक किरण किलम्बूले बताए।
महोत्सवका संयोजक स्मित गिरीका अनुसार स्वतन्त्र (इन्डी) फिल्मकर्मी र उनीहरूका फिल्मलाई प्लेटफर्म दिन आवश्यक देखेर महोत्सव गरिएको हो। ‘स्वतन्त्र रूपले फिल्म बनाइरहेका फिल्मकर्मीलाई प्लेटफर्म दिन हामीले यो महोत्सव आयोजना गरेका हौँ। सिनेमा लिट्रेसी बढाउनु पनि महोत्सवको उद्देश्य हो,’ स्मितले भने। स्मितसँगै एभरेस्ट एकेडेमीमा फिल्म अध्ययन गरेका सफल वैद्य पनि महोत्सव संयोजक छन्।
दुईदिने महोत्सवमा २४ फिल्म देखाइनेछ। नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ देखाउँदै सुरु हुने महोत्सवमा सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अंकित पौडेलको ‘संग अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनिर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायत देखाइनेछन्।
सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ भने महोत्सवको समापन फिल्म हुनेछ। महोत्सवमा २ नेवा संस्कृति समेटिएका फिल्म ‘किजा पूजा’ र ‘नेवा बुद्धिजम इन नेपाल’ देखाइनेछ। महोत्सवमा फिल्मकर्मी केशव पाण्डेले कथा लेखनसम्बन्धी कार्यशाला दिँदै छन्। महोत्सव सुरु हुने अघिल्लो दिन उनले यो कार्यशाला दिनेछन्।