चुनावी नतिजाका १५ रोचक पक्ष

आइतबार, १ चैत, २०८२
डिजिटल संस्करण
  • ४० जिल्लामा क्लिन स्विप गर्‍यो रास्वपाले, कांग्रेस ५९, एमाले ६८ र नेकपा ६९ जिल्लामा निल  

२१ फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपा १८२ सिटसहित झन्डै दुईतिहाइनजिक छ । कांग्रेस ३८, एमाले २५, नेकपा १७ र राप्रपा सात सिटमा खुम्चिएका छन् । चार महिनाअघि मात्र गठन भएको श्रम संस्कृति पार्टीले भने सात सिट ल्याएको छ ।

यसपटकको चुनावमा कुनै एक दलले झन्डै दुईतिहाइ मत ल्याएको छ । प्रधानमन्त्रीका दाबेदार एमाले अध्यक्ष केपी ओलीलाई उनकै गृहजिल्ला झापामा हराएर रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेन प्रधानमन्त्री बन्दै छन् । त्यस्तै, सबैभन्दा धेरै ५० हजार ३७९ मतान्तरको जित मात्र होइन सबैभन्दा कम पाँच मतको हारजित पनि भएको छ । चुनावी नतिजाका १५ रोचक पक्ष यहाँ समेटिएका छन् ।

ठुलो मतान्तरमा लेखजंगको कीर्तिमान
प्रतिनिधिसभा सदस्य निर्वाचनमा ठुलो मतान्तरले विजयी हुनेमा रास्वपाका डा. लेखजंग थापाले कीर्तिमान कायम गरेका छन् । रुपन्देही ३ का उम्मेदवार थापाले निकटतम प्रतिस्पर्धी कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मतान्तरले हराएका हुन् । थापा ५८ हजार ८१४ मत ल्याएर विजयी भएका हुन् । गुरुङले आठ हजार ४३५ मत मात्र पाए । त्यस्तै, एमालेका वासुदेव घिमिरेले आठ हजार २७५ मत पाए । यो निर्वाचन क्षेत्रमा निर्वाचित थापाबाहेक सबै ३५ जनाको धरौटी जफत भएको छ । सदर मतको १० प्रतिशत प्राप्त गर्न नसकेमा धरौटी जफत हुने गर्छ । कुल मतमध्ये ८९ हजार ४१४ मत सदर भएको थियो ।

काठमाडौं उपत्यका नै क्लिन स्विप
रास्वपाले काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा जित निकालेर क्लिन स्विप गरेको छ । ०६४ को निर्वाचनमा तत्कालीन माओवादीले देशभर १२० सिट ल्याउँदा पनि काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह र भक्तपुर १ मा नेमकिपामा नारायणमान बिजुक्छे विजयी भएका थिए । तर, यसपटक रास्वपाले नेमकिपाको गढसमेत भत्कायो । काठमाडौंका १०, ललितपुरका तीन र भक्तपुरका दुईवटै क्षेत्रमा रास्वपा विजयी भएको हो । रास्वपाले मधेश प्रदेशका दुई निर्वाचन क्षेत्रबाहेक ३० वटामा जित निकालेको छ ।

मिश्रित प्रणालीबाट बहुमत प्राप्त 
०७० मा जारी भएको संविधानले अंगीकार गरेको मिश्रित निर्वाचन प्रणालीबाट कुनै एक दलको बहुमत नआउने टिप्पणी हुने गरेको थियो । र संविधान संशोधनको मुद्दा पनि उठ्ने गरेको थियो । तर, यसपटक रास्वपाले बहुमत मात्र होइन झन्डै दुईतिहाइ ल्याएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ सांसद निर्वाचित हुन्छन् । रास्वपाले १२५ सिट ल्याएको छ । त्यस्तै, समानुपातिकबाट ११० मध्ये ५७ सिट ल्याएको छ । बहुमतका लागि १३८ सिट आवश्यक पर्छ । रास्वपाले प्रत्यक्ष र समानुपातिक गरी कुल १८२ सिट ल्याएको छ, जुन दुईतिहाइका लागि दुई सिट कम हो ।

४० जिल्लामा रास्वपाको क्लिन स्विप  
रास्वपाले काठमाडौं उपत्यकाका तीनसहित ४० जिल्ला क्लिन स्विप गरेको छ । रास्वपाले काठमाडौं जिल्लाका १० वटै, ६ निर्वाचन क्षेत्र रहेको मोरङ तथा पाँच–पाँच निर्वाचन क्षेत्र रहेका झापा, रुपन्देही र कैलाली क्लिन स्विप गरेको हो । त्यस्तै, मधेशका रौतहट र धनुषाका एउटा–एउटाबाहेक ३० निर्वाचन क्षेत्रमा जित्दा त्यहाँका ६ जिल्लामा क्लिन स्विप गरेको छ । समग्रमा ७७ मध्ये ४८ जिल्लाका १२५ निर्वाचन क्षेत्रमा जित निकालेको छ । रास्वपाले कोशीमा झापा, मोरङ, ओखलढुंगा, उदयपुर क्लिन स्विप गरेको छ । सुनसरी २, ३, ४ जितेको छ । मधेशमा करिब क्लिप स्विप गरेको छ । रौतहट २ बाहेक सबै ठाउँ जितेको छ । धनुषा १ मा जित्ने मत पाए पनि उम्मेदवारी खारेज हुँदा गुमाउनुपरेको छ । सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, बारा, पर्सा क्लिन स्विप गरेको छ भने धनुषा २ र ३ तथा रौतहट १, ३ र ४ पनि जितेको छ । 

बागमतीमा दोलखा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, मकवानपुर र चितवन क्लिन स्विप गरेको छ । सिन्धुपाल्चोक १ मा पनि जितेको छ । गण्डकीमा गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, बागलुङ र पर्वत क्लिन स्विप गरेको छ । लुम्बिनीमा गुल्मी, अर्घाखाँची, रुपन्देही, प्युठान, दाङ, बर्दिया, नवलपरासी पश्चिम क्लिप स्विप गरेको छ । पाल्पा २, कपिलवस्तु १ र २ तथा बाँके १ र ३ पनि जितेको छ । कर्णालीमा १० मध्ये सुर्खेत २ मा मात्र जितेको छ । सुदूरपश्चिममा कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी क्लिन स्विप गरेको छ ।

पुराना दल नै जिल्लामा निल 
कांग्रेसले १८ जिल्लाका १८ सिट जितेको छ । ५९ जिल्लामा कांग्रेस निल भएको छ । कांग्रेसले कोशीमा पाँचथर, इलाम १, तेह्रथुम, सोलुखुम्बु जितेको छ । आधार इलाका मधेशमा एक मात्र रौतहट १ जितेको छ । बागमतीमा रसुवा मात्रै जितेको छ । गण्डकीमा मनाङ र मुस्ताङ, लुम्बिनीमा पाल्पा १, कपिलवस्तु ३ जितेको छ । कर्णालीमा मुगु, हुम्ला, जाजरकोट, दैलेख, सुर्खेत १ तथा सुदूरपश्चिममा बाजुरा, अछाम १ र डोटीमा जितेको छ ।

एमालेले नौ जिल्लामा नौ सिट मात्र जितेको छ । ६८ जिल्लामा निल छ । कोशीमा ताप्लेजुङ, इलाम २, संखुवासभा, धनकुटा जितेको छ । एमाले मधेश र गण्डकीमा निल छ । लुम्बिनीमा बाँके २ जितेको छ । कर्णालीको दैलेख २, सुदूरपश्चिमको अछाम २, बझाङ र दार्चुला जितेको छ । नेकपाले आठ जिल्लामा आठ सिट जितेको छ । ६९ जिल्लामा निल छ । कोशी र गण्डकी र सुदूरपश्चिममा निल छ । बागमतीको सिन्धुपाल्चोक २, मधेशको धनुषा १, लुम्बिनीको रुकुम पूर्व र रोल्पा जितेको छ । कर्णालीको सल्यान, डोल्पा, कालिकोट, रुकुम पश्चिम जितेको छ ।

मधेशमै निल भए जसपा र जनमत
मधेश आन्दोलनबाट उदाएका मधेशकेन्द्रित दलहरू यसपटक मधेश प्रदेशमै निल भएका छन् । जसपा, जनमतलगायत दलले एउटा सिट पनि ल्याउन सकेनन् भने समानुपातिकमा पनि तीन प्रतिशत थ्रेसहोल्ड कटाउन सकेनन् । अघिल्लो चुनावमा प्रत्यक्षतर्फ जसपाले आठ, लोसपाले चार र जनमतले एउटा सिट जितेका थिए । यसपटक जसपा र लोसपाको एकता हुँदा पनि निल भएका छन् । यसबाहेक बागलुङमा निरन्तर जित्दै आएको राष्ट्रिय जनमोर्चा र भक्तपुर १ मा गढ बनाएर बसेको नेमकिपा पनि निल भएका छन् ।

कम्युनिस्ट इतिहासकै कमजोर 
०७४ को निर्वाचनमा गठबन्धन गरेर करिब दुईतिहाइ मत प्राप्त गरेका कम्युनिस्टहरू अहिले इतिहासमै कमजोर बनेका छन् । आफ्नो अस्तित्व जोगाउनै हम्मेहम्मे परेको छ । एमालेले नौ सिट जितेको छ भने माओवादीले आठ सिट जितेको छ । समानुपातिकतर्फ पनि जादु चलेन । ०७४ मा एमाले र तत्कालीन माओवादी गठबन्धन गरेर चुनावमा जाँदा समानुपातिकसहित १७४ सिट जितेका थिए । एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिक ४१ गरी १२१ र माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ गरी ५३ सिट जितेका थिए । यसपटक अन्य कम्युनिस्ट शक्तिहरू नेमकिपा, जनमोर्चा कुनैले पनि जितेका छैनन् ।

प्रत्यक्षमै १४ महिला
यसपटक प्रत्यक्षतर्फबाट १४ महिला प्रतिनधिसभा सदस्यमा निर्वाचित भएका छन् । रास्वपाबाट १३ र कांग्रेसबाट एक महिला विजयी भएका हुन् । रास्वपाबाट इन्दिरा रानामगर, निशा डाँगी, रुविना आचार्य, विना गुरुङ, आशा झा, नीतिमा भण्डारी कार्की, रञ्जु दर्शना (न्यौपाने), तोसिमा कार्की, सोविता गौतम, आशिका तामाङ, गौरी कुमारी, पुष्पाकुमारी चौधरी र कोमल ज्ञवालीले चुनाव जितेका छन् । कांग्रेसबाट दैलेखमा बासना थापा विजयी भएकी छिन् ।

रास्वपाका नेता जो थोरै मतले हारे
संखुवासभामा मिङ्मा शेर्पा ६३६ मतान्तरले पराजित भएका छन् । त्यहाँ एमालेका अर्जुन कार्की १५ हजार ६३५ मत ल्याएर विजयी भएका छन् । शेर्पाले १५ हजार मत पाए । सोलुखुम्बुमा ऋषिधन थुलुङ राईले तीन हजार ६४२ मत मात्रै पाएका छन् । त्यहाँ कांग्रेसका प्रकाशसिंह कार्की १३ हजार १६१ मतसहित विजयी भएका छन् । रुकुम पूर्वमा लखनकुमार थापाले ८१९ मत मात्रै पाए । यहाँ नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड १० हजार २४० मतसहित विजयी भएका छन् । जाजरकोटमा कांग्रेसका खडकबहादुर बुढाले २० हजार १४२ मत ल्याएर जित्दा रास्वपाका राघव कार्की दुई हजार ४७१ मतसहित पछाडि रहे । डोल्पामा रास्वपाका देवसिंह ऐडी १८१ मत प्राप्त गरी पछाडि छन् । हुम्लामा टासी ल्हान्जोम एक हजार ६४ मत प्राप्त गरी पछाडि छिन् । मुगुमा भुवन टमटा ५३० मत ल्याएर पछाडि परे । जुम्लामा विनिता कठायत ४२१ मत पाएर पाँचौँ नम्बरमा छिन् । अछाम २ मा भूपदेव शाह चार हजार ५६२ मतसहित चौथो भएका छन् ।

ठुला नेता नै धेरै मतान्तरले हारे 
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार दलका प्रमुख नेताहरू नै पराजित भएका छन्, त्यो पनि ठुलो मतान्तरले । एमाले अध्यक्ष केपी ओली झापा ५ मा ४९ हजार ६१४ मतान्तरले पराजित भए । पूर्वसभामुख देवराज घिमिरे ४८ हजार ७४२ मतान्तरले हारेका छन् । उपाध्यक्ष विष्णु पौडेल ४३ हजार ६८९ मतान्तरले पराजित भएका छन् । वरिष्ठ नेता ईश्वर पोखरेल २६ हजार ३६ मतान्तरले पराजित भएका छन् । कांग्रेस सभापति गगन थापा १२ हजार ८५७ मतान्तरले पराजित भएका छन् । महामन्त्री प्रदीप पौडेल २१ हजार ५७८ मतान्तरले पराजित भएका छन् । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल रौतहट १ मा २१ हजार २७७ मतान्तरले पराजित भएका छन् । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन २१ हजार ३८० मतान्तरले पराजित भएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी ३ मा १७ हजार ६३६ मतान्तरले पराजित भएका छन् । जनमत अध्यक्ष सिके राउत सप्तरी २ मा १८ हजार ५२४ मतान्तरले पराजित भएका छन् ।

पाँच मतको पनि हारजित
यसपटकको चुनावमा सबैभन्दा झिनो मतान्तरले हारजित ओखलढुंगामा भएको छ । रास्वपाका विश्वराज पोखरेलले कांग्रेसका कुमार लुइँटेललाई पाँच मतान्तरले हराएका हुन् । पोखरेलले १३ हजार ९५३ र लुइँटेलले १३ हजार ९४८ मत प्राप्त गरे । नेकपाका अम्बिरबाबु गुरुङले ११ हजार २९६ र एमालेकी अस्मिता थापा १० हजार ७२० मत ल्याएर चौथो भइन् ।

निर्वाचन परिचालन समितिभन्दा कम मत 
तनहुँ १ मा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले चुनाव प्रचारका लागि ५०१ सदस्यीय निर्वाचन परिचालन समिति बनाएका थिए । त्यस्तै, बुथ परिचालन समितिमा ६१२ सदस्यीय थियो । तर, जोशीले ११३ मत मात्र पाएका छन् । यहाँ ३८ हजार ४० मतसहित रास्वपाका स्वर्णिम वाग्ले विजयी भएका छन् ।

दुईतिहाइ उम्मेदवारले जोगाएनन् जमानत
प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणामअनुसार २ हजार ८९० उम्मेदवारको जमानत जफत भएको छ । यो कुल उम्मेदवारको ८५ प्रतिशत हो । निर्वाचनमा ३४ हजार ४०५ उम्मेदवारले भाग लिएका थिए । आयोगअनुसार ३५० उम्मेदवारले शून्य मत पाएका छन् । ५१६ जनाले जमानत जोगाएका छन् । प्रत्यक्षतर्फ निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत प्राप्त नगर्ने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । समानुपातिकतर्फ एक सिट प्राप्त नगर्ने दलको धरौटी जफत हुन्छ । समानुपातिकमा भाग लिएका ६३ दलमध्ये ५७ दलको धरौटी जफत भएको छ ।

जसले एक मत पनि पाएनन् 
निर्वाचनमा ३५० उम्मेदवारले एक मत पनि प्राप्त गरेनन् । प्रतिस्पर्धामा शून्य मतको अनौठो दृश्य देखियो । यसमा उम्मेदवारले आफैँले आफैँलाई मत नहालेको वा हाल्न नपाएको हुनसक्ने आयोगका अधिकारी बताउँछन् ।

रास्वपाका १२ उम्मेदवारले ५० हजारभन्दा धेरै मत ल्याएर जिते 
गत बिहीबार भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाका १२ उम्मेदवार ५० हजारभन्दा धेरै मत ल्याएर विजयी भएका छन् । झापाका पाँच निर्वाचन क्षेत्रमध्ये दुईवटामा ५० हजारभन्दा धेरै मत आएको छ । झापा ५ मा बालेन्द्र शाहले ६८ हजार ३४८ र झापा २ इन्दिरा रानामगरले ६० हजार ११० मत ल्याएका हुन् ।

चितवनका तीनवटै क्षेत्रमा रास्वपा उम्मेदवारले ५० हजारभन्दा धेरै मत ल्याएका छन् । चितवन १ मा हरि ढकालले ५८ हजार २०८, चितवन २ मा रवि लामिछानेले ५४ हजार ४०२ र चितवन ३ मा सोविता गौतमले ५९ हजार २७७ मत ल्याएका हुन् ।

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा रास्वपाका तीन उम्मेदवारले ५० हजार मत कटाएका छन् । रुपन्देही १ मा सुनील लम्सालले ५४ हजार ८४५, रुपन्देही २ मा सुलभ खरेलले ५६ हजार ५५० र रुपन्देही ३ मा डा. लेखजंग थापाले ५८ हजार ८१४ मत ल्याएका हुन् ।

त्यस्तै, सुनसरी २ मा लालविक्रम थापाले ५७ हजार ३४८, मोरङ ६ मा रविना आचार्यले ५५ हजार ५१३, काभ्रेपलान्चोक २ मा बदनकुमार भण्डारीले ५३ हजार ३४४ र नवलपरासी पूर्व १ मा राजन गौतमले ५० हजार ९४५ मत ल्याएका छन् ।

गृहजिल्लामै प्रधानमन्त्रीका दाबेदारलाई नै हराएर प्रधानमन्त्री बन्दै बालेन
यसपटकको चुनावमा प्रधानमन्त्रीका दाबेदारले प्रधानमन्त्रीकै दाबेदारलाई हराएका छन् । त्यो पनि उनकै गृह निर्वाचन क्षेत्रमा । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह बालेनले झापा ५ गएर एमाले अध्यक्ष केपी ओलीलाई हराएका हुन् ।

ओली ०७९ को चुनावमा ५२ हजार ३१९ मतसहित निर्वाचित भएका थिए, तर यसपटक बालेनले ४९ हजार ६१४ मतान्तरले हराइदिए । बालेन ६८ हजार ३४८ मतसहित विजयी हुँदा ओलीले १८ हजार ७३४ मत मात्र पाए ।

त्यस्तै, काठमाडौं ४ बाट सर्लाही ४ पुगेका कांग्रेस सभापति थापालाई रास्वपाकै अमरेशकुमार सिंहले १२ हजार ८५७ मतान्तरले पराजित गरेका छन् । अमरेशले ३५ हजार ६८८ मत ल्याएर जित्दा गगनलाई २२ हजार ८३१ मतमै रोकेका हुन् ।

सुझावित समाचार