तनहुँ जिल्ला र नवलपुर जिल्लाले पोखरामा चलिरहेको प्रधानमन्त्री (पिएम) कप गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा जित हात पारेका छन् । गण्डकी प्रदेश क्रिकेट संघको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा तनहुँले पर्वतलाई ९३ रन र दोस्रो खेलमा नवलपुरले बागलुङलाई ९३ रनले पराजित गरेका छन् ।
शनिबार पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको तनहुँले ३९.३ ओभरमा सबै विकेट गुमाएर १४८ रनको लक्ष्य दियो । प्रत्युत्तरमा पर्वत १८.५ ओभरमा अलआउट हुँदा जम्मा ५४ रनमा समेटियो । दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको नवलपुरले ३७.५ ओभरमा सबै विकेट गुमाएर २०३ रनको लक्ष्य थियो ।
जवाफी ब्याटिङका लागि मैदान उत्रेको बागलुङ ३२.५ ओभर अलआउट हुँदै जम्मा १०९ रनमा समेटिन पुगेको थियो । तेस्रो दिनको खेलसँगै लिग चरणका प्रतिस्पर्धा सम्पन्न भएका छन् । लिग चरणका खेल सकिएसँगै सेमिफाइनल पुग्ने चार टोलीको समेत टुंगो लागेको छ । जसअनुसार अंकतालिकामा समूह ‘ए’को शीर्ष स्थानमा रहेको कास्कीले समूह ‘बी’को उपविजेता तनहुँसँग फाइनल प्रवेशका लागि भिड्नेछ । उता समूह ‘बी’को शीर्ष स्थानमा रहेको स्याङ्जाले समूह ‘ए’को नवलपुरसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौंको अपराजित यात्रा कायम
सोनु देवकोटाको अलराउन्ड प्रदर्शनमा प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिताको बागमती प्रदेश छनोट प्रतियोगितामा ललितपुरलाई हराउँदै काठमाडौंले अपराजित यात्रालाई कायम राखेको छ । काठमाडौंले पाँचौँ खेलमा पनि अपराजित यात्रा कायम राख्ने क्रममा शनिबार माथिल्लो मूलपानी मैदानमा ललितपुर ७९ रनले पराजित भएको हो । ललितपुरको अपराजित यात्रामा पूर्णविराम लगाएको काठमाडौं जितका साथ प्रतियोगिताको फाइनलनजिक पुगेको हो । काठमाडौंको जितमा ब्याटिङतर्फ सोनु देवकोटा सर्वाधिक ७२ तथा उत्तम थापामगर ७१ रनमा आउट भए । बलिङतर्फ काठमाडौं सोनु र दयानन्द मण्डलले समान चार विकेट लिए । लगातार पाँच जितसहित १० अंक बनाएको काठमाडौं शीर्ष स्थानमा छ । हारका बाबजुद पनि ललितपुर समान खेलमा आठ अंकका साथ दोस्रो स्थानमा छ ।
आजै भएको अर्को खेलमा पाँचौ खेलमा तेस्रो जित हात पार्ने क्रममा भक्तपुरले अंकविहीन नुवाकोटलाई १६४ रनले पराजित गर्यो । ५ खेलमा ६ अंकका साथ भक्तपुर तेस्रो स्थानमा रहेको छ । ५ खेल खेलिसकेको नुवाकोट अझै अंकविहीन रहेको छ । प्रतियोगितामा बागमती प्रदेशका ६ (काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र नुवाकोट) जिल्ला तथा त्रिभुवन विश्वविद्यालयको टोली सहभागिता छ । टियू क्रिकेट रंगशाला र माथिल्लो तथा तल्लो मूलपानीमा सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगितामा बागमती प्रदेशको प्रतिनिधित्व गर्नेछन् ।