समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे रवि लामिछाने र बालेन शाह छलफलमा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबिच समानुपातिक सांसद चयन र नयाँ सरकार गठनबारे छलफल भएको छ।
हात्तीगौंडास्थित लामिछानेको निवासमा उनीहरूबिच छलफल भएको रास्वपा नेताहरूले बताएका छन्। लामिछाने अस्वस्थ रहेकाले घरमै उनले शीर्ष नेताहरूसँग छलफल गरिरहेको उनका स्वकीय सचिव अविनाश आचार्य बताए। उच्च ज्वरोका कारण लामिछाने घरमै आराम गरिरहेका छन्।
गत साता सम्पन्न निर्वाचनमा रास्वपाले २७५ मध्ये १८२ सिट जितेको छ। निर्वाचन आयोगले आगामी साता निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाएलगत्तै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्दै छ। निर्वाचन आयोगले बिहीबार ३ दिनभित्र समानुपातिक सांसदको सूची बुझाउन दलहरूलाई पत्राचार गरिसकेको छ। रास्वपाले ११० मध्ये ५७ समानुपातिक सांसद जितेको छ। जसअनुसार क्लस्टर मिलाएर दलहरूले समानुपातिक सांसदको सूची बुझाएपछि अयोगले उनीहरूलाई प्रमाणपत्र दिनेछ। त्यसपछि आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउनेछ ।
इरानी नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द गर्ने सरकारको निर्णय
इरानी नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द भएको छ । सुरक्षाको कारण देखाउँदै सरकारले उनीहरूको भिसा बन्द गरेको हो ।
सरकारी र कूटनीतिक राहदानीवाहकबाहेकका इरानी नागरिकले अब विदेशस्थित नेपाली दूतावासबाट भिसा लिए मात्र नेपाल प्रवेश गर्न मिल्ने अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बताए । पछिल्लो समय इरानमा बढेको द्वन्द्वपछि त्यहाँका नागरिक शरण खोज्दै नेपाल आउन सक्ने भएकाले सरकारले अनअराइभल भिसा बन्द गरेको हो ।
रात्रिबसलाई डिजिटल निगरानीको व्यवस्था गर्न सिफारिस
तीन साताअघि धादिङमा भएको बस दुर्घटनासम्बन्धी गठित छानबिन कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रतिवेदन बुझाएको छ।
सहसचिव ऋषिराम तिवारी नेतृत्वको छानबिन कार्यदलले शुक्रबार प्रतिवेदन बुझाउँदै रात्रिकालीन बसलाई डिजिटल निगरानीको व्यवस्था गर्न सिफारिस गरेको छ । कार्यदलले सार्वजनिक सवारीचालकको थकान व्यवस्थापन, रात्रिकालीन बसमा अधिकतम कार्यसमय र अनिवार्य विश्रामको व्यवस्थाका साथै डिजिटल निगरानी प्रविधि लागू गर्न सुझाव दिएको मन्त्रालयले जनाएको छ । प्रतिवेदन ग्रहण गर्दै मन्त्री अर्यालले अध्ययनले औँल्याएका दुर्घटनाका कारण र दिएका सुझावहरूलाई मन्त्रालयले तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले एमाले अध्यक्ष केपी ओलीका पिताको निधन भएकोमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले बुबाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वप्रधानमन्त्री ओलीप्रति समवेदना प्रकट गरेका हुन्।
उनले लेखेका छन्– केही समयअघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ- पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।
पूर्वप्रधानमन्त्री केपी ओलीज्यूलाई पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु।
पिताजीप्रति हार्दिक श्रद्धाञ्जली, वैकुण्ठवास होस्।
इनिसा विककाे न्यायको माग गर्दै उषा बालबाटिकाका विद्यार्थी आन्दोलित
सुर्खेतको वीरेन्द्रनगरस्थित इनिसा विक अध्ययन गर्ने विद्यालय उषा बालबाटिकाका विद्यार्थी न्यायको माग गर्दै आन्दोलित बनेका छन् ।
उक्त विद्यालयमा कक्षा ११ मा अध्ययनरत १६ वर्षीया इनिसाको बलात्कारपछि हत्या भएको भनिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कडा कारबाहीको माग गर्दै विद्यार्थीले जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेटमा शुक्रबार धर्ना दिएका छन् ।
ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन
राष्ट्रिय मानव अधिकार आयोगले ग्याससहित पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सरकारलाई आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएको छ।
आयोगले कृत्रिम अभाव सिर्जना गर्ने, अनावश्यक भण्डारण गर्ने र उपभोक्ताको अधिकार उल्लंघन गर्नेहरूलाई कानुनी कारबाही गर्न पनि सरकारलाई आग्रह गरेको छ।
अनुगमनका क्रममा नेपाल पेट्रोलियम पदार्थ आयातमा निर्भर भए पनि आवश्यक कच्चा पदार्थको आपूर्ति नियमित रहेको पाइएको आयोगले जनाएको छ। तर, केही ग्यास कम्पनीहरूको ढुवानी व्यवस्थापन र सञ्चारमाध्यममा फैलिएको अभावको सन्देशका कारण उपभोक्ताले अत्यधिक भण्डारण गर्ने प्रवृत्ति बढेको र कतिपय व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ।
राष्ट्र बैंकद्वारा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन
राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यवसायलाई थप सहजीकरण गरेको छ । संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले स्थायी चालू पुँजी आवश्यकताका लागि आवधिक प्रकृतिको कर्जा दिनुपर्नेछ ।
यस्तो कर्जाको भुक्तानी अवधि भने बैंकलाई निर्धारण गर्न पाउने सुविधा दिइएको छ । यसअघि स्थायी चालू पुँजीका लागि दिइने कर्जाको अवधि तीन वर्षदेखि १० वर्ष अनिवार्य गरिएको थियो । अब भने समयावधि तोकिएको छैन ।
संसदीय दलको नेता चुन्न रास्वपाले विधान संशोधन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चुन्नका लागि विधान संशोधन गर्ने भएको छ। रास्वपाको विधानको धारा ६६ मा भएको संसदीय दलको नेता चयन गर्ने व्यवस्थालाई संशोधन गर्न लागेको हो ।
बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यावहारिक नभएको भन्दै विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ । विधानलाई समयानुकूल बनाउन गर्नुपर्ने सबै संशोधन गर्ने रास्वपाको दाबी छ ।
निगमले भन्यो– भारतबाट ग्यास आपूर्तिमा समस्या छैन, अनावश्यक भण्डारण नगर्नू
नेपाल आयल निगमले भारतबाट नेपालमा एलपी ग्यास आपूर्तिमा कुनै समस्या नभएको स्पष्ट पारेको छ। निगमले हालसम्म मागअनुसार ग्यास आइरहेको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरेको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बजारमा देखिएको ग्यास अभाव वास्तविक नभई हल्लाका कारण सिर्जित भएको बताए। उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास सञ्चित गर्न थालेपछि बजारमा कृत्रिम अभावजस्तो अवस्था देखिएको उनको भनाइ छ।
चुनावी खर्चपछि बाँकी रकमबाट सेवा केन्द्र सञ्चालन गर्ने महावीर पुनको योजना
म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले चुनावी खर्चको विवरण सार्वजनिक गर्दै बाँकी रकम जनसेवामा प्रयोग गर्ने योजना बताएका छन्।
उनका अनुसार २७ जनाबाट जम्मा ५६ लाख ३७ हजार ८९३ रुपैयाँ संकलन भएको थियो। प्रचारप्रसारमा २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएपछि २७ लाख ६९ हजार २५ रुपैयाँ बचत भएको छ।