कालो कोट लगाएर अदालतमा बहस गर्ने कानुन व्यवसायी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनबाट सांसद बनेका छन् । अब उनीहरूले मुद्दाको वादीप्रतिवादीका तर्फबाट होइन आफू निर्वाचित दलका तर्फबाट सदनमा भाग लिनेछन् । र, कानुन निर्माणदेखि सरकारलाई रुलिङ गराउने भूमिका रहनेछन् ।
यसपटक अधिवक्ता यज्ञमणि न्यौपाने, सुलभ खरेल, सस्मित पोखरेल, मनीष खनाल, गोविन्द पन्थी संसद् पुगेका छन् । अधिवक्ता सोविता गौतम र सुहाङ नेम्वाङ दोहोरिएर सांसद बनेका छन् । त्यस्तै, कानुन पृष्ठभूमिका गणेश धिमाल, ठाकुरसिंह थारू, मोहनलाल आचार्य र मधुकुमार चौलागाईं पनि सांसदमा निर्वाचित भएका छन् ।
कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनका महासचिव केदार कोइरालाले शैक्षिक तथा पेसागत पृष्ठभूमि खुलेकाहरू पनि सांसद बनेको, तर सबैको विवरण प्रस्ट रूपमा प्राप्त नभएको बताए । ‘संसद्मा पहिला पनि अधिवक्ताहरू हुनुहुन्थ्यो, तर यसपटक उल्लेख्य संख्यामा हुनुहुन्छ । युवाहरू पनि आउनुभएको छ,’ उनले भने, ‘उहाँहरूले विधायिकी काममा सहयोग पुर्याउनुहुनेछ । प्रतिनिधिसभा सदस्यको मुख्य काम नै कानुन निर्माण हो । व्यवस्थापिका कार्यपालिकाभन्दा फरक संस्था हो, जसले चेक एन्ड ब्यालेन्सको भूमिका खेल्छ । कानुन व्यवसायीहरूले संविधानको पालना र कानुनको शासन मजबुत बनाउन भूमिका खेल्ने अपेक्षा गरेका छौँ ।’
हुन त यसअघि पनि कानुन व्यवसायी पृष्ठभूमिका व्यक्ति व्यवस्थापिकाका उच्च पदसम्म पुगिसकेका छन् । पूर्वसभामुखहरू दमननाथ ढुंगाना, सुवास नेम्वाङ र तारानाथ रानाभाट उदाहरण हुन् ।
अधिवक्ता यज्ञमणि न्यौपाने मोरङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले श्रम संस्कृति पार्टीकी शान्ति पाख्रिन लामालाई करिब १० हजार मतले पराजित गरे । न्यौपानेले कानुन विषयसँगै त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी यसअघि रास्वपामा अनुशासन आयोग सदस्य थिए । ‘पार्टीभित्र सुशासन कायम राख्न काम गरेँ,’ न्यौपानेले भने, ‘प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेर निर्वाचित भएको छु ।’
राष्ट्रिय महत्वका मुद्दामा सर्वोच्च अदालतमा बहस गरेका युवा अधिवक्ता सुलभ खरेल पनि रुपन्देही २ बाट निर्वाचित भएका छन् । २८ वर्षीय खरेलले एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पराजित गरेका हुन् । खरेलले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका हुन् भने स्नातकोत्तर अध्ययन अमेरिकाबाट पूरा गरेका छन् । खरेलले कानुनी राज्य सुदृढ गर्ने र भ्रष्टाचार नियन्त्रणमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘यो लाभको पद होइन, सार्वजनिक सेवाको पद हो,’ उनले भने, ‘कानुनी राज्य बलियो बनाउन संस्थागत सुधार आवश्यक छ ।’
चितवन ३ बाट निर्वाचित सोविता गौतम भने दोस्रोपटक सदनमा पुगेकी हुन् । ०७९ को निर्वाचनमा काठमाडौं २ बाट विजयी उनी यसपटक चितवन ३ बाट निर्वाचित भइन् । ३० वर्षीया गौतमले नेसनल कलेजबाट बिएएलएलबी अध्ययन पूरा गरेकी हुन् । पत्रकारिता र कानुन दुवै क्षेत्रमा अनुभव भएकी उनी अघिल्लो संसद्मा कानुन, न्याय तथा मानव अधिकार समितिमा थिइन् ।
काठमाडौं ५ बाट सस्मित पोखरेल विजयी भएका छन् । उनले अमेरिकामा प्रारम्भिक शिक्षा हासिल गरेका छन् भने काठमाडौं स्कुल अफ लबाट कानुनमा स्नातक गरेका हुन् ।
नवलपरासी (पूर्व) २ बाट २६ वर्षीय मनीष खनाल निर्वाचित भएका छन् । नेपाल ल क्याम्पसबाट स्नातक गरेका उनले ४१ हजारभन्दा बढी मत ल्याए । उनले ०८२ जेठमा मात्र अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेका थिए ।
गुल्मी २ बाट विजयी गोविन्द पन्थी पूर्वप्रहरी अधिकृतसमेत हुन् । ‘कतिपय कानुन एक–अर्कासँग बाझिएका छन्, केही अव्यावहारिक पनि छन्,’ पन्थीले भने, ‘त्यसमा संशोधन आवश्यक छ । कानुन प्रक्रियामुखी होइन, व्यावहारिक हुनुपर्छ ।’
कानुन पृष्ठभूमिका गणेश धिमाल (बारा १), ठाकुरसिंह थारू (बर्दिया १), मोहनलाल आचार्य (कपिलवस्तु १) र मधुकुमार चौलागाईं (काभ्रेपलाञ्चोक १) पनि निर्वाचित भएका छन् ।