नयाँ सरकारसँग दिल्लीको ‘अद्वितीय र बहुआयामिक साझेदारी’को अपेक्षा

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

भारतले प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त नयाँ जनादेशसहितको सरकारसँग अद्वितीय र बहुआयामिक साझेदारीको अपेक्षा गरेको जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनपछि सबैभन्दा ठुलो दल रास्वपाका अध्यक्ष रवि लामिछाने र भावी  प्रधानमन्त्री बालेन शाहसँगको टेलिफोन संवाद सन्दर्भ उल्लेख गर्दै साझेदारीमा जोड दिएका छन् । नेपालमा नयाँ सरकारको गठनसँगै दुई देशको सम्बन्धमा न्यानोपन आउने नयाँ दिल्लीस्थित कूटनीतिक मामिला जानकारहरूको टिप्पणी छ । 

‘नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात् हामीले त्यसको स्वागत गरेका छौँ,’ भारतीय विदेश मन्त्रालयद्वारा नयाँदिल्लीको शास्त्री भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जैसवालले भने, ‘भारत र नेपालबिच एक अद्वितीय र बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको छ र आगामी दिन तथा वर्षहरूमा यो गतिशीलता अझ सुदृढ र प्रगाढ हुँदै जाने हामीले अपेक्षा गरेका छौँ ।’ 

प्रधानमन्त्री मोदीले रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाहसँगको संवादमा निर्वाचनबाट प्राप्त जित र रास्वपाले हासिल गरेको सफलताका लागि बधाई दिएको जैसवालले दोहोर्याएका छन् । ‘प्रधानमन्त्रीज्यूले उहाँहरूलाई एक घनिष्ठ मित्र र छिमेकीका रूपमा नेपालका जनता र नयाँ सरकारसँग मिलेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न भारत सदैव प्रतिबद्ध रहेको कुरा बताउनुभयो,’ जैसवालले भने । 

भारतीय पूर्वविदेशसचिव तथा राज्यसभा सांसद हर्षबर्धन शृंगलाले  नेपालले कुशासन र भ्रष्टाचारविरुद्ध मतदान गरेको टिप्पणी गरेका छन् । ‘नेपाली जनताको परिवर्तनको चाहनालाई मित्रका रूपमा भारतले सम्मान गर्नुपर्छ । किनकि लोकतन्त्रमा जनताको इच्छा महŒवपूर्ण हुन्छ,’ दार्जिलिङका स्थायी निवासी नेपालीभाषी कूटनीतिज्ञ तथा सांसद शृंगलाले भने, ‘नेपाली जनताको जनइच्छामुताबिक सुशासनका सन्दर्भमा भारतले नेपाललाई सक्नेजति मद्दत गर्नुपर्छ । नयाँ सरकारको प्रयासलाई भारतले सहयोग गर्नुपर्छ ।’

भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका अध्यक्ष आलोक जोशीले नेपाल र बंगलादेशको अवस्थाले लोकतन्त्रका लागि आशाको नवीकरण गरेको बताए । उनले नेपाल र बंगलादेशको पछिल्लो निर्वाचनको सन्दर्भ उल्लेख गर्दै दुवै देशमा एउटै दलले लगभग दुईतिहाइ बहुमत प्राप्त गरेकोलाई सुखद सुरुवातका रुपमा अथ्र्याए । ‘नेपालमा लोकतन्त्रप्रति आशाको जनमत प्रकट भएको छ,’ जोशीले भने । 

टाइम्स अफ इन्डियाका पत्रकार एवं लेखक रुद्रोणिल घोषले नयाँदिल्लीमा आम आदमी पार्टीको उदय र नेपालमा रास्वपाको उदयको प्रकृति उस्तै रहेको उनको विश्लेषण छ । ‘दिल्लीमा नेपाल चर्चा हुँदा केन्द्रमा बालेन छन् । तर, बालेनबारे धेरैलाई जानकारी छैन, उनी मधेशी मूलका व्यक्ति रहेको, बेंग्लोरमा अध्ययन गरेको, र्यापर रहेकोजस्ता सतही चर्चा भइरहेको छ,’ घोषले भने, ‘बालेनबारे यथोचित जानकारी यहाँ छैन, तर उनका बारेमा सुपरफिसियल सूचना प्रवाह भइरहेको छ ।’

जवाहर नेहरू विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डा. संगीता थपलियालले नेपालको नयाँ जनमतलाई भारत सरकारले हार्दिकतापूर्वक स्वागत गर्नुपर्ने र सहयोग गर्नुपर्ने बताइन् । ‘परिवर्तित परिवेशमा भारतले नेपालसँग शान्त संवाद गर्नुपर्छ, नेपालको प्रजातान्त्रिक पद्धतिलाई सहयोग र समर्थन गर्नुपर्छ’, थपलियाले भनिन्, ‘भारतले विकास तथा कनेक्टिभिटीमा नेपालको अपेक्षाअनुसार सहयोग गर्नुपर्छ ।’ 

नेपाल–भारत सम्बन्धका जानकार अशोक मेहतो नयाँदिल्लीमा अन्य नेताहरूजस्तो बालेन परिचित नभएको, तर भारतले उनीसँग सहकार्य गर्नुपर्ने बताए । ‘बालेन शाह भारतका लागि अन्य शीर्ष नेताजस्तो परिचित होइनन् । तर, दुईतिहाइको जनमतका आधारमा बालेन प्रधानमन्त्री बन्दै छन्, भारतले उनीसँग संवाद गर्नैपर्छ र नयाँ परिस्थितिमा दुई देशका साझा मुद्दामा सहकार्य गर्नुपर्छ,’ मेहताले भने ।  

सुझावित समाचार