उड्डयनविज्ञ नै फेक रेस्क्युका ‘मास्टर माइन्ड’

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण
  • उड्डयनविज्ञ जो अभियुक्तको प्रमाण नष्ट मात्रै गर्दैनथे, फेक रेस्क्यु गर्ने नयाँ उपायसमेत सिकाउँथे 

नेपाल घुम्न आएका विदेशी पर्यटकको उद्धारपछि उपचार गरेको भन्दै नक्कली कागजात बनाई बिमा रकम ठगी गर्ने घटनामा संलग्नविरुद्धको प्रमाण नै नष्ट हुने अवस्था सिर्जना भएपछि प्रहरीले हवाईविज्ञ राजेन्द्रबहादुर सिंहलाई पक्राउ गरेको खुलेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ५६ वर्षीय सिंहलाई गत १३ फागुनमै पक्राउ गरेको थियो । उनले घटनामा पक्राउ परेकाहरूविरुद्ध रेस्क्युमा संलग्न हेलिकोप्टर कम्पनी, विमानस्थलस्थित हवाई अड्डा मात्र नभई, नागरिक उड्डयन प्राधिकरणमा रहेको तथ्यांकसमेत नष्ट गर्न भूमिका खेलेका थिए । उनकै निर्देशनपछि प्राधिकरणले सिआइबीलाई घटनामा संलग्नविरुद्धको तथ्यांक उपलब्ध गराउन इन्कार गरेको थियो । 

सिआइबी प्रमुख एआइजी डा. मनोज केसीले घटनामा संलग्न अभियुक्तविरुद्धको प्रमाण नष्ट गर्ने तरिका सिकाएको खुलेपछि सिंहलाई पक्राउ गरिएको बताए । उनले भने, ‘सिंह आफैँ फेक रेस्क्युमा संलग्न भएको होइन, तर फेक रेस्क्युमा संलग्नविरुद्धको प्रमाण नष्ट गर्ने भूमिकामा संलग्न रहेको खुलेको छ । यस सम्बन्धमा उनले गरेका संवाद, भ्वाइस मेसेज, मेसेजलगायत तथ्य फेला परेका छन् । सोही मेसेजको प्रभावस्वरूप कतिपय ठाउँबाट अभियुक्तविरुद्धको प्रमाण संकलनमा केही असहजता भएको सत्य हो ।’

नेपाल हवाई सेवा सञ्चालक संघको पूर्वउपाध्यक्षसमेत रहेका सिंहले विगतमा विभिन्न एयरलाइन्समा व्यवस्थापक भएर काम गरेका थिए । त्यति मात्र होइन हवाई उद्योगलाई व्यवस्थित गर्न केपी ओली नेतृत्वको सरकारले २ कात्तिक ०८१ मा वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठन गरेको उच्चस्तरीय अध्ययन तथा सुझाव समितिमा सिंह हवाईविज्ञका रूपमा नियुक्त भएका थिए । यी कारणले प्राधिकरणमा उनको प्रभाव बलियो रहेको र सोही प्रभाव दुरुपयोग गरेर अभियुक्तविरुद्धको प्रमाण नष्ट गर्ने भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानमा संलग्न सिआइबीका उच्च अधिकृतले भने, ‘अनुसन्धानका क्रममा पक्राउ परेकाको आवश्यक प्रमाण दिन हामीले प्राधिकरणलाई भन्यौँ । तर, उहाँहरूले उपलब्ध गराउन चाहनुभएन । पछि हामीले अरू नै उपाय प्रयोग गरेर प्रमाण संकलन गर्यौँ, त्यसपछि पो खुल्यो प्रमाण दिन इन्कार गर्नुको कारण । यिनको उड्डयन क्षेत्रमा राम्रो प्रभाव रहेछ । सरकारबाट गठित समितिमा समेत यिनलाई विज्ञका रूपमा नियुक्त गरिने रहेछ । त्यसैलाई भजाएर प्राधिकरणको कर्मचारीलाई प्रभावमा पार्ने रहेछन् । सोही कारण प्राधिकरणले प्रमाण दिन इन्कार गरेको रहेछ । यसको इभिडेन्ससमेत फेला परेका छन् ।’

तर, प्राधिकरणले भने सिआइबीले मागेअनुसारको प्रमाण लिखित रूपमै पेस भएको दाबी गरेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले सिआइबीबाट माग भएका विवरण लिखित रूपमा उपलब्ध गराइएको बताए । ‘फेक रेस्क्यु अनुसन्धानका क्रममा सिआइबीलाई आवश्यक सूचना नदिएको सत्य होइन । हामीले लिखित रूपमै उहाँहरूले मागेको विवरण उपलब्ध गराएका छौँ,’ उनले भने । 

सिआइबीका अनुसार अन्य हेलिकोप्टर कम्पनीलाई फेक रेस्क्यु गर्ने तरिका सिकाउने धन्दामा समेत सिंह संलग्न छन् । विशेषगरी फेक रेस्क्युमा संलग्न माउन्टेन रेस्क्यु सर्भिस प्रालिका मालिक जयराम रिमाल र म्यानेजर विवेक पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका मालिक रवीन्द्र अधिकारी र म्यानेजर विवेकराज थपलिया, एभरेस्ट एक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका मालिकद्वय मुक्ति पाण्डे र सुभाष केसी पक्राउ परेपछि सिंह सक्रिय भएको अनुसन्धानबाट खुलेको छ । पुरानो तरिकाले प्रयोग गर्दा पक्राउ परिने भएपछि उनले अन्य हेलिकोप्टर कम्पनीलाई फेक रेस्क्युको नयाँ तरिका सिकाउने गरेको सिआइबीको दाबी छ । 

सिआइबी प्रमुख एआइजी डा. केसीले भने, ‘पक्राउ परेकाहरूविरुद्धको प्रमाण नष्ट गर्ने तरिका सिकाउने मात्रै होइन, नयाँ तरिका अपनाएर कसरी फेक रेस्क्यु गर्न सकिन्छ भनेर उनले अन्य हेलिकोप्टर कम्पनीलाई समेत सिकाउने गरेका रहेछन् । यसको पनि प्रमाण फेला परेका छन्, भेरिफाई गर्ने काम भइरहेको छ ।’

सिआइबीले घटनामा संलग्न श्रृद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक ४४ वर्षीय डा. गीर्वाणराज तिमिल्सिनालाई पनि पक्राउ गरेको छ । सिआइबीका अनुसार पक्राउ परेकाहरूले सन् २०२२ यता मात्रै नक्कली कागजातका आधारमा झन्डै दुई अर्ब ८५ करोड ६२ लाख ५० हजार १६५ रुपैयाँ बिमा दाबी गरेको अनुसन्धानबाट खुलेको छ । जसमा माउन्टेन रेस्क्युले एक हजार २४८ विदेशी पर्यटकको रेस्क्यु गरेको तथ्यांक छ । जसमध्ये १७१ पर्यटकको रेस्क्यु नक्कली रहेको देखिन्छ ।

सोही आधारमा कम्पनीले एक करोड तीन लाख १० हजार २७६ हजार अमेरिकी डलर अर्थात् एक अर्ब ४९ करोड ४९ लाख ९० हजार २० रुपैयाँ बिमाबापतको रकम इन्स्योरेन्स कम्पनीमा दाबी गरेको थिए ।  सोही अवधिमा अर्को रेस्क्यु कम्पनी नेपाल चार्टरले ४७१ पर्यटकको रेस्क्यु गरेको थियो । जसमध्ये ७५ जनाको रेस्क्यु शंकास्पद देखिएको छ ।

जसबापत उसले बिमा कम्पनीमा ८२ लाख ३४ हजार ८२ अमेरिकी डलर अर्थात् एक अर्ब १९ करोड ३९ लाख ४१ हजार ८९० रुपैयाँ रकम दाबी गरेको थियो । त्यस्तै, एभरेस्ट एक्सपेरियन्सले त्यस अवधिमा ६०१ विदेशी पर्यटकको रेस्क्यु गरेका थिए । त्यसमध्ये ७१ जनाको रेस्क्यु शंकास्पद देखिएको छ । बिमाबापत उसले ११ लाख ५३ हजार ९१९ अमेरिकी डलर अर्थात् १६ करोड ७३ लाख १८ हजार २५५ रुपैयाँ रकम माग गरेको छ । 

ट्रेकिङ एजेन्सी पनि संलग्न 
नेपाल घुम्न आएका विदेशी पर्यटकको उद्धारपछि उपचार गरेको भन्दै नक्कली कागजात बनाई बिमा रकम ठगी गर्ने धन्दामा ट्रेकिङ एजेन्सी पनि संलग्न रहेको खुलेको छ । घटनामा प्यानरोमा हिमालय ट्रेकिङ एन्ड एक्स्पिडिसनका सञ्चालक पासाङ शेर्पा पक्राउ परेपछि यो तथ्य खुलेको हो । उनलाई सिआइबीले बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । उनीविरुद्ध दुई विदेशी नागरिकले सिआइबीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई सिआइबीले पक्राउ गरेको हो ।

सिआइबीका अनुसार सन् २०२५ मा सगरमाथा बेसक्याम्प पुगेका दुई विदेशी पर्यटकलाई प्यानरोमाको गाइडले जबर्जस्ती हेलिकोप्टर चढाई काठमाडौं उतारेका थिए । त्यसपछि सिधै अस्पताल लगेर भर्ना गरिएको थियो । उपचार गरिएको भन्दै उनीहरूको नाममा बिल मात्रै होइन, डिस्चार्ज गरिएको कागजातसमेत बनाइएको थियो । जबकि उद्धार गरिएको भनिएका पर्यटकलाई केही भएकै थिएन । पछि सोही बिल बिमा कम्पनीमा पेस गरी उनीहरूले रकम बुझेका थिए । सिआइबीका प्रमुख एआइजी डा. मनोज केसीले घटनाको मुख्य योजनाकार पासाङ रहेको बताए । 

‘गत वर्ष दुई विदेशी नागरिकलाई यिनीहरूले सगरमाथा बेसक्याम्प लगेका रहेछन् । सोही क्रममा यिनीहरूले पर्यटकलाई जबर्जस्ती हेलिकोप्टर चढाएर काठमाडौं उतारेछन् र अस्पताल भर्ना गरेछन् । उनीहरूकै नाममा बिल मात्र होइन, डिस्चार्ज रिपोर्टसमेत बनाएछन् । सोही कागजात पेस गरेर भुक्तानी लिएछन् । पीडितले हामीकहाँ अनलाइनमार्फत उजुरी दिए । घटनाको अनुसन्धानपछि पासाङलाई पक्राउ गरिएको छ ।’

सुझावित समाचार