सोम शर्मा निकै गरिब थिए । उनी हरेक दिन टाढाटाढासम्म पुगेर भिक्षा मागेर निर्वाह चलाउँथे । भिक्षामा प्राय: सातु पाउँथे । उब्रिएको सातु अलिअलि गर्दै जोगाउँथे । उनले जोगाएको सातु एउटा माटाको हाँडीमा राखेर ओछ्यानको ठिक माथितिर झुन्ड्याएका थिए । सातुले हाँडी भरिँदै जाँदा उनी निकै खुसी थिए । एक दिन ओछ्यानमा पल्टिएर मनमनै सोच्न थाले– सातुले यो हाँडी भरिन लाग्यो । यसलाई जोगाएर राख्नुपर्यो । हिउँदमा अनिकाल पर्नेछ । त्यतिखेर यसलाई महँगो मूल्यमा बेच्नेछु । त्यसबाट आएको रकमले एउटा बोका र एउटा बाख्रा किन्नेछु । बाख्राबाट पाठापाठी जन्मेर खोर भरिनेछन् । तिनलाई बेचेर एउटा गाई किन्नेछु । गाईले धेरै दुध दिनेछ । दुध बेचेको पैसाले म एउटा भैँसी किन्नेछु ।
गाई र भैँसीको दुधबाट आएको रकमले एउटा घर बनाउनेछु । धेरै सुन, हिरा र मोती किन्नेछु । सम्पत्तिको मालिक भएपछि मलाई आफ्नी छोरी दिन घरअघि लामो लाम लाग्नेछ । म तीमध्ये सबैभन्दा सुन्दर कन्या छानेर बिहे गर्नेछु । बुढीबाट एउटा सुन्दर छोरो जन्मिनेछ । छोराको नाम सोम शर्मा राख्नेछु । म पर्दाभित्र लुकेर छोराको बालक्रीडा हेर्नेछु । भर्खरै हिँड्न सिक्दै गरेको छोरो राम्ररी हिँड्न नजानेर लड्नेछ । त्यसपछि ‘जाबो एउटा छोरो पनि सम्हाल्न सक्दिनस्’ भनेर बुढीलाई जोडले कसेर लात हान्नेछु । उसले लात हानेको अभिनय गर्दै ओछ्यानबाट जोडले खुट्टा हावामा उठाउँदा सातु राखेको हाँडीमा लाग्यो र हाँडी चकनाचुर भई फुटेर सातुजति जम्मै उसको शिरदेखि पाउसम्म पोखियो । ऊ सातुले सेताम्ये भयो ।