अर्थमन्त्री रामेश्वर खनालले पदको हैसियतमा प्राप्त कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन्।
मंगलबार उनले उक्त राहदानीको प्रयोजन समाप्त भएको जनाउँदै प्रशासन महाशाखामार्फत फिर्ता प्रक्रिया अघि बढाएका हुन्। यस सम्बन्धमा उनले पठाएको पत्रमा अर्थमन्त्रीको हैसियतमा प्रयोग गर्न दिइएको कूटनीतिक राहदानी अब आवश्यक नरहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा बुझाइदिन अनुरोध गरिएको छ।
पत्रमा खनालले आफूलाई उपलब्ध गराइएको कूटनीतिक राहदानी अब प्रयोगमा नआउने भएकाले सम्बन्धित निकायमा फिर्ता गर्न प्रशासन महाशाखालाई निर्देशन दिएका छन्।
नेपालमा उच्च सरकारी पदाधिकारी, कूटनीतिज्ञ तथा विशेष सरकारी कामका लागि विदेश जाने व्यक्तिहरूलाई कूटनीतिक राहदानी उपलब्ध गराउने व्यवस्था छ। यसको प्रयोग सम्बन्धित पद वा जिम्मेवारीसँग जोडिएको हुन्छ।
