काठमाडौं उपत्यकामा करेन्ट मार्टको दोस्रो शाखा सञ्चालनमा ल्याइएको छ । हट एन्ड स्पाइसी नुडल्स सेगमेन्टअन्तर्गतको करेन्ट नुडल्स उत्पादक संस्था यसोदा फुड्सले कपनस्थित (रिलायन्स कलेजनजिक) नयाँ शाखाको औपचारिक सुरुवात गरेको हो । कपनस्थित यस करेन्ट मार्टको उद्घाटन यसोदा फुड्सका ग्लोबल एक्जुकेटिभ डाइरेक्टर जिपी शाह र डाइरेक्टर प्रकाश पौडेलले संयुक्त रूपमा गरेका हुन् । कम्पनीले यसअघि बानेश्वरस्थित कात्यानी चोकमा पहिलो उपत्यका आउटलेट सञ्चालनमा ल्याएको थियो ।
नयाँ शाखा सुरुवातको अवसर पारेर ग्राहकलाई करेन्ट मार्टमा उपलब्ध सम्पूर्ण उत्पादनको खरिदमा १० प्रतिशत विशेष छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस शाखमा उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादन एकै छानामुनि प्राप्त गर्न सक्नेछन् । करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिजबल्स, स्टिक्स तथा पोटाटो क्र्याकर्स उपलब्ध हुने बताइएको छ ।
त्यसैगरी, चिया पारखीका लागि करेन्ट गोल्ड मसला र सिटिसी चिया तथा विभिन्न प्रकारका मसला (जिरा पाउडर, धनियाँ पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका एक्जुकेटिभ डाइरेक्टर शाहले भने, ‘कपन र यसआसपासका उपभोक्ताले अब आफ्नै टोलबाट हाम्रा ताजा र गुणस्तरीय उत्पादन सहज रूपमा खरिद गर्न सक्नेछन् ।’