काठमाडौं उपत्यकाका १५ वटा सिटमा कांग्रेस, एमाले र नेकपा शून्य बनेका छन् । ०७० यता भएका चुनावमा उपत्यकाका क्षेत्र जित्दै आएका कांग्रेस र एमालेले यसपटक लज्जास्पद हार व्यहोरेका छन् ।कांग्रेस, एमाले र नेमकिपाको गढ मानिने उपत्यकाका तीन जिल्लाका १५ वटै निर्वाचन क्षेत्रबाट साढे तीन वर्षअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको छ ।
यसअघि ०७९ को चुनावमा उपत्यकाबाट रास्वपाका पाँच उम्मेदवारले जितेका थिए । अन्य १० वटा क्षेत्रमध्ये नेमकिपाले एक, एमालेले दुई र बाँकी कांग्रेसले जितेको थियो । तर, यसपटक भने भारी मन्तान्तरसहित उपत्यकाका सबै क्षेत्र रास्वपाले खोसेको छ । संघीय राजधानीमै विगतका शीर्ष दलहरू शून्यताको स्थितिमा पुगेपछि उनीहरूको राजनीतिक भविष्य नै अन्योल देखिएको छ ।
राजनीतिक विश्लेषक राधेश्याम अधिकारीले यसपटकको चुनावी परिमाणलाई सुनामीका रूपमा लिन सकिने बताए । ‘यसलाई सामान्य निर्वाचन भन्न मिल्दैन, यो सुनामी नै हो, सामान्य अवस्थामा नभएको असाधारण चुनावले नेमकिपाले हालसम्म नहारेको भक्तपुर १ पनि खोसिएको छ,’ उनले भने, ‘यो चुनावको परिणामबारे राजनीतिक दल र विज्ञहरू फेल खाए । जनताको भावना तथा आशा दलले बुझ्न नसकेको कुरा यहीँबाट प्रस्ट हुन्छ, किनकि यस्तो परिणाम आउला भनेर कसैले पनि सोच्न सकेका थिएनन् ।’
०६४ मा भएको निर्वाचनमा काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह र भक्तपुर १ बाट नेमकिपाका नारायणमान बिजुक्छे निर्वाचित भएका थिए । अन्य क्षेत्रमा माओवादीले जितेको थियो । तत्कालीन समयमा माओवादीको लहर नै चलेका वेलासमेत एक–एक सिट जोगाएका कांग्रेस, नेमकिपाले यसपटक भने नराम्रोसँग पराजित भए ।
०७० मा काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह १५ हजार १३८ मतसहित विजयी भएका थिए । काठमाडौं २, ३ र ७ बाट एमालेका क्रमशः माधवकुमार नेपाल २१ हजार ६४८, रामेश्वर फुयाँल १३ हजार १०४ र रामवीर मानन्धर १३ हजार २९८ मतसहित विजयी भएका थिए । काठमाडौं ४, ५, ६, ८, ९ र १० बाट कांग्रेसका क्रमशः गगन थापा २२ हजार ३३६, नरहरि आचार्य १३ हजार ६६४, भीमसेनदास प्रधान १४ हजार १५१, नवीन्द्रराज जोशी १३ हजार ७७४, ध्यानगोविन्द रञ्जित १४ हजार ४८३ र राजेन्द्रकुमार केसी २० हजार ३९२ मतसहित विजयी भएका थिए ।
भक्तपुर १ बाट नेमकिपाका नारायणमान बिजुक्छे २० हजार ४४६ मत र भक्तपुर २ बाट कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल २१ हजार १२१ मतसहित विजयी भएका थिए । तीन क्षेत्र रहेको ललितपुरमा कांग्रेसले क्लिन स्विप गरेको थियो । १ बाट उदयशमशेर राणा १८ हजार ५६०, २ बाट चन्द्र महर्जन २३ हजार २३९ र ३ बाट मदनबहादुर अमात्य २३ हजार ५६६ मतसहित विजयी भएका थिए ।
कांग्रेस र एमालेले ०७४ को निर्वाचनमा काठमाडौं उपत्यकाका धेरैजसो निर्वाचन क्षेत्रमा जितेका थिए । उपत्यकाका १५ सिटमध्ये एमालेले नौ, कांग्रेसले चार, माओवादी र नेमकिपाले एक–एक सिट जितेका थिए । ०७९ को निर्वाचनमा काठमाडौंबाट पाँच, भक्तपुरबाट एक सिट र ललितपुरबाट एक गरी कांग्रेसले सात सिट जितेको थियो । रास्वपाले काठमाडौंमा चार र ललितपुरमा एक गरी तीन, एमालेले काठमाडौंबाट एक र ललितपुरबाट एक गरी दुई सिट जित हात पारेका थिए ।
यसपटकको निर्वाचनमा रास्वपाबाट काठमाडौं १ मा रञ्जु दर्शना, २ मा सुनिल केसी, ३ मा राजुनाथ पाण्डे, ४ मा पुकार बम, ५ मा सस्मित पोखरेल, ६ मा शिशिर खनाल, ७ मा गणेश पराजुली, ८ मा विराजभक्त श्रेष्ठ, ९ मा डिपी अर्याल र १० मा प्रदीप विष्ट निर्वाचित भएका छन् । खनाल, पराजुली र श्रेष्ठ ०७९ मा पनि सांसद बनेका थिए । त्यस्तै, ललितपुर १ मा बुद्धरत्न महर्जन, २ मा जगदीश खरेल र ३ मा तोसिमा कार्की निर्वाचित भएका छन् । कार्की यसअघिको चुनावमा पनि सोही क्षेत्रबाट निर्वाचित भएकी थिइन् । ०६४ देखि नै जोगिँदै आएको नेमकिपाको गढ मानिएको भक्तपुर १ मा पनि रुकेश रञ्जित विजयी भए । भक्तपुर मा २ पनि रास्वपाका राजीव खत्री फराकिलो मतान्तरले विजयी भइसकेका छन् ।
०७९ को चुनावमा काठमाडौंका १० मध्ये १, ३, ४, ५ र १० मा कांग्रेस र रास्वपा २, ६, ७ र ८ मा विजयी भएको थियो । ९ मा एमालेले जितेको थियो । ललितपुर १ मा कांग्रेस, २ मा एमाले र ३ मा रास्वपा विजयी भएका थिए । भक्तपुर १ मा नेमकिपाले जित्दा २ मा कांग्रेस विजयी भएको थियो । तर, यसपटक भने उपत्यकाका सबै क्षेत्र रास्वपाकै पोल्टामा परेका छन् ।