कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुनर्वास महोत्सव सुरु भएको छ। डेढ दशकपछि ६५ बिघा क्षेत्रमा फैलिएको आइबिआरडीमा सोमबारदेखि दोस्रो पुनर्वास महोत्सव सुरु भएको हो।
पुनर्वास उद्योग वाणिज्य संघको आयोजनामा ‘हाम्रो पुनर्वास राम्रो पुनर्वास’ मूल नारासहित सुरु भएको महोत्सवको सुदूरपश्चिम प्रदेश सरकारका भूमि, व्यवस्था कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा(पातल)ले उद्घाटन गरेका हुन्।
महोत्सव उद्घाटन गर्दै मन्त्री थापाले महोत्सवबाट यस क्षेत्रको विकासमा टेवा पुग्ने बताए। पुनर्वास नगरका मेयर तोयप्रसाद शर्माले महोत्सवबाट स्थानीय किसानले उत्पादन गरेका कृषि उपज खपत गर्नुपर्नेमा जोड दिए।
पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार रायमाझीले स्थानीय क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको बताए। पुनर्वास नगरपालिका ओम श्री डेन्टल धनगढी, भागेश्वर चिनी उद्योगसहितका सरकारी, निजी क्षेत्रले महोत्सवलाई प्रवर्द्धन गरेका उनले जानकारी दिए।
महोत्सवमा ११५ स्टलमा विभिन्न व्यावसायिकदेखि घरेलु उद्यमका उत्पादन राखिएका छन्। महोत्सवमा पश्चिम नेपालका थारू समुदायसम्बन्धी स्टल तथा स्थानीय मौलिक परिकारदेखि कृषि उत्पादन प्रदर्शन गरिएको छ। महोत्सवमा बाल उद्यानसहित स्थानीय तथा राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक प्रस्तुति हुनेछन्।
पुनर्वास उद्योग वाणिज्य संघका महासचिव दाउत तामाङले महोत्सव झन्डै डेढ लाख मानिसले अवलोकन गर्ने आकलन गरिएको बताए। महोत्सव ५ चैत्रसम्म सञ्चालन हुनेछ।