धनुषा १ मा मातृका यादवलाई विजयी घोषणा नगरेको भन्दै नेकपाको आपत्ति

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट आफ्ना उम्मेदवार मातृकाप्रसाद यादव विजयी हुँदा पनि निर्वाचित भएको प्रमाणपत्र नदिएको भन्दै निर्वाचन आयोगप्रति आपत्ति जनाएको छ।

पार्टीका केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले आइतबार विज्ञप्ति जारी गर्दै मतगणनाबाट विजयी भइसकेका उम्मेदवारलाई प्रमाणपत्र हस्तान्तरण नगर्नु कानुनसम्मत नभएको बताएका छन्।

निर्वाचन आयोगले फागुन १८ गते निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो। आफ्नो उम्मेदवारी खारेजीको निर्णयविरुद्ध साह सर्वोच्च अदालतमा पुगेका छन्। उक्त मुद्दा अदालतमा विचाराधीन रहेको भन्दै आयोगले निर्वाचन परिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

यद्यपि, उम्मेदवारी खारेज भइसकेका साहले मतगणनामा सबैभन्दा धेरै मत प्राप्त गरेको देखिएको छ। नेकपाले भने उम्मेदवारी नै खारेज भइसकेकाले उनलाई उम्मेदवार मान्न नमिल्ने र त्यसपछि सबैभन्दा बढी मत ल्याएका आफ्ना उम्मेदवार मातृकाप्रसाद यादवलाई विजयी घोषणा गर्नुपर्ने माग गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोग स्वयंले फागुन २२ गते मतगणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशनअनुसार सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना सम्पन्न भई हाम्रो पार्टीका उम्मेदवार मातृकाप्रसाद यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नु चिन्ताजनक विषय हो।’

नेकपाले कानुनसम्मत रूपमा उम्मेदवारी खारेज भइसकेको व्यक्तिलाई आधार मानेर प्रमाणपत्र वितरण नगर्नु विधि र स्थापित प्रक्रियाविपरीत भएको दाबी गरेको छ।

साथै, पार्टीले निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्दै कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढंगले काम गर्न आग्रह गरेको छ। न्यायालयले पनि कानुन र विधिसम्मत ढंगले उचित निर्णय गर्नेमा नेकपाले विश्वास व्यक्त गरेको छ।

See More On

सुझावित समाचार