पाँचमध्ये चार पूर्वअर्थमन्त्री चुनावमा अस्वीकृत

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

२१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका पाँच पूर्वअर्थमन्त्रीमध्ये एकजना मात्रै विजयी भएका छन् । बाँकी चारजना भने पराजित भएसँगै संसद् पुग्ने योजनामा ब्रेक लागेको छ । 

निर्वाचनमा पूर्वअर्थमन्त्रीहरू एमालेका विष्णु पौडेलले रुपन्देही २, नेकपाबाट वर्षमान पुनले रोल्पा र जनार्दन शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट रुकुम पश्चिममा उम्मेदवारी दिएका थिए । त्यस्तै, कांग्रेसबाट डा. प्रकाशशरण महतले नुवाकोट १ र ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी ४ मा उम्मेदवारी दिएका थिए । पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा २ मा मनोनयन दर्ता गरे पनि पछि फिर्ता लिए । 

रुपन्देही २ मा पौडेल भारी मतान्तरले पराजित
चुनावी प्रतिस्पर्धामा गएका पाँच पूर्वअर्थमन्त्रीमध्ये रुपन्देही २ मा विष्णु पौडेल पराजित भएका छन् । उनको क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुलभ खरेल भारी मतान्तरले विजयी भए । खरेलले ५६ हजार पाँच सय ५० मत पाउँदा पौडेलले १२ हजार आठ सय ६१ मत ल्याएर आफूलाई दोस्रो स्थानमा सीमित राखे । यसअघि ०७९ को चुनावमा पौडेल सोही क्षेत्रमा २७ हजार एक सय ६५ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी रास्वपाका गणेश पौडेलले २५ हजार सात सय ८५ ल्याएका थिए । 

आफ्नै पार्टी खोलेका जनार्दन शर्मा पराजित
नेकपा (साबिक माओवादी केन्द्र) छाडेर प्रगतिशील लोकत्रान्तिक पार्टी स्थापना गरेका जनार्दन शर्मा रुकुम पश्चिम १ मा पराजित भएका छन् । उनको क्षेत्रमा नेकपाका गोपाल शर्मा २१ हजार ६ सय नौ मतसहित विजयी भए । यसैगरी, नेपाली कांग्रेसका राजु केसी १६ हजार ६ सय ६१ मत ल्याउँदा शर्माले १४ हजार तीन सय ४६ मत मात्रै पाए । ०७९ को चुनावमा शर्मा माओवादी केन्द्रबाट उक्त क्षेत्रमा ३९ हजार पाँच सय ४९ मतसहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका नन्दराम देवकोटाले १२ हजार नौ सय ६१ मत ल्याएका थिए । 

सुनसरी ४ मा ज्ञानेन्द्र कार्की पराजित
कांग्रेसबाट सुनसरी ४ मा उम्मेदवार बनेका पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि भारी मतले पराजित भएका छन् । रास्वपाका दीपककुमार साह विजयी भएका छन् । साहले ४२ हजार ७७१ मत ल्याएका छन् भने कार्कीले १६ हजार ८५७ मत ल्याएका छन् । ०७९ को चुनावमा कार्कीले उक्त क्षेत्रमा एक सय १२ मतले मात्रै जितेका थिए । कार्कीले ३० हजार चार सय ८३ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी जगदीशप्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत ल्याएका थिए । 

नुवाकोटमा डा. महत पनि पराजित 
नुवाकोट १ मा डा. प्रकाशशरण महत पनि पराजित भएका छन् । अन्तिम मत परिणामअनुसार डा. महतले १८ हजार ६ सय ११ मत ल्याए । उनलाई पछि पारेका रास्वपाका विक्रम तिमिल्सिनाले २२ हजार ६ सय नौ मत ल्याएर विजयी भए । ०७९ मा उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का हितबहादुर तामाङ २६ हजार पाँच सय ४८ ले विजयी भएका थिए । त्यसवेला कांग्रेससँग गठबन्धन भएको थियो । उनका निकटतम प्रतिस्पर्धी एमालेका बद्री मैनालीले २३ हजार चार सय ६५ मत ल्याएका थिए । डा. महत यसअघि समानुपातिकबाट सांसद बनेका थिए । 

अर्थमन्त्रीमा ‘सोकेस’ गरिएका डा. वाग्ले विजयी 
आगामी संसद्मा प्रस्ट बहुमत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा जाँदै छ । रास्वपाले भावी अर्थमन्त्रीका रूपमा अघि सारेको डा. स्वर्णिम वाग्ले भने तनहुँ १ बाट विजयी भएका छन् । उनी ३८ हजार ४० मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले भने १६ हजार दुई सय ३१ मात्रै मत पाए । यसअघि ०८० वैशाखमा भएको उपनिर्वाचनमा डा. वाग्ले सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । 

सम्भवत: उनी अबको सरकारमा अर्थमन्त्री बन्नेछन् । राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्षसमेत रहेका वाग्ले अर्थविद् हुन् । उनलाई रास्वपाले भावी अर्थमन्त्रीका रूपमा अघि सारेको छ । २१ पुसमा काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले ‘डा. साब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुस् । पार्टीका रूपमा हामीले के गर्नुपर्छ, गर्छाैं’ भन्दै अर्थमन्त्रीका रूपमा अघि सारेका थिए । अहिले रास्वपाले बहुमत ल्याउने पक्का भएको छ भने वाग्ले पनि विजयी भएका छन् । अब उनी नै अर्थमन्त्री हुने देखिएको छ । 

सुझावित समाचार