भक्तपुरमा सधैँ सत्तापक्ष र देशमा सधैँ प्रतिपक्षको भूमिकामा रहँदै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) संसद्बाहिर भएको छ । ०४८ मा दैलेख, जुम्ला र भक्तपुरका दुई क्षेत्र गरी चार ठाउ“मा निर्वाचन जितेको नेमकिपा पछिल्लो समय भक्तपुरमा खुम्चिएको थियो । यो निर्वाचनमा नेमकिपाले भक्तपुर १ को किल्ला पनि जोगाउन सकेन ।
नेमकिपाको किल्लामा रास्वपाका रुकेश रञ्जित विजयी भए । रञ्जितले ३३ हजार ४३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेमकिपाका प्रेम सुवालले २८ हजार १४७ मत मात्र ल्याए ।
नेमकिपा किसान आन्दोलनबाट उठेको पार्टी हो । ०२१ मा भूमिसुधार लागू भएपछि किसानलाई मोहियानी हक दिलाउन गरेको संघर्षको जगमा नेमकिपाले संगठन विस्तार गरेको थियो । किसानलाई मोहियानी हक दिलाउन नेमकिपाका नेता तथा कार्यकर्ता किसानका खेतमा गई बाली काट्ने, भिœयाउने र किसानलाई जोताहा हक दिलाउने अभियानबाट जनता प्रभावित भएका थिए । नेमकिपाको संघर्षबाट भक्तपुरमा झन्डै ५० प्रतिशत किसानले मोहियानी हक पाएको नेताहरू दाबी गर्छन् । ०२५/२६ मा भक्तपुरमा नेमकिपाले चलाएको भ्रष्टाचारविरोधी गतिविधिले संगठन मजबुत भएको थियो । त्यसका साथै सांस्कृतिक सम्पदाको संरक्षण गर्दै शिक्षा, स्वास्थ्य, सरसफाइ र सडकको स्तरोन्नतिले नेमकिपालाई बलियो बनाएको थियो ।
०५८ पछि ख्वप: इन्जिनियरिङ कलेज स्थापना भएपछि सुलभ शुल्कमा इन्जिनियर उत्पादन गर्दै आएको छ । सामुदायिक विद्यालय नि:शुल्क र गुणस्तरीय बनाउनुका साथै नर्सिङ कलेज स्थापना भएपछि घरघरमा गएर सुगर, प्रेसर, गर्भवती र सुत्केरीको जाँच गरिँदै आएको छ । शिशु स्याहार केन्द्रसहित जनस्वास्थ्यको क्षेत्रमा पनि नेमकिपाले काम गरेको छ । नेमकिपामाथि भक्तपुर नगरपालिकामा मात्रै विकास गरेको आरोप लाग्दै आएका थियो । बाहिरी क्षेत्रमा नेमकिपाले ध्यान नदिएको र जनतालाई विभेद गरेको आरोप थियो ।
नेमकिपाका नेता प्रेम सुवाल चुनाव जित्नु मात्रै राजनीतिक सफलता नभएको बताउँछन् । ‘निर्वाचनको परिणाम नै राजनीतिक सफलता होइन, त्यसो भएको भए धेरै मत पाएर सत्तामा पुगेका दलहरू किन असफल भए,’ सुवालले भने, ‘नेमकिपाले निर्वाचनमा प्राप्त मतले राजनीतिक दलको संगठनात्मक स्थिति र सैद्धान्तिक एवं राजनीतिक स्थितिको नापो मान्दैन । आन्दोलनका धेरै रूपमध्ये निर्वाचन पनि एउटा संघर्ष हो भन्नेमा प्रस्ट छौैँ । हाम्रो संघर्ष जारी छ ।’
सैद्धान्तिक र राजनीतिक रूपले गुणात्मक एवं सन्तोषजनक ढंगमा अगाडि बढिरहेको नेमकिपाको दाबी छ । ‘नेमकिपा परिमाणमा होइन गुणमा ध्यान दिन्छ । नेमकिपा निर्वाचनलाई उपयोगको दृष्टिले हेर्छ र चुनावलाई व्यापक जनताको राजनीतिक चेतना नाप्ने ब्यारोमिटरका रूपमा हेर्छ । निर्वाचन नै कुनै दलको सबलता र मत सर्वेक्षण होइन बरु राजनीतिक गतिविधि नै दलको सबलता मापन हो । कर्तव्यबोध नै दलको सफलताको संकेत हो । नेकपा सैद्धान्तिक र राजनीतिक रूपले गुणात्मक एवं सन्तोषजनक ढंगमा द्रुतत्तर रूपमा अगाडि बढ्दै छ,’ सुवालले भने ।
नेमकिपाको संसदीय इतिहास
संसदीय इतिहासमा नेमकिपाले पाँचजनासम्म सांसद विस्तार गरेको छ । नेमकिपाको ०४८ मा एक, ०५१ मा चार, ०५६ मा एक, ०६४ मा पाँच, ०७० मा चार, ०७४ मा एक र ०७९ मा एक सांसद थिए । जनतासँग निरन्तर जोडिने बाटो नै जितको कारण रहेको नेमकिपाले जोड दिँदै आएको थियो । शिक्षा, स्वास्थ्यलगायत विकासको प्रारम्भिक खुट्किलामा समान पहुँच स्थापित गर्नु नै सफलता भएको नेमकिपाले बताउने गरेको छ ।
भक्तपुर १ बाट नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले लगातार पाँचपटक निर्वाचन जितेका थिए । ०४८, ०५१, ०५६, ०६४ र ०७० मा बिजुक्छे निर्वाचित भएका थिए । त्यसपछि बिजुक्छेले प्रेम सुवाललाई उत्तराधिकारीका रूपमा अघि सारे । सुवालले पनि निरन्तर निर्वाचन जित्दै आए । तर, यसपटक रास्वपासँग सुवाल पराजित भए ।
०४८ मा भक्तपुर १ बाट बिजुक्छे निर्वाचित भएका थिए । उनी २० हजार १६३ मतसहित निर्वाचित हुँदा निकट प्रतिस्पर्धी कांग्रेसका राजेशमान जोन्छेले १३ हजार ७३२ मत ल्याएका थिए । ०५१ को मध्यावधि निर्वाचनमा एमाले पहिलो पार्टी बन्दा भक्तपुर १ मा त्यसको प्रभाव परेन । उक्त निर्वाचनमा नेमकिपाका बिजुक्छे १६ हजार ७७० मतसहित सांसद निर्वाचित हुँदा प्रतिस्पर्धी राप्रपाका सुरेन्द्रप्रताप शाहले नौ हजार ४३८ मत ल्याएका थिए ।
०५६ को आमनिर्वाचनमा बिजुक्छे १६ हजार ५३३ मतसहित सांसद निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका गणेशमान चक्रधरले १० हजार ३० मत ल्याएका थिए । ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादी पहिलो दल बन्यो । तर, भक्तपुर १ मा नेमकिपा नै निर्र्वाचित भयो । बिजुक्छे १९ हजार ९७२ मतसहित निर्वाचित भए । माओवादीका देवेन्द्र श्रेष्ठ ११ हजार ५४८ मतसहित दोस्रो र कांग्रेसका महेश श्रेष्ठ आठ हजार २८१ मतसहित तेस्रो भएका थिए ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा नेमकिपाका बिजुक्छे २० हजार ४४६ मतसहित निर्वाचित हुँदा कांग्रेसका कृष्णलाल भँडेल १२ हजार ८२६ मतसहित दोस्रो भएका थिए । ०७४ को संघीय निर्वाचनमा बिजुक्छेको उत्तराधिकारीका रूपमा प्रेम सुवाल उम्मेदवार बने । निर्वाचनमा सुवाल ३३ हजार ७६ मतसहित निर्वाचित हुँदा कांग्रेसका बाबुराजा जोशी १७ हजार ८१८ मतसहित दोस्रो भए । ०७९ को निर्वाचनमा सुवाल ४२ हजार ७६१ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी नवराज गेलालले ११ हजार ९६८ मत मात्रै ल्याएका थिए ।