पाँच पूर्वसुरक्षाकर्मीले जिते चुनाव

सात पूर्वसुरक्षाकर्मी उम्मेदवार थिए, पूर्वआइजिपी खनालको भने हारमा ह्याट्रिक

सोमबार, २५ फागुन, २०८२
डिजिटल संस्करण

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विभिन्न राजनीतिक दलबाट सात पूर्वसुरक्षाकर्मी चुनावी मैदानमा उत्रिएका थिए । शनिबार बेलुकासम्मको मतपरिणामअनुसार उनीहरूमध्ये दुईजनाले जित हासिल गरेका छन् भने एकजनाले हार व्यहोर्नुपरेको छ । बाँकी चार सुरक्षाकर्मीको मतपरिणाम भने आउन बाँकी  छ । 

प्राप्त मतपरिणामअनुसार हालसम्म गोविन्द पन्थी र राजु पाण्डेले जित हासिल गरेका छन् । त्यस्तै, सर्वेन्द्र खनालले भने हार व्यहोर्नुपरेको छ । पन्थी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गुल्मी २ बाट उम्मेदवार बनेका थिए । उनीसँग चुनावी मैदानमा एमालेबाट गोकर्ण विष्ट र कांग्रेसबाट भुवन श्रेष्ठलगायतका उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । उनीहरूमध्ये पन्थी १६ हजार ९६७ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष गोकर्ण विष्टले १६ हजार ४०६ मत ल्याएका थिए । पन्थी नेपाल प्रहरीको अवकाशप्राप्त डिएसपी हुन् । 

रास्वपाकै तर्फबाट चुनावी मैदानमा उत्रिएका राजु पाण्डे पनि १८ हजार ७५७ मतसहित विजयी भएका छन् । उनका निटकतम प्रतिद्वन्द्वी कुलमान घिसिङले ११ हजार १७१ मत ल्याउन सके । काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख पाण्डेले उम्मेदवारी दर्ता गर्नुअघि मात्रै पदबाट राजीनामा दिएका थिए । काठमाडौं ३ बाट चुनावी मैदानमा उत्रिएका उनी प्रस्तावित प्रधानमन्त्रीको दाबेदार बालेन्द्र शाह ‘बालेन’ निकट मानिन्छन् । 

एता नेपाल प्रहरीका पूर्वआइजिपी सर्वेन्द्र खनालले भने चुनावमा हार व्यहोरेका छन् । उनी बारा ४ बाट चुनावी मैदानमा उत्रिएका थिए । उक्त क्षेत्रबाट रास्वपाकै रहबर अन्सारीले ४१ हजार दुई सय मतसहित विजय हासिल गरेका छन् । दोस्रोमा एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ ११ हजार ६३९ मत ल्याएका छन् । यसअघि काठमाडौं ६ र उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवार बनेका उनले दुवै निर्वाचनमा हार व्यहोरेका थिए । संयोग कस्तो भने तीनवटै निर्वाचनमा हराउने रास्वपाका उम्मेदवार रहेका छन् । काठमाडौं ६ मा उनले शिशिर खनाल र तनहुँ १ मा डा. स्वर्णिम वाग्लेसँग हारेका थिए । दुवै निर्वाचनमा एमालेबाट चुनावी मैदानमा उत्रिएका उनले यसपटक भने आफ्नै नेतृत्वको समुन्नत पार्टी नेपाल खोलेका थिए । 

नवलपरासी पश्चिम १ बाट चुनावी मैदनमा उत्रिएका निवर्तमान सांसद ध्रुवबहादुर प्रधानले चार हजार ६९१ मतसहित चौथो स्थान हासिल गरेका छन् । नेपाल प्रहरीका पूर्वआइजिपी प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार हुन् । उक्त क्षेत्रमा रास्वपा उम्मेदवार नरेन्द्र गुप्ताले ४५ हजार २४१ मत ल्याएर विजयी भएका छन् । दोस्राेमा कांग्रेस उम्मेदवार भीमबहादुर थापा क्षेत्री (१५,९४५) र तेस्रोमा जनता समाजवादी पार्टी नेपालका देवेन्द्र यादव (७,२१२) छन् । 

नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल रास्वपाबाटै ओखलढुंगाबाट निर्वाचनमा उठेका थिए । उनी शनिबार बेलुकासम्म १३  हजार ९५३ मतसहित विजयी भएका छन्  । उक्त क्षेत्रमा कांग्रेस उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याएका छन् । दुईबिच जितको अन्तर मात्रै पाँच मतको छ । सिनियर हुँदाहुँदै १६ महिना जुनियर एआइजी धीरजप्रताप सिंहलाई आइजिपी बनाएपछि पोखरेलले पदबाट राजीनामा दिएका थिए । 

कपिलवस्तु २ बाट चुनावी मैदानमा उत्रिएका नेपाल प्रहरीका पूर्वएसएसपी विक्रमसिंह थापाले २७ हजार ६३५ मतसहित जित हासिल गरेका छन् । उनी पनि रास्वपाबाट उम्मेदवार बनेका हुन् । उनको निटकतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत ल्याएका छन् । ०७९ को निर्वाचनका कांग्रेसबाट लुम्बिनी प्रदेश सभा उम्मेदवार बनेका उनी पछि रास्वपा प्रवेश गरेका थिए । 

झापा ४ बाट उम्मेवार बनेका शम्भु सुस्केरा भनिने शम्भुप्रसाद ढकालले ४३ हजार ६३१ मत ल्याएर जित हासिल गरेका छन् । रास्वपाबाट चुनावी मैदानमा उत्रिएका उनका निटकमत प्रतिद्वन्द्वी एमाले नेता एलपी साँवा हुन् । उनले ११ हजार ९८६ मत ल्याएका छन् ।  ढकाल नेपाल प्रहरीका पूर्वसइ हुन् । उनी रास्वपाका झापा सचिव हुन् । उनी ०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए । उनले त्यसवेला  १४ हजार ६९ मत ल्याएका थिए । त्यसवेला साँवा २९ हजार ३१५ मत ल्याएर विजयी भएका थिए ।

See More On

सुझावित समाचार