एकपटक भारतको एउटा छात्रावासको भान्सामा सम्पूर्ण विद्यार्थीलाई खाना पस्किएपछि कैयौँ विद्यार्थीले प्लेटमा राखेको सब्जी देखेर नाक खुम्च्याए । उनीहरूमध्ये धेरैले थालमा पस्किएको बैगुनको तरकारीलाई घृणामिश्रित नजरले हेरे । उनीहरूले खाने सुरसार गरेनन् । भोक लागेको भए पनि उनीहरूमध्ये अधिकांश विद्यार्थी होहल्ला गर्न थाले । केहीले प्लेटको डढेको रोटीको किनारा चुँडेर पानीमा मिलाए र प्लेट पर सारिदिए । अनि कहिले भान्से त कहिले सम्बद्ध अधिकारीलाई गाली गर्न पनि थाले ।
जतिखेर खाना खाने ठाउ“मा यस्तो होहल्ला मच्चिरहेको थियो, तब त्यहीँ बाहिर भने एकजना मानिस खाना खाने सबै विद्यार्थीका जुत्ता यताउताबाट टिपेर लाइनमा मिलाएर राखिरहेका थिए । जब होहल्ला निकै बढ्यो तब ती मानिस भित्र पसे । उनी पनि कहिलेकाही“ त्यहीँ खाना खान्थे । उनले टाढा फालिएको डढेको रोटीको टुक्रा, पानी तथा बैगुन भएको प्लेट टिपे र जेजस्तो खाना थियो त्यो मजाले खान थाले ।
केटाहरू चुपचाप त्यो सब हेरिरहेका थिए । एक प्लेट खाना खाइसकेपछि उनले अर्को प्लेट खाना मगाए र केटाहरूतिर हेर्दै बोले, ‘सायद तिमीहरूलाई थाहा छैन होला, तिमीहरू बस्ने वरिपरिका बस्तीमा यस्ता पनि मानिस बस्छन् जसले यस्तो खाना पनि खान त परैको कुरा भयो, देख्नसमेत पाएका छैनन् । यदि तिमीहरूले यो सब खाना नफ्या“केको भए कमसेकम उनीहरूले भोकै सुत्नुपर्ने त थिएन । तर, तिमीहरूले त खाना खानलायक नै छोडेनौ । अब यो कसलाई दिन सकिन्छ र ? यसैले मेरो विचारमा यो खाना मैले खाए“ भने मेरो भागको खाना कुनै अर्को भोको मानिसलाई दिन त सकिन्छ ।’ उनको कुरा सुनेपछि केटाहरू अवाक् बने र आफूहरूले ठुलो गल्ती गरेको महसुस गर्दै त्यस दिनदेखि कहिल्यै खाना नफाल्ने वाचा गरे । यसरी अन्नको अनादरलाई सबैभन्दा ठुलो अपराध मान्ने र अन्नको सम्मान गर्ने ती मानिस थिए जाकिर हुसेन । जो पछि गएर भारतका राष्ट्रपति बने ।