आइतबार १० बजेसम्मका प्रमुख १० समाचार

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

जेन-जी आन्दोलन जाँचबुझ आयोगद्वारा दोषीलाई कारबाही सिफारिस

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ। नौ सय पृष्ठ लामो प्रतिवेदनमा दोषीहरूलाई कारबाही सिफारिस गरेको छ। 

छानबिनका क्रममा दोषी देखिएकालाई कारबाही सिफारिस गरिएको आयोगका सदस्य विज्ञानराज शर्माले बताए। तर, कारबाही सिफारिस गरिएका व्यक्तिहरूबारे उनले बताएनन्।  आन्दोलनको क्रममा सुरक्षा त्रुटि देखिएको शर्माले खुलाए। 

रास्वपाका ११ उम्मेदवार ५० हजार धेरै मतसहित विजयी

प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका ११ उम्मेदवारले ५० हजारभन्दा धेरै मत पाएका छन्। प्रधानमन्त्रीका उम्मेदवार रहेका रास्वपाका वरिष्ठ नेता बालेन शाहसहित ११ जनाले ५० हजार कटाएका हुन्। 

बालेनले झापा ५ बाट ६८ हजार ३४८ मत प्राप्त गरे। संसदीय चुनावको इतिहासमा उनले सर्वाधिक मतको रेकर्डसमेत उनले बनाएका छन्। 

दाेस्रो धेरै मत झापाबाटै इन्दिरा रानामगरले पाइन्। उनले ६० हजार ११० मत पाइन्।  तेस्रो धेरै मत चितवन ३ बाट सोविता गौतमले पाएकी छिन्। उनले ५९ हजार २७७ मत पाइन्। 

त्यस्तै, रुपन्देही ३ मा डा. लेखजंग थापाले ५८ हजार ८१४, चितवन १ मा हरि ढकालले ५८ हजार ८०८, रुपन्देही २ मा सुलभ खरेलले ५६ हजार ५५५ मत प्राप्त गरे। 

सातौँ धेरै मत मोरङ ५ बाट रुबिना आचार्यले प्राप्त गरिन्। उनले ५५ हजार ५ सय १५ प्राप्त गरेकी हुन्। 

रुपन्देही १ मा सुनिल लम्सालले ५४ हजार ८४५, चितवन २ मा रवि लामिछानेले ५४ हजार चार सय २, काभ्रे २ मा बदन भण्डारीले ५३ हजार ३४४ र नवलपुर १ मा राजन गौतमले ५० हजार ९४५ मत प्राप्त गरेका छन्।  रास्वपाबाहेक अन्य दलका उम्मेदवारले ५० हजार मत कटाउन सकेनन्। 

प्रदेश छाडेर संघको दौड : बागमतीका पाँचमध्ये तीन पूर्वसांसदको संघीय यात्रामा ‘ब्रेक’

बागमती प्रदेश सभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका पाँच नेतामध्ये तीनजनाले हार व्यहोरेका छन्। प्रदेशको राजनीति छाडेर संघीय संसद् पुग्ने आकांक्षासहित मैदानमा उत्रिएका तीन नेता मतदाताबाट अपेक्षित समर्थन जुटाउन असफल हुँदा संघीय यात्रा अधुरै भएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि गत माघ ५ मा कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका प्रकाश श्रेष्ठ र अमनकुमार मास्के, नेकपाका वसन्त मानन्धर र युवराज दुलाल तथा राप्रपाका सुनील केसीले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए। तीमध्ये पाँचजनाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए। कांग्रेसका काफ्लेले भने टिकन नै पाएनन्।

बागमती प्रदेशमा युवराज दुलालले जोगाए कम्युनिस्टको साख

बागमती प्रदेशमा प्रत्यक्षतर्फ मतगणना सकिएको छ। प्रदेशका ३३ मध्ये ३१ क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका हुन्। 

एक क्षेत्रमा कांग्रेस र एक क्षेत्रमा नेकपाका उम्मेदवार विजयी भए। सिन्धुपाल्चोक २ मा नेकपा र रसुवामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। 

रास्वपाको लहर चलेका बेला सिन्धुपाल्चोक २ मा नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल विजयी भएका छन्। २१ हजार ६९९ मतसहित उनी विजयी भएका हुन्। 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङले १९ हजार १४६ मत पाए। दुलालले २ हजार ५५३ मतान्तरसहित विजयी भएका हुन्। 

यो क्षेत्रमा एमालेका शेरबहादुर तामाङ १५ हजार ९२६ मतसहित तेस्रो भए भने रास्वपाका झलक कुमार श्रेष्ठले १४ हजार १९ मत प्राप्त गरे। 

विजयी हुने दुलाल यसअघि प्रदेशमन्त्री समेत भएका थिए। मन्त्री हुँदा जिल्लाको विकासको लागि गरेको पहल र युवा उम्मेदवार भएकाले जनताले यहाँ उनलाई रोजेका छन्। 

प्रतिनिधिसभा निर्वाचन : रास्वपा १२२ स्थानमा विजयी, ६ क्षेत्रको मतपरिणाम आउन बाँकी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा क्षेत्र नं. १ बाहेक ६ वटा निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी रहेको छ।

आयोगका अनुसार सुनसरी–४, नुवाकोट–१, गोरखा–१, इलाम–१, संखुवासभा–१ र अछाम–२ को मतगणना अझै जारी छ। ती क्षेत्रहरूको अन्तिम परिणाम आउन बाँकी रहँदा हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १२२ सिटसहित पहिलो स्थानमा छ

कान्छा सांसद प्रशान्त उप्रेती भन्छन्– यो मेरो होइन, जनताको जित हो

मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सम्भवत: सबैभन्दा कान्छा सांसद प्रशान्त उप्रेतीले आफ्नो जितलाई जनताको जितको रूपमा व्याख्या गरेका छन्। २०५७ साल जेठ १० गते मकवानपुरको मनहरीमा जन्मिएका उनी अहिले २५ वर्ष १० महिनाका भए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित उनले निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै नागरिकहरूले परिवर्तनको चाहना व्यक्त गर्दै मतमार्फत स्पष्ट सन्देश दिएको बताए। ‘यो हाम्रोभन्दा पनि जनताको जित हो। नागरिकहरूले परिवर्तन चाहनुभएको थियो र लोकतन्त्रमा आफ्नो सबैभन्दा ठुलो अधिकार प्रयोग गर्दै ब्यालेटमार्फत त्यसको उत्तर दिनुभएको छ,’ उनले भने।

सुनसरी १ मा हर्क साम्पाङ विजयी

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।  आइतबार दिउँसो सार्वजनिक 
अन्तिम मत परिणामअनुसार साम्पाङले ३४ हजार ६२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार गोमा तामाङले २३ हजार ४२५ मत प्राप्त गरिन्। साम्पाङ तामाङलाई १० हजार ६९० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार तेस्रो स्थानमा रहेका नेकपा उम्मेदवार मनोज भट्टराईले पाँच हजार ८४१ मत प्राप्त गरे। नेकपा (एमाले)का टीकाराम लिम्बूले पाँच हजार ५४९ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार तीन हजार ७५२ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भए।

काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च (फोटोफिचर)

पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्चस्तरमा पुगेको छ। दिनभर घाम राम्रोसँग नपर्नु, धुलो र वायुमण्डलमा रहेको फोहोरका कणहरू सतहमा बढी जम्मा हुनु मुख्य कारण बनेको छ। यसले सहरको वायु गुणस्तरलाई अस्वस्थकर बनाएको छ र स्थानीय बासिन्दाहरूमा स्वास्थ्यसम्बन्धी चिन्ता बढाएको छ।

कर्णालीमा किन भयो रास्वपा कमजोर ?

देशभर रास्वपा बलियो देखिँदा कर्णालीमा कमजोर देखिएको छ । कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये एउटा निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएको छ । अन्य निर्वाचन क्षेत्रमा पुराना दल नै बलियो देखिएका छन् । सार्वजनिक मतपरिणामअनुसार ११ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस चार निर्वाचन क्षेत्रमा, नेपाली कम्युनिस्ट पार्टीले चार निर्वाचन क्षेत्रमा विजयी भएको छ। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा समान एक–एक निर्वाचन क्षेत्रमा विजयी भएका छन् । मुगु जिल्लामा मतगणना कार्य जारी छ, त्यहाँ कांग्रेस उम्मेदवार अगाडि रहेका छन्। 

प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिन्छ : गौरीबहादुर कार्की

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आयोगको प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिने बताएका छन्। आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउँदै उनले कुशासनकै कारण जेन–जी आन्दोलन भएको र आफूहरूले बुझाएको प्रतिवेदन कार्यान्वयन भएमा देशको मुहार फेरिने बताएका हुन्।

सुझावित समाचार