- चीन सरकारले सन् २०२६ का लागि ४.५ देखि पाँच प्रतिशतसम्मको आर्थिक वृद्धि लक्ष्य तोकेको छ । चीनले सन् १९९१ पछि पहिलोपटक आफ्नो आर्थिक वृद्धि लक्ष्य पाँच प्रतिशतभन्दा तल राखेको हो ।
चीनले सन् २०२६ का लागि आफ्नो आर्थिक वृद्धि (जिडिपी) लक्ष्य ३५ वर्षयताकै न्यून तोकेको छ । चीनले यो वर्षका लागि ४.५ देखि पाँच प्रतिशतको बिचमा आर्थिक वृद्धि तोकेको छ । चीनले सन् १९९१ पछि पहिलोपटक आफ्नो वृद्धि लक्ष्य पाँच प्रतिशतभन्दा तल राखेको हो ।
बेइजिङमा आयोजित वार्षिक संसदीय बैठक ‘टु सेसन्स’अन्तर्गत नेसनल पिपुल्स कांग्रेसको बैठकका अवसरमा चिनियाँ प्रधानमन्त्री ली कियाङले उक्त घोषणा गरेका हुन् । चीनले बिहीबार सन् २०२६–२०३० अवधिका लागि तयार गरिएको १५औँ पञ्चवर्षीय योजनाको मस्यौदा पनि सार्वजनिक गरेको छ, जसमा अर्को हप्ता औपचारिक मतदान हुने बताइएको छ । उक्त योजनामा उपभोग वृद्धि, नवप्रवर्तन (इनोभेसन) प्रोत्साहन तथा आर्थिक संरचनालाई बलियो बनाउने विषयलाई प्राथमिकता दिइएको छ ।
निर्यातभन्दा ‘उच्च गुणस्तरीय आर्थिक वृद्धि’मा जोड
अहिलेसम्म चीनको अर्थतन्त्र मुख्य रूपमा निर्माण क्षेत्र र निर्यातमा आधारित रहँदै आएको थियो । तर, अब चीनले आफ्नो आर्थिक रणनीति परिवर्तन गर्दै ‘उच्च गुणस्तरीय आर्थिक वृद्धि’मा जोड दिन थालेको छ । यसअन्तर्गत उच्च प्रविधि उद्योगको विकास तथा संरचनात्मक सुधारमार्फत अर्थतन्त्रलाई मजबुत बनाउने प्रयास गरिने बताइएको छ, जसले बाह्य आर्थिक झट्काको प्रभाव कम गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
घरजग्गा व्यवसाय संकट र बुढ्यौली जनसंख्या चुनौती
हाल चीनले विभिन्न आर्थिक चुनौतीको सामना गरिरहेको छ । विशेष गरी रियल इस्टेट (घरजग्गा) क्षेत्र लामो समयदेखि संकटमा छ । जसले गर्दा घरेलु माग कमजोर बन्न पुगको छ । साथै, ठुलो मात्रामा त्यहाँको जनसंख्या बुढ्यौलीतिर बढिरहेको छ । विज्ञहरूका अनुसार कुनै देश मध्यम आयस्तरभन्दा माथि उठ्दै गर्दा त्यसको गति स्वाभाविक रूपमै सुस्त हुने गर्छ ।
एक करोड २० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य
चिनियाँ सरकारले यस वर्ष देशमा एक करोड २० लाखभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य पनि राखेको बताइएको छ । साथै, रोजगारीमार्फत बेरोजगारी दर ५.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य तय गरिएको छ । यद्यपि, उच्च प्रविधि उद्योग (हाई टेक इन्डस्ट्री)लाई प्राथमिकता दिँदा परम्परागत उत्पादन तथा निर्माण क्षेत्रमा काम गर्ने लाखौँ श्रमिकमा जोखिम बढ्न सक्ने विश्लेषकको भनाइ छ ।
रक्षा बजेटमा सात प्रतिशतले वृद्धि
आर्थिक मन्दीका बाबजुद चीनले आफ्नो रक्षा बजेट भने सात प्रतिशतले बढाइएको छ । यद्यपि, यो दर अघिल्ला वर्षहरूको तुलनामा केही कम रहेको बताइएको छ । विश्लेषकका अनुसार सन् २०३५ सम्म विकसित राष्ट्र बन्न चीनलाई आगामी दशकमा औसत ४.३ प्रतिशत आर्थिक वृद्धि पर्याप्त हुने अनुमान गरिएको छ । त्यसैले अपेक्षाकृत कम लक्ष्यले भने बेइजिङको आत्मविश्वासलाई दर्साउने बताइएको छ ।
–एजेन्सीको सहयोगमा