बैंक तथा वित्तीय संस्थाहरूले चालू आर्थिक वर्षको फागुन १९ गतेसम्म नेपाल राष्ट्र बैंकबाट ३२८ खर्ब ७८ अर्ब ९५ करोड रुपैयाँबराबरको निक्षेप सुविधा लिएका छन् । राष्ट्र बैंकबाट प्राप्त फागुन १९ गतेसम्मको तथ्यांकले यस्तो देखाएको हो । १५० पटक गरेर बैंकहरूले सोबराबरको निक्षेप सुविधा लिएका हुन् ।
बैंकहरूले राष्ट्र बैंकमा निश्चित अवधिका लागि निक्षेप राख्ने र निकाल्ने गरेर सोबराबरको निक्षेप सुविधा लिएका हुन् । त्यसमा बैंकहरूले ३२० खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ फिर्ता लगेका छन् । अहिले केन्द्रीय बैंकमा आठ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप मौज्दात छ । निक्षेप अवधि सकिएपछि ब्याजसहित त्यो रकम फिर्ता हुनेछ । त्यसपछि बैंकहरूले पुन: निक्षेप सुविधा लिन सक्नेछन् । यो नियमित चक्र हो ।
कुन उपकरणमार्फत कति लिइयो निक्षेप सुविधा
तथ्यांकअनुसार ऋणपत्रमार्फत बैंकहरूले दुई खर्बबराबरको निक्षेप सुविधा लिएका छन् । राष्ट्र बैंकले गत पुसमा नौपटक गरेर दुई खर्बको ऋण बिक्री गर्ने प्रस्ताव गरेको थियो, जुन बैंकहरूले सबै किनेका छन् । एक वर्षको अवधि रहेको उक्त ऋणपत्रअन्तर्गतको रकम अर्काे वर्ष पुसमा ब्याजसहित फिर्ता हुनेछ ।
यसैगरी, निक्षेप संकलन विधिबाट १९ खर्ब १६ अर्ब ६० करोडबराबरको निक्षेप सुविधा लिएको छ । यसमा राष्ट्र बैंकले ५२ पटक गरेर २३ खर्ब ९० अर्ब निक्षेप तान्ने गरी प्रस्ताव आह्वान गरेकोमा सोबराबरको कारोबार भएको हो । यसअन्तर्गत राष्ट्र बैंकमा ६ खर्ब ६० अर्ब रकम मौज्दात छ । तोकिएको निक्षेप अवधि सकिएपछि बैंकहरूले ब्याजसहित उक्त रकम फिर्ता पाउनेछन् । यस्तै, स्थायी निक्षेप सुविधा (एसडिएफ)अन्तर्गत ३०७ खर्ब ६२ अर्ब ३५ करोडबराबरको निक्षेप सुविधा बैंकहरूले लिएका छन् । ८९ पटक गरेर बैंकहरूले सोबराबरको निक्षेप सुविधा लिएका हुन् । त्यसअन्तर्गत बैंकहरूले सबै रकम फिर्ता लगिसकेका छन् । आगामी दिनमा यसअन्तर्गत बैंकहरू पुन: निक्षेप सुविधा लिन पाउनेछन् ।
के हो एसडिएफ ?
एसडिएफमा तोकिदिएको मापदण्ड र दिनमा बैंकहरूले निक्षेप राख्न प्रस्ताव गरेमा राष्ट्र बैंकले अस्वीकार गर्न पाउँदैनन् । यसमा राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अर्थात् २.७५ प्रतिशत ब्याज दिनुपर्छ । बैंकहरूले हप्तामा तीनपटक अर्थात् प्रत्येक आइतबार, मंगलबार र बिहीबार यस्तो सुविधा पाउनेछन् । आइतबार जम्मा भएको पैसा मंगलबार, मंगलबार जम्मा भएको निक्षेप बिहीबार र बिहीबार जम्मा भएको रकम आइतबार ब्याजसहित पाइन्छ । पछिल्लो समय कर्जाको माग न्यून हुँदा बैंकहरूमा लगानीयोग्य पैसा थुप्रिएको छ । त्यस अवस्थामा राष्ट्र बैंकले दिएको निक्षेप सुविधाले बैंकहरूको तरल व्यवस्थापनमा सहज भएको छ । त्यसबाट आउने ब्याजले समेत बैंकहरूलाई थप लाभ मिलेको छ ।