राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयको पृष्ठभूमिमा विवेकशील साझा जोडिन्छ । विवेकशील अभियानका संस्थापक उज्ज्वल थापाले ०७० मा स्वतन्त्र उम्मेदवारी दिएर ०४६ पछिको बहुदलमा हुर्किएको परम्परागत राजनीतिक अभ्यासलाई चुनौती दिएका थिए । त्यतिवेला स्वतन्त्र अभियानले चार हजारहाराहारी मत प्राप्त गरेको इतिहास छ ।
त्यसपछि ०७४ मा वैकल्पिक मतको भोलुम बढेर उचाइमा पुग्यो । ०७४ मा रञ्जु दर्शना, किशोर थापा स्वतन्त्र अभियानकै उम्मेदवारका रूपमा अगाडि सरे । काठमाडौं महानगर मेयरमा रञ्जु दर्शनाले ४२ हजार मत ल्याइन् । त्यतिवेलाको विवेकशील साझा र नयाँ शक्तिले समानुपातिकतर्फ तीन लाखभन्दा बढी मत प्राप्त गरेको थियो । ०७४ सम्म वैकल्पिक मत निर्णायक तहमा पुग्न सकेन । युवाहरूले परिवर्तनको प्रयास गरे पनि पर्याप्त भएन । यो प्रयासले ०७९ मा सार्थकता पायो ।
०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा र्यापर बालेन्द्र शाह (बालेन)ले काठमाडौंको मेयरमा प्रतिस्पर्धा गरे । तन्नेरी पुस्ताको बलमा देशकै राजधानी काठमाडौं महानगरमा बालेन्द्र शाह मेयर निर्वाचित भए । धरानमा हर्क साम्पाङ र धनगढीमा गोपी हमाल मेयर निर्वाचित भएर वैकल्पिक मतले वैधानिकता पायो । ०७९ को स्थानीय तह निर्वाचनमा वैकल्पिक मत अनुमोदित भएपछि टेलिभिजन सञ्चारकर्ममा रहेर लोकप्रियता कमाएका रवि लामिछानेले पार्टी खोल्ने मनस्थिति बनाए । टिम बनाउँदै युवाहरू जोड्दै ७ असार ०७९ मा रास्वपा स्थापना गरे । नेताहरूका अनुसार काठमाडौंमा बालेनको उदय नै रास्वपा स्थापनाको आधार हो ।
‘रास्वपा उदाएको कारण बालेन हो । बालेनले उम्मेदवार भएर आँट गरे, जनताले पत्याए । अत्यधिक मतले जिते । स्वतन्त्रको बिउ रोपे । रवि लामिछानेलाई पनि सकिन्छ भन्ने पर्यो । बालेनको त्यही आँटले नै रवि दाईले पार्टी गठन गर्नुभयो । मंसिरको प्रतिनिधिसभा सदस्य चुनावमा भाग लिएर २१ सिट जितियो,’ रास्वपा नेता असीम शाह भन्छन्, ‘वैकल्पिक राजनीतिको शक्ति विवेकशील हो । त्यसपछि बालेनले बिउ रोपेको हो । त्यसपछि रास्वपाबाट दायरा फराकिलो भयो ।’ ०७९ मा रास्वपाले ११ लाख मत पाएको थियो ।
वैकल्पिक राजनीतिबाट पहिलो जितको झन्डा फहराउने बालेन र त्यसलाई संसदीय अभ्यासमा रूपान्तरण गर्ने रास्वपा एक ठाउँमा थिएनन् । २३ र २४ भदौको जेन–जी आन्दोलनले यी दुवै शक्तिलाई जोड्ने काम गर्यो । महानगरको मेयर हुँदादेखि नै राष्ट्रिय क्रेज भएका बालेनले संसदीय राजनीतिमा आउने निर्णय गरे भने त्यसको प्लाटफर्म रास्वपालाई बनाए । वैकल्पिक राजनीतिलाई मतबाट अनुमोदन गराएका बालेनको प्रवेशसँगै रास्वपा अहिले दुईतिहाइ मतसहित मूलधारको पहिलो शक्ति बनेको छ ।
रास्वपा नेता शाह तीन नेताको वरिपरि नै राजनीति घुमिरहँदा जेन–जी विद्रोह भएको र वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपालाई विकल्पका रूपमा मतदाताले विश्वास गरेर मतमार्फत जिम्मेवारी दिएको बताउँछन् । ‘संसारमा हरेक ठाउँमा हरेक क्षेत्रमा युवाको प्रवेश तीव्र भयो । तर, नेपालको राजनीति तीनजनाले रोके । ढोका बन्द गरेर युवालाई रोके । आएकालाई पनि विकृृत बनाउन र रोक्न बल लगाए । यो विस्फोट हुनु नै थियो, अहिले पोखिएको हो,’ उनले भने, ‘देशमा कुशासन र भ्रष्टाचारले सीमा नाघ्यो । काण्डैकाण्डमा रुमल्लियो । जनताको असन्तुष्टि अहिले मतमा प्रकट भएजस्तो लाग्छ ।’
वैकल्पिक शक्तिहरू स्थापित हुने बाटो मूलधारकै दलले दिएका हुन् । ०६२/६३ को आन्दोलनपछि नयाँ नेपाल बनाउने अभियानमा कांग्रेस, एमाले, तत्कालीन माओवादीले एक दशक संविधान बनाउनमै लगाए । अनेक प्रयासका बाबजुद ०७२ मा संविधान बनाए । तर, त्यसको कार्यान्वयनमा ध्यान दिएनन् । आमनागरिकको हितभन्दा आफ्नो परिवार, नातागोता, सत्ताको खेलमा पुराना पार्टी रुमलिँदा जनताको असन्तुष्टिको ग्राफ बढ्दै गयो । संविधान निर्माणपछि अब देशमा स्थायित्व र समृद्धि आउँछ भन्ने आशामा नागरिकले ०७४ मा एमाले र माओवादीलाई झन्डै दुईतिहाइ बहुमत दिए । तर, शक्तिशाली सरकार आन्तरिक शक्तिसंघर्षमा फस्यो । दुईपटक संसद् विघटनको परिस्थिति बन्यो । पटक–पटक सरकार फेरिए । चुनावदेखि चुनाव गराउनेबाहेक ठोस काम भएन । जनताले ०७९ मा कुनै दललाई बहुमत दिएनन् । तर, कांग्रेसलाई पहिलो पार्टी बनाइदिए । वैकल्पिक शक्तिका रूपमा रास्वपा, सिके राउतको जनमतलाई पनि मौका दिए । तर, पहिलो पार्टी बनेको कांग्रेसको नेतृत्वमा सरकार नै बनेन । तेस्रो दल माओवादीको नेतृत्वमा सरकार बन्ने र गठबन्धन फेरिरहने क्रम चल्यो । गठबन्धन फेरिरहने क्रमसँगै भ्रष्टाचारसँग जोडिएका थुप्रै मुद्दा उजागर भए, तर दबाउन थालियो । फलस्वरूप वितृष्णा बढ्दै गयो । नयाँ आएको शक्तिमाथि प्रतिशोधपूर्ण व्यवहार सत्ताबाट हुन थाल्यो ।
रास्वपा नेता शिशिर खनाल संसद्मा सुशासनको मुद्दा उठाउँदा रास्वपाप्रति प्रतिशोधपूर्ण व्यवहार भएको र त्यसले जनतामा वितृष्णा बढाएर जेन–जी विद्रोहसम्म पुगेको बताउँछन् । ‘०७९ मा स्थापना भएको पार्टीलाई जनताले चौथो शक्ति बनाए । चुनावपछिको सरकारमा सहभागी भएर सुधारका कामहरू गर्यौँ । संसद्को गहकिलो प्रस्तुति निरन्तर रह्यो । क्षेत्रगत समस्या, समसामयिक र सुशासनका विषयहरू सोधिरह्यौँ । संसद्को प्रस्तुतिलाई जनताले रुचाए,’ खनाल भन्छन्, ‘दोस्रोपटक सरकारमा गएर राम्रा कामको सुरुवात गर्यौँ । गृहबाट भुटानी शरणार्थी काण्ड अन्तिम चरणमा पुर्याउँदा रातारात कांग्रेस–एमाले सरकार बन्यो । यहीँबाट प्रतिशोध सुरु भयो । त्यो सरकारले सहकारी प्रकरणमा प्रतिशोधपूर्ण ढंगले जिल्ला–जिल्लामा मुद्दा दर्ता गर्यो । सडकमा विरोध गर्यौँ । अदालत गइसकेपछि हस्ताक्षर अभियानमार्फत जनताको साथ खोज्यौँ । छोटो समयमै ४० लाख जनताले हस्ताक्षर गरे । आमजनता रुष्ट रहेको, रविप्रति सहानुभूति राखेको देखियो । यसमा बालेनको क्रेज थपिँदा रास्वपालाई जनताले रुचाए ।’
हस्ताक्षर अभियानले रास्वपाको प्रभावलाई विस्तार गरेको उनको विश्लेषण छ । जेन–जी आन्दोलनलगत्तै चुनाव घोषणा भइसकेपछि वैकल्पिक शक्तिहरू एक ठाउँमा आउनुपर्छ भन्ने ठुलो जनअपेक्षा रहेको र त्यसैअनुसार काम गरेको उनले बताए । रास्वपाले स्वर्णिम वाग्लेको नेतृत्वमा वैकल्पिक शक्ति एक ठाउँमा ल्याउन उच्च वार्ता समिति बनाएपछि विवेकशील रास्वपामा समाहित हुनेदेखि बालेनको समूहलगायतलाई पार्टीमा समेट्न सकेको बताए । खनालले रास्वपाको आफ्नै छोटो अनुभव र बालेनको महानगरमा गरेको कामको अनुभवको संयोजनलाई जनताले रुचाएको र एकपटक मौका दिनुपर्छ भनेर मत व्यक्त गरेको बताए ।
‘बालेनजीले महानगरमा गरेको कामका आधारमा उहाँले देशमा केही गर्न सक्नुहुन्छ भन्ने आत्मविश्वास आमजनतामा रहेको र रास्वपाले पनि सरकारमा गएर काम गरेको हुनाले आंशिक रूपमा परीक्षित शक्ति भएकाले रवि–बालेन र रास्वपा–विवेकशील एक ठाउँमा आएपछि जनताले एकपटक परीक्षणको मौका दिएका छन्,’ खनालको विश्लेषण छ । चुनावको परिणामले जेन–जी आन्दोलनका वेलाको सरकार र त्यसको नेतृत्वलाई अस्वीकृत गरेको, पछिल्ला ३० वर्षमा शासन गरेका दल र पात्रलाई अस्वीकृत गरेको भन्दै खनालले बालेन र रविको काम प्रविधिमार्फत प्रवाह भएको बताए ।
काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. उद्धव प्याकुरेल पुराना दलको आचरण र व्यवहारकै कारण रास्वपा उदाउने वातावरण बनेको बताए । नयाँ दलको उदयमा पुराना दलले बनाएको नकारात्मकको भाष्यले काम गरेको टिप्पणी प्याकुरेलको छ । यसमा उनले ०७४ मा दुईतिहाइ शक्ति बनेको नेकपा फुटदेखिका आरोप–प्रत्यारोप र घृणाजन्य अभिव्यक्तिको राजनीतिलाई जोडेका छन् । कांग्रेस, एमाले र तत्कालीन माओवादीले सत्तामा सँगै हुँदा सहकार्य गर्ने र बाहिरिएपछि सत्तोसराप गर्ने प्रवृत्तिले समाजमा नकारात्मकताको भाष्य सिर्जना गरेको त्यसको लाभ रास्वपाले लिएको उनी बताउँछन् ।
‘जब नेकपा फुट्यो । दुईतिहाइ शक्ति फुटेपछि एउटा पक्षले अर्काेमाथिको चरम आक्रोश, घृणाभाव फैलाउन थाल्यो । एउटा पार्टी फुटेर त्यहाँसम्म रोकिएन, सत्तामा पनि बदली–बदली भएर गइरहने, आफूसँग नहुँदा कुवचन लगाएर आरोप लगाइरहने, यो एउटा चक्र नै बन्यो । सत्ता आफूसँग हुँदा गाली नगर्ने, नहुँदा त्यो सत्तामा गएर पनि केही गरेन भन्ने भाष्य बनाए । यसले बिगार्यो । केही गरेन भन्ने भाष्य तीनवटै दलले बनाए,’ उनले भने ।
प्राध्यापक प्याकुरेलले नेपाली जनताको मनोभावना नकारात्मक कुराले प्रभावित भएको पनि बताए । ‘एमाले, कांग्रेस र माओवादीले नै अरूलाई गाली गरेको, देशमा बस्न नहुने, सक्काए भन्ने अभिव्यक्ति दिएको नागरिकले सुन्दै गए । नकारात्मक भाषा सबै पार्टीका नेताबाट सुने । नेतृत्वबाट सुनेको आधारमा जनताहरू विश्वस्त हुन थाले कि यहाँ केही हुँदैन, यी सबै चोर हुन, सबै सिध्याए भन्ने नकारात्मक सोचको भाष्य बन्यो । अहिले उनीहरूकै भाष्यलाई पत्याएर जनताले उनीहरूलाई नै खुल्याए । त्यही कुरालाई वैकल्पिकहरूले उपयोग गरे ।’
यो विस्फोट हुनु नै थियो, अहिले पोखिएको हो : असीम शाह नेता, रास्वपा
संसारमा हरेक ठाउँमा, हरेक क्षेत्रमा युवाको प्रवेश तीव्र भयो । तर, नेपालको राजनीति तीनजनाले रोके । ढोका बन्द गरेर युवालाई रोके । आएकालाई पनि विकृृत बनाउन र रोक्न बल लगाए । यो विस्फोट हुनु नै थियो, अहिले पोखिएको हो । देशमा कुशासन र भ्रष्टाचारले सीमा नाघ्यो । काण्डैकाण्डमा रुमल्लियो । जनताको असन्तुष्टि अहिले मतमा प्रकट भएजस्तो लाग्छ ।