श्रम संस्कृति पार्टीका महासचिव आरेन राई खोटाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार देवविक्रम राईलाई तीन हजार ८९८ मतान्तरले पछाडि पार्दै केपिलासगढी गाउँपालिका– १, फेदीस्थित सुङ्देका आरेन निर्वाचित भएका हुन् । आरेनले १६ हजार ६१२ मत पाउँदा देवविक्रमले १२ हजार ७१४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भर्खरै उदाएको श्रम संस्कृति पार्टीले पुराना दललाई पछाडि पार्दै फराकिलो मतान्तरले जित हासिल गरेको हो ।
नेपाली कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का डा. हरि रोकाले नौ हजार ४४३, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रुद्र गिरीले पाँच हजार ७०४ र राष्ट्रिय परिवर्तन पार्टीका उम्मेदवार मिरेश राईले ९४७ मत प्राप्त गरेका छन् । यस्तै, जनता समाजवादी पार्टी (जसपा)का राकेश राईले ३३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक तामाङले ४७७, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का चन्द्रबहादुर बुढाथोकीले १८२, जनता समाजवादी पार्टी (नेपाल)का सुनील चाम्लिङले १११, मंगोल नेसनल अर्गनाइजेसनका प्रयाग राईले ३२, मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवारहरू. डा. राजकुमार राई २६ र तिलकचन्द्र राईले ४३ मत प्राप्त गरेकाे मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश फणीन्द्रप्रसाद पराजुलीले जानकारी दिए । प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदातामध्ये ६२ हजार ५६६ मत खसेको थियो ।
प्रत्यक्षतर्फ खसेको मतमध्ये तीन हजार ९२८ मत बदर भएको पाइएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले जानकारी दिएका छन् । प्रत्यक्षतर्फको गणना सकिएलगत्तै समानुपातिक मतसमेत गणना गर्न सुरु गरिएको छ ।