प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ४ र ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । देशभरिमै चर्चामा रहेको सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई भारी मतान्तरले पराजित गर्दै अमरेशकुमार सिंह विजयी भए ।
आइतबार बिहान सम्पन्न मतगणनाअनुसार कांग्रेस सभापति थापालाई रास्वपाका सिंहले १२ हजार ८५५ मतान्तरले पराजित गरे । यहाँ रास्वपाका उम्मेदवार सिंहले ३५ हजार ६८८ मत प्राप्त गर्दा निकटतम देखिएका कांग्रेस सभापति थापाले २२ हजार ८३८ मत मात्र पाए ।
रास्वपाका सिंहले यस क्षेत्रमा पनि मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए । यस क्षेत्रबाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले नाै हजार ३४३, नेकपाका उम्मेदवार रजनिश राय यादवले एक हजार ४०१ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५७२ मत मात्र प्राप्त गरेकाे निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।
यहाँ अन्य उम्मेदवारले चार अंकको मत प्राप्त गरेका छैनन् । शुक्रबार बिहान ९:३० बजेबाट सुरु भएको यहाँको मतगणना अहिले बिहान अबेर सम्पन्न भएको उनको भनाइ छ । एक लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९३१ मत खसेको थियो ।
सर्लाही ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साह कलवार विजयी
यस्तै, प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र साह कलवार विजयी भएका छन् । निर्वाचनअन्तर्गत सम्पन्न मतगणनाअनुसार ३३ हजार ५५२ मतान्तरले रास्वपाका साह विजयी भएका निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए । रास्वपाका साहले ४६ हजार ८९० मत प्राप्त गर्दा उहाँलाई पछ्याएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नारायणकाजी श्रेष्ठले १३ हजार ३३८ मत मात्र प्राप्त गरे ।
यस क्षेत्रमा पनि रास्वपाका साह नै मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता कायम गर्न सफल भएका थिए । यस क्षेत्रबाट उम्मेदवारी दिएका नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीले पाँच हजार ७७६, नेपाली कांग्रेसका उम्मेदवार विनोद खनालले ६ हजार ६२४ र उज्यालो नेपाल पार्टीका उम्मेदवार त्रिभुवन कुमार सिंहले दुई हजार ६२२ मत प्राप्त गरे । यहाँ पनि अन्य उम्मेदवारले चार अंकको मत प्राप्त गर्न सकेका छैनन् ।
शुक्रबार बिहान ९ बजेबाट सुरु भएको मतगणना आइतबार बिहान अबेर सम्पन्न भएको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए ।
साहलाई तेस्रो प्रयासमा सफलता
आसन्न निर्वाचनमा विजयी भएका साहलाई तेस्रो प्रयासमा सफलता मिलेको छ । दोस्रो संविधानसभाका समानुपातिक सदस्य साहले ०७४ मा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, तत्कालीन माओवादी केन्द्रका नेता रामेश्वर राय यादवसँग उनी पराजित भए । होटेल व्यवसायमा संलग्न साह ०७९ मा तत्कालीन माओवादी केन्द्रबाटै टिकट लिएर चुनावी मैदानमा होमिएका हुन् ।
त्यतिवेला पनि उनी झिनो मतान्तरले नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेतीसँग पराजित भए । निरन्तर प्रतिनिधिसभा निर्वाचनमा मैदानमा होमिँदै आएका उनले यसपटक भने उम्मेदवारी दर्ताको मुखैमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर आएका थिए । यसपटक भने उनले प्रत्यक्ष तर्फबाट संसद् यात्रा तय गर्न सफल भएका छन् ।
एक लाख ३४ हजार ४१२ जना मतदाता रहेको यस क्षेत्रमा ८२ हजार २७२ मत खसेको थियो । योसँगै सर्लाहीमा रास्वपाले क्लिनस्विप गरेको छ । यहाँ सम्पन्न मत परिणामअनुसार क्षेत्र नम्बर एकमा रास्वपाकी नीतिमा भण्डारी कार्की र क्षेत्र नम्बर २ मा रास्वपाको रविन महतो विजयी भइसकेका छन् ।