मकवानपुर क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रशान्त उप्रेती प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रमा खसेको कुल ९१ हजार २४१ मतमध्ये उप्रेतीले ३० हजार ५० मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महेश बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरेका छन् । उप्रेतीले ११ हजार २०४ मतान्तरले जित निकालेका हुन्।
यसैगरी, नेपाली कांग्रेसका बुद्ध लामाले १५ हजार ५६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का लवशेर विष्टले १२ हजार ४९२ मत ल्याएका छन् ।
२५ वर्ष १० महिनाका उप्रेती सम्भवतः प्रतिनिधिसभामा प्रवेश गर्ने सबैभन्दा कान्छा सांसदमध्ये एक बन्ने भएका छन् । युवा उमेरमै संसदीय राजनीतिमा प्रवेश गरेका उप्रेतीको जितलाई मकवानपुरको राजनीतिमा नयाँ पुस्ताको उदयका रूपमा समेत हेरिएको छ ।